कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानलाई रासायनिक मल उपलब्ध गराउने बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले यस वर्ष अहिलेसम्मकै बढी परिमाणमा रासायनिक मल उपलब्ध गराउने बताएकी हुन् ।
उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ५६२ मेट्रिकटन आपूर्ति भइसकेको छ भने ४ लाख ६३ हजार १०७ मेट्रिकटन मल किसानलाई बिक्री गरिएको छ । साथै, हाल १ लाख ४४ हजार ५८५ मेट्रिकटन मल मौजदात रहेको छ ।
‘चालु आर्थिक वर्षको असारसम्म कुल ६ लाख मेट्रिकटनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्धन गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिमाण हुनेछ,’ मन्त्री चौधरीले मनिन् ।
साथै, धान रोपाइँको समयमा मलको अभाव नहोस् भनेर मन्त्रालयले विशेष ध्यान दिएको उनको भनाइ छ । यसक्रममा मल आपूर्तिका लागि सम्झौता गरेका आपूर्तिकर्ताहरूलाई ताकेता गरिरहेको उनले जानकारी दिइन् ।
त्यसैगरी भारतसँग जीटूजी सम्झौतामार्फत ५० हजार मेट्रिक टन मल खरिद गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त गरी सोहीअनुसार काम भइरहेको उनले जानकारी दिइन् ।




