दमक ।
फुटबल महाकुम्भको प्रारम्भ हुन अब केही घण्टा बाँकी छ । अर्थात् ब्यग्रता र बेचैनीको घडी अब समाप्त भएको छ ।
बिहीबार मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ २०२६ औपचारिक सुरू हुँदैछ ।
४८ टोलीबीच ३९ दिन लगातार महाभिडन्त हुँदैछ भने १०४ खेलको घमासान मैदानी युद्धबाट विश्व फुटबलले नयाँ विजेता पाउने छ ।
मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म (तीन देश अमेरिका, क्यानटा र मेक्सिको) फैलिएको यो प्रतियोगिता विश्वकपमा नयाँ कीर्तिमानी विश्वकप हो ।
विभिन्न १६ शहरमा आयोजना हुने प्रतियोगितामध्ये अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर भाग्यमानी ठहरिएका छन् ।
जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कुल ८ खेल खेल्नेछ ।
नेपाल र आयोजक देशहरू बीचको समय भिन्नताका कारण खेलहरू नेपाली समय अनुसार अबेर राति र बिहान सबेरै हुनेछन् ।
खेलको समय ः राति १२ः४५, १ः००, २ः०० देखि बिहान ४ः४५, ५ः४५ र ७ः४५ सम्म ।
भव्य उद्घाटन समारोह
यसपटकको उद्घाटन समारोह विश्वकप जस्तै विशेष छ ।
पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित रहने छैन । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ । तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू प्रस्तुत गर्दैछन् ।
मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बार्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन् । त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल हुनेछ ।
कहाँ हेर्ने ?
नेपालमा विश्वकपका सबै खेलहरू हिमालयन स्पोट्र्स टेलिभिजन र डिएगो एपबाट प्रत्यक्ष प्रसारण हुनेछन् । यसका लागि निश्चित शूल्क तिर्नु पर्नेछ ।
समूह विभाजन
समूह ए
मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक
समूह बी
क्यानडा, बोस्निया–हर्जगोभिना, कतार, स्विट्जरल्याण्ड
समूह सी
ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड
समूह डी
अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्की
समूह इ
जर्मनी, कुरासाओ, आइभरी कोस्ट, इक्वेडर
समूह एफ
नेदरल्याण्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
समूह जी
बेल्जियम, इजिप्ट, इरान, न्युजिल्याण्ड
समूह एच
स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे
समूह आई
फ्रान्स, सेनेगल, इराक, नर्वे
समूह जे
अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के
पोर्चुगल, कंगो डीआर, उज्बेकिस्तान, कोलम्बिया
समूह एल
इंग्ल्याण्ड, क्रोएसिया, घाना, पानामा




