आजको मिति: शुक्रबार, जेठ २२, २०८३
०३:५० बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

आवाद

Infinite Scroll Ad

फुङमा ! ए फुङमा…..!
आफूभन्दा गह्रुँगो भारी आगनको दाहिने कुनामा बिसाएर दलमानले फूङमालाई आँगनबाटै बोलायो । घरभित्रबाट कुनै जवाफ नआएपछि उसको आँखा घरको ढोकानेर डुल्यो । दशैको बेला लिपपोत गरेको कमेरो र रातो माटोको रंग कत्तिपनि खुईलिएको थिएन ।

‘आफूलाई कम्ता तिर्खा लागेको हैन । घरमा ताल्चा लाएर कता चै गएछ यो बरे कुम्मा रु केटाकेटी पनि पो कोहि छैन हौ ।’ गुनगुनाउँदै दलमानले पर चौबाटोसम्म आँखा घुमायो ।

दलमानले खुशीको बेलामा मात्र आफ्नो श्रीमतीलाई ‘फुङमा’ भनेर बोलाउँछ । कामबाट फर्केको बेला श्रीमतीको हातबाट छानेको जाँडले घाँटी भिजाउन पाएन भने उसको रिस यसै बडिजान्छ । अब भने दलमानको रिस उक्लदै थियो ।
यसपाल दलमानको दशैं जंगलमै बित्यो । महानवमीको हप्ता दश दिन अघि नै गाउँका मिल्ने दुई चार जना साथीहरुसँग लोक्ता काड्न माई फाँट झरेको हो । औलको जङ्गल झरेको दलमानले जसरी पनि महानवमी अघि नै आफू घर आईपुग्ने वचन फुङमालाई दिएको थियो । उसका साथीहरु भने चाडबाड अगाडि नै घर आईसकेका थिए । चाडबाडको बेला, घरमुली नहुँदा फुङमालाई न्यास्रो लागेकै हो । लोक्ता काड्न सँगैसँगै गएका पाखा माइलालाई पनि सोधेकै हो फुङमाले ।

Sidebar Premium Ad

‘तिम्रो बुढोलाई धानको भात खान मन लाग्यो रे, औल लाग्छ भन्दा पनि मानेन । बाघभालु लाग्ने जङ्गलमा भष्मे फाँड्छु भन्छ । जाँदै गर, म एकदुई दिनमा आउँछु भनेपछि हामी चै आइहाल्यौँ। बल्लतल्ल आको चाडबाडमा टन्न मासु खान छाडेर के लाई दुख हाव ।’ पाखा माइलाले यति भनेपछि फुङमाले थप सोधिनन् ।

पूर्वतिर फर्किएको जितपुर गाउँ । गाउँको पूर्व र पश्चिम दुवैतिरबाट बग्छ खोला । पूर्वतिर बग्ने देउमाई र उत्तर पश्चिमबाट बग्ने माईको भेट भने तल फुलुङ्गीको फाँटमा हुन्छ । बर्सेनी माघे संक्रान्तीको दिन मेला लाग्ने ठाउँ । पुवामाई, जोगमाई, माई र देउमाईले छोएको चारखोले मेला ‘माघे संक्रान्ती’ सबैतिरकाले भर्ने प्रसिद्ध मेला हो । त्यहि तीनदिने फुलुङगी मेलाबाट त हो, दलमानले फुङमालाई भगाएको ।

जिल्ला सदरमुकाम ईलामको दक्षिणतिर फैलिएको छ जितपुर गाउँ । केही उच्च भागमा रहेको यो गाउँमा टिमुरको रुख धेरै हुनाले त्यहाको लिम्बूहरुले बस्ती बसाउँदा खाक्चिङ्बुङ् भन्दै आए । पछि त्यहि नामले नै गाउँ चिनियो । त्यो गाउँमा बस्नेहरुलाई अरु गाउँकाले खाक्चिङ्बुङे भनेर चिन्थे ।

Sidebar Premium Ad

सँधै औल झरिरहन सम्भव हुन्न । एकपल्ट ल्याएको लोक्ताले वर्षभरिलाई डोरी पुर्याउनुपर्छ । लोक्ताको नसुकेको भारी यसै गह्रौँ । त्यसमाथि लिङ्दिनको नाकै ठोक्किने गरिको उकालो । घरको सिकुवानेर अडेस लागि सुस्केरा खेल्दाखेल्दै दलमान कतिखेर भुसुक्क हुन्छ । फुङमाले नजिकै आएर बोलाउँदा पो ब्युँझिन्छ ।
‘मेम्बे, कन बरे कुम्मा ! किन पो मान्छेको सात्तो खानु ?’
यत्रो बोलाईसकेँ । सुन्ने हैन । लु आउ जाँड खानु ।
‘मान्छे असारको गोरु झैँ गलेर आईराछु । घरमा कोहि छैन । हैन, घर छोडेर कहाँ पो जानू हौ रु खै, यतै ल्याउ जाँड । जिउ पनि सेलाइसक्यो ।’
दलमानले भोक र रिस एक्कैपल्ट ओकल्छ ।
‘कहाँ जानू पो रु माथि आगे सुब्बाकोमा पोल परेछ । ब्यानै खबर आको थ्यो । नवरत्न औँसीमा पनि किन मार नहानेको रु किन राजाको आदेश नमानेको भन्दै सुब्बाले गर्नु गालि ग¥यो । फेरि फेरि यस्तो भयो भने तिलिङगा बोलाएर अड्डा झिकाउँछु भनेको छ ।’
महानवमिको दिन प्राय सबैको घरमा मार हान्नुपथ्र्यो । त्यस दिन मार हानिएको जीवको आलो रगतमा खुट्टा अथवा हात चोबलेर छाप लगाइवरी घरको दलिनमाथि राख्नु अनिवार्य जस्तै थियो । आगे सुब्बा त्यसबेलाको गाउँको राजा । उसको सम्बन्ध सिधै मालअड्डा र बडाहाकिमसँग हुन्थ्यो । सुब्बाको उर्दीलाई इन्कार गर्नु राजाको बिरोध गर्नु जस्तै थियो ।
फुङमाको कुरा सुनेपछि केहिछिन मौन रहयो दलमान । एकपल्ट खाली भित्तामा आँखा डुलायो र लामो सुस्केरा मार्यो ।
‘खै, यो आगे सुब्बाले के गर्न खोज्या हुन् कुन्नी रु बाउ, बाजे कसैलाई छाडेन । हुँदा हुँदा मलाई समेत पिछे गर्न छाडेनन् ।’
याङवरक पान्थरबाट चार पुस्ताअघि ईलामको जितपुरस्थित खाक्चिङबुङ गाउँमा भष्मे फाँडेको हो दलमानको वंशले । उनको बाजे कर्णसिङ त कारबारी नै थिए सुब्बाको । बस्दै रहँदै जाँदा सुब्बाको भन्दा कारबारीको मानमनितो बड्दै गयो गाउँमा । कारबारीले हिसाब किताब कतै लुकाएको पनि हैन । बेईमान गरेको पनि हैन । सुब्बालाई आफ्नो इज्जत कारबारीको भन्दा कम भएको पटक्कै मन परिरहेको थिएन । एकदिन कारबारीको लोकप्रियतामा सुब्बाले जाल खेले । कारबारीलाई पानी मुद्दा लाग्यो ।
मुद्दा लागेपछि गाउँ निकाला भए कारबारी । विवाह भएको पुग नपुग वर्षदिन भएको थियो । आफ्नो गर्भवती श्रीमतीलाई समेत भेट्न पाएनन् उनले । गाउँ निकाला भएपछि निर्वासनमा सिक्किम जाँदाजाँदै पल्लो गाउँ मादिबुङमा एउटा लैना गाई किने । चिनजानकै एकजनालाई आफ्नो श्रीमती सुत्केरी भएपछि पु¥याइदिनु भने । त्यसपछि उनी कहिल्यै खाक्चिङबुङ फिरेनन् ।
सुब्बा, कारबारी भनेको बंशजको निरन्तरता थियो । एक पुस्तापछि स्वतः रूपमा त्यो पद वंशजको जेठो हाँगामा सथ्र्यो । एकदिन सुब्बालाई बडाहाकिमकहाँ हाँजिर गराईयो । आफ्नो कारबारी बारे सोधपुछ भएपछि उनी कारबारीको सन्तान खोज्न बाध्य भए । श्रीमान पानी मुद्दा परेर देश निकाला भएपछि कारबारीको श्रीमती पनि माईत लागीन् । माइतमै जन्मियो कारबारीको नासो । सुब्बाबाट कारबारीको सन्तानलाई गाउँ ल्याउनु उर्दी भएपछि सुब्बाकोमा काम गर्ने युवाहरुले कारबारीको श्रीमती र छोरालाई गाउँ ल्याए । त्यसदिनयता फेरि कारबारीको छोरालाई कारबारीमै नियुक्ति गरियो । उनको नाम याम बहादुर थियो ।
उनै याम बहादुरको एक्लो छोरा हुन् दलमान । अरु बालबच्चा नभएका हैनन् । तर वर्ष नबित्दै धेरै सन्तान बितिहाल्ने । ती मध्ये दलमान मात्र सन्तानको रूपमा रहे । माईलाई भाकल गरेर बचाएको छोरो हो यो, पछिसम्म याम बहादुर यसै भनिरहन्थे ।
सुब्बाको हर हिसाब किताब मिलाईदिनु पर्थ्यो कारबारीले । त्यसबाहेक आफ्नै जिम्मेवारी पनि हुन्थ्यो कारबारिको । याम बहादुरले छोरा दलमानलाई कारबारीले गर्नुपर्ने कामहरु नसिकाएको पनि हैन । तर दलमान जतिबेला जङ्गल डुल्न पुगिहाल्ने । रनवन नै उसको संसार थियो । बंशजको निरन्तरता थामेनन् उनले । पछि बिसौँ सताब्दीको दोस्रो दशकपछि राज्यले भूमिसुधार ऐन ल्यायो । त्यसपछि कारबारी पद झनै संकटमा पर्यो । जमिन अभावको कारण धेरै लिम्बूहरु बसाई सर्न बाध्य बने ।
केटाकेटीहरु निदाईसकेका छन् । टाढाटाढा कुकुर भुकेको सुनिन्छ । आफ्नो श्रीमानमा भएको घमण्डलाई प्रेमले जित्नुपर्छ भन्ने कुरा राम्रोसँग थाहा छ फुङमालाई । छोरा निदाएपछि फुङमा श्रीमान भएतिर कोल्टे फेर्छिन् । उनलाई केही जान्नु छ ।
दलमान गएको बाटोतिर बेस्मारी उड्दै छ धुलो । गाईवस्तुको हूलले उडाएको धुलोमा दलमान घरि देखिन्छ, घरि ओझेल पर्छ ।
‘साँच्चै, किन पो यसपाल चाडबाड माया मार्नु भो हौ कुम्बा रु’
झण्डै निदाईसकेको दलमान ब्युँझन्छ । यति सोध्छ – ‘छोरा सुत्यो रु’
‘अँ, बल्ल निदायो। साँच्चै, किन पो औलबाट फिर्न ढिला गर्नु भो रु’ फुङमाले श्रीमानको हातलाई सिरानी लाउँदै सुस्तरी सोधिन् ।
‘भएको थोरै किपट पनि हातमा लिन गाह्रो भै सक्यो । तेरो बालबच्चालाई पनि त खुवाउनै प¥यो। तल औलमा भष्मे सीमा लाएर आको ।’
‘त्यो त हो । छोराछोरी बढी जन्माएर पनि पापै गरिन्छ पो कि रु यो बरे र माकोन्दी त झण्डै वर्षदिनको मात्रै फरक छ । अनि औल लाग्छ भन्छन् त तल रु’ फुङमाले अरु जिज्ञासा थपिन् ।
‘अब लाग्दैन औल । सरकारले दबाई छर्ने रे । भोलि नै गोठ झार्छु औलतिर । सुब्वा जाठाले जे भन्दै गरोस् ।’
भोलि नै झार्ने र गोठ कुम्बाए १ काखका लालाबाला छन् । त्यो पनि वर्षेनी जस्तै । नयाँ ठाउँ ।
‘सन्तान भनेको सम्पत्ति हो । सन्तान नभएर कम्ता हेपेका छन् हाम्रो बंशजलाई यो सुब्बाहरुले रु तेरो बच्चाहरूलाई खान पनि दिउँला, लाउन पनि दिउँला । एउटा आँखा के आँखा रु यति भनेर दलमानले फुङमालाई आफ्नो अंगालोतिर तान्यो ।
भोलिपल्ट ।।।
सबेरै फुङ्माले दलमानको लागि खाजा तयार गरिन् । भुटेको मकै, गुन्द्रुकको अचार र एक चौँठो रक्सी । केही दिनलाई पुग्ने बेँसी सीमखेतमा फलेको चामल । पोकापन्तुर तयार गरिसक्दा नसक्दा दलमान पनि गोठबाट आईपुग्छ ।
‘मेरो भारी तयार भो हैन फुङ्मा रु’
‘अँ, तयार भो । यो सिकुटी चै पुग्नसाथ घाममा सुकाउनु है कुम्बा ए १’
दशैको दलमानको भाग र रहलपहल सिकुटीको छुट्टै पोका फुङ्माले दलमानको हातैमा थमाउँछ ।
ल, मैलेपनि जानेको छु । बालबच्चा हेर्दै गर्नु । गोठ बनिसकेपछि तिमार्लाई लिन आउँला । तल खाम्बेक ठुले पनि आजै जाने रे । पुर्खाको निशानी, घर खेत हुँदै गरोस् ।
दलमान हिँड्ने बेलामा फुङमाले केही भन्न सकिनन् । आँगनबाट तल बाटोसम्म देखुन्जेल हेरिन् । जितपुरको त्यो उचाईबाट हेर्दा तलतल देखिन्छ सर्पजस्तै बगेको माईखोला । बाँकी त घना जङ्गल । मनमनै फुङ्माले लख काटिन्, त्यतै कतै होला गोठ बिसाउने । भष्मे फाड्ने ।
दलमान गएको बाटोतिर बेस्मारी उड्दै छ धुलो । गाईवस्तुको हूलले उडाएको धुलोमा दलमान घरि देखिन्छ, घरि ओझेल पर्छ ।
आफूले भष्मे फाँड्न निशाना लाएको ठाउँनेर आईपुग्न दलमानलाई ठ्याक्कै दुई दिन एक बिहान लाग्छ । दलमान सँगसँगै खाम्बेक ठुले, पँधेरे कान्छो, कार्की साँइला र पाखा माइला पनि झरेका छन् । सबैसँग केही बथान वस्तुभाउ छ । अन्य ठाउँबाट पहिला नै झरेर कोहिले भने गोठ बसाईसकेका छन् ।
जिल्ला सदरमुकाम ईलामको दक्षिणी भेगमा माईखोलाले बनाएको यो फाँटमा घना जङ्गल छ । बिसौँ सताब्दीको दोस्रो दशकपछि नै हो, झोडा खुल्दैछ भनेपछि धेरै लिम्बूहरु तराई झरे । औल लाग्ने खतरा न्यून हुँदै थियो । ताप्लेजुङ, पान्थर, तेह्रथुम तिरकाहरुले झापा, मोरङ, सुनसरी ताके । दलमानलाई भने यहिँ उपयुक्त लाग्यो । माईको किनारमा फैलिएको समतल भूभागमै उसको मन अडियो ।
गोठ बसाउने सबैले आआफ्नो ठाउँ निशानी लगाईसकेपछि खाम्बेक ठुलेले चुम्लुङ बोलायो । दलमानसहित नयाँ गोठ बसाउने सबै भेला भए । समूहमा खाम्बेक ठुले नै अग्रज भएको कारण उसैलाई तुम्याहाङको भूमिका निर्वाह ग¥यो । चुम्लुङको साक्षी एउटा माङ्गेना ढुङ्गा राखियो ।
‘लु है चुम्से १ मान्छे बढेपछि खाने भुँडी पनि बड्दो र छ । यो मासयु खोलाले धन्न यो फाँट निकालिदियो र पो हामीले भष्मे फाड्न पायौँ । खाम्बोङ्साबा, लुङबोङ्साबा ढुङ्गामुडाका सन्तानहरु हामी । आगे, सबै ठाउँबाट भेला भएका छौँ । हाम्रो कसैको मनमुटाव नहोस् । हाम्रो फलिफाप होस् । यो बगिरहेको मासयु खोलाले हाम्रो रख्खे गरोस ।’
यति भनेपछि खाम्बेक ठुलेले चुम्लुङको साक्षी गाडिएको ढुङ्गामा पातको टपरी उनेर रक्सी राख्यो । चोख्यायो । सबैले पालैपालो ढोगे ।
दश वर्षअघिको घना जङ्गल ऐले पातलिसकेको छ । बस्ती बसाउँदा मुस्किलले दर्जन परिवारले जङ्गल आवाद गरेका थिए । दस वर्षपछि गाउँ नै बसिसकेको छ ।
मुख्य कुरा त बस्ती बसाउँदाको मुख्य तुम्याहाङ, खाम्बेक ठुले नै बिते । पाखा माइलालाई औलोले लग्यो । दलमान र फुङमाको जम्मा छ सन्तान भए ।
सामान्य झरी परेको दिन छ । गाउँलेहरु मानो खाएर मुरी उब्जाउने तरखरमा छन् । यतिबेला गाउँलेहरु प्राय खेतमै भेटिन्छन् ।
यो जङ्गललाई आवाद गरेर बस्ती बसाउने यो गाउँ नै पहिलो भने हैन । पहिला पनि बस्ती भएको केही प्रमाणहरु पछिल्लो पल्ट आवाद गर्नेहरुले भेटेका थिए । बाली रोप्नलाई जमिन खन्दा कतैकतै पुँवालो, जीमालाहरु भेटिन्थ्यो । बस्तीको माथिल्लो डाँडामा धान, कोदो कुट्नलाई ढिकीका जिर्णदार भग्नावशेषहरु भेटिएका थिए । त्यसैको कारण बस्तीको माथिल्लो डाँडालाई ढेकीटार भनियो । बस्तीको पूर्वपट्टि कुमालहरुले भाँडा बनाउन खनेका माटोका खाल्डोहरु त्यसै थिए । बस्तीको पुच्छरमा आँपका ठूलठूला रुखहरु थिए । पछि त्यस गाउँको नाम नै आँपटारी रहन गयो । कुनै समय त्यस आवाद गरिएको जङ्गलसम्म ईष्ट ईण्डिया कम्पनीले पहुँच राख्थ्यो । त्यहि गाउँमा भेटिएको पुरानो फलामे डोजर यसको प्रमाण थियो । पछि फेन्दुवाहरुले त्यसलाई टुक्राटुक्रा पारि हतियार बनाए । कति त्यतिकै खिला लागेर गयो ।
‘यहाँ सबैभन्दा पहिला बस्ती बसाउनेहरु लाप्चाहरु थिए । कतिलाई औलले खायो । बचेकाहरु लिम्बूसँगको युद्धमा हारे, र ईलाम जिल्लाको पूर्वी भाग, दार्जिलिङ, सिक्किमतिर गई बसे । कतिपय लाप्चाहरु बाँच्नलाई चोकफुङ्गे लिम्बू भई बसे ।’
यसै भन्थे यहाँका जान्नेबुझ्ने तुम्याहाङहरु । हुन पनि मेर्बा, सङमी, फत्र, आङ्बो आदिले आफूहरु प्रारम्भमा लाप्चा भएको बताउँदै आएका थिए ।
आवाद जसले गरोस्, सुब्बाले तिरोभरो गरेपछि उसको स्वामित्वमा किपट आउँथ्यो । आवाद गर्नेले गरे, किपटको स्वामित्व अरुले लियो ।
आज नेम्बाङ अन्तरेकोमा भेला छ । भेलाको आयोजना त्यस ठाउँको सुब्बा जहरमानले गर्न लगाएका हुन् । भूमिसुधार ऐन लागू भएको दशकपछि पनि गाउँमा सुब्बाको रवाफ बाँचेकै थियो ।
भेलाको मुख्य कारण दलमान नै छन् । सुब्बालाई मानमनितो नगरेको र आफै सुब्बा हुन खोजेको आरोप उनीमाथि लागेको छ ।
गाउँलेहरु छलफलको पर्खाइमा छन् । सुब्बा जहरमान भेलाको अघिल्लो पंक्तिमा बसेका छन् । दायाँतिर खाँबामा अडेसा लागेका छन् दलमान । यतिकैमा सुब्बा जहरमान बोल्छन् –
‘आगे, पहिलादेखिनै हामिले तिरो तिर्दै आईरहेको यो सबै जमिनहरु हाम्रो किपट हो । सुब्बालाई सबैले मान्दैछन् । यो दलमानेको के पारा हो रु सुब्बालाई तिर्ने तिरो नदिएको दुई–दुई वर्ष भयो । आफै सुब्बा हुन खोज्या हो भने मैले पनि जेलनेल बुझेको छु ।’
यतिकैमा दलमान जुरुक्क उठ्छ ।
‘हेर्नुहोस सुब्बा साब १ यो जग्गामा हाम्रो पसिना र रगत बगेको छ । मैले पनि हरेक वर्ष मालपोत अड्डामा तिरो तिरेकै छु । तिम्रो जति अधिकार छ यो जमिनमा, हाम्रो पनि त्यतिकै छ ।’
पछिल्लो वर्ष भूमिसुधार ऐन आएपछि दलमानले आफै जिल्ला मालअड्डा गएर तिरो तिर्न थालेको हो ।
‘जसको जोत उसकै पोत ।।। ’
दलमान खुलेरै नारा लाउन थालेको थियो ।
अब भने सुब्बा जहरमानको रिसले सीमा नाघ्यो । सुब्बाका आँखा एक्कासी राता–राता भए ।
हेर्नुहोस् गाउँलेहरु १ पुर्खादेखि मान्दै आएको गाउँको रितिथितिलाई यो रैतीले कसरी बिगार्दै छ । यसले गाउँलेसमक्ष माफी माग्छभने मागोस् । नत्र मैले जानेको छु ।।। ’
आफुलाई रैती भनेकोमा असह्य भएपछि दलमान जुरुक्क उठ्छ ।
‘सुब्बा साब १ हामिले पनि जानेको छौँ कानुन । मैले कसैको एक पाइला साँध सीमाना मिचेको छु भने मरिजाउँ । कानुन सहुँला बुझुँला । दाजुभाइ जस्तो कसैले अंश नखोजे हुन्छ ।।।’
यति भनेर दलमान आफ्नो घरतिर लाग्छ ।
छलफल बिना निष्कर्ष टुङ्गिन्छ ।
सामान्य झरी परेको दिन छ । गाउँलेहरु मानो खाएर मुरी उब्जाउने तरखरमा छन् । यतिबेला गाउँलेहरु प्राय खेतमै भेटिन्छन् ।
दलमान खेत रोप्नलाई कुलेसो बनाइरहेको छ । रोपार र बाउँसेहरु खाजा खाँदै छन् । त्यतिकैमा तल आफ्नो सिमसारे पुच्छर खेतमा कसैले धान रोपिरहेको देख्छ दलमान । सुरुमा आफ्नै रोपार हो कि भनेर झुक्किन्छ । धानको केही गावा गाडिसकेपछि त्यो धान रोप्ने मान्छे त्यहाँबाट भाग्छ । त्यसपछि भने दलमानले लख काड्छ –‘यहि सुब्बाको काम हुनुपर्छ । जाँ ।।। ले बीउ मिसाउन पठाएछ । म पनि हेर्दै जाउँला ।’
कसैले रोप्दै गरेको मेलोमा एकदुई गावा मिसाइदिएपछि पछिलाई बाली उठाउने हकको चलन छँदै थियो । सुब्बा जहरमानले त्यसै गरे ।
निहुँ थियो, सुब्बा जहरमानले दुईतीन बर्खको बालि हर्जना र कारबाही स्वरूप दलमानलाई सिमखेतको केही भाग आफूलाई चढाउनु पर्ने सर्त अघि राखेको थियो । सुब्बाको कुरालाई दलमानले मानिरहेको थिएन ।
दलमान सिधै भन्थ्यो –
‘त्यो जाँ ।।। मेरो दाजुभाइ पनि हैन । किन दिनुपर्यो खेत । जसको जोत, उसकै पोत ।’
हिउँदको याम छ । फुङमा बिस्कुन सुकाइरहेकि छिन् । छोराछोरीहरु आ–आफ्नो काममा गईसकेका छन् ।
यतिकैमा अपरिचित मान्छेहरु घरमा आउँछन् ।
हजुर, दलमानको घर यहिँ हो रु
यहिँ हो हजुर । के काम थियो होला रु यतै बस्नु न ।
फुङमाले हत्तपत्त परालको नया गुन्द्री बिछ्याइ दिन्छिन् ।
हैन, हामिलाई पनि हतार छ । माथी अदालतमा दलमानको नाममा मुद्दा परेको छ । यो पत्र वहाँलाई दिनु होला । खाम फूङमालाई थमाएपछि प्रहरीहरु बाटो लाग्छन् ।
फुङमाको अनुहारमा एक्कासी परिवर्तन आउँछ । चिठ्ठी थापिरहँदा उसको हात काम्छ ।
‘लौ न १ के मुद्दा परेछ हजुर त्यस्तोरु’ फुङमा आत्तिन्छिन् ।
त्यसको ठ्याक्कै तीन दिन अगाडि ।।।
पूर्णिमाको रात थियो । गाउँमा कोहि नौलो मान्छे आएको खबर दिउँसै फैलिएको थियो ।
त्यो मान्छे त सनसरेको कामु दादा अरे । दिउँसै मान्छे काट्छ अरे । पक्कै पनि सुब्बाले गाउँ बोलाएको हुनुपर्छ यसलाई । कोहि गाउँलेहरु यसैरी लख काड्थे ।
त्यसको भोलिपल्ट दलमानको सिमखेतको धान साबिक ठाउँमा थिएन । काटेर खलाघरमा ल्याउन बिटा लगाएका धानका मुठाहरु त्यहि रात गायब भएका थिए ।
‘दलमानको सिमखेतको धान त सुब्बाको आँगनमा छ ।’
गाउँमा यस्तै यस्तै हल्ला चलेको थियो ।
आजभोलि साँझमा मात्र घर आउँछ दलमान । छोराछोरीलाई खाना दिइसकेर श्रीमानलाई नै पर्खिरहेकि छिन् फूङमा ।
गाउँमा राम्रोसँग अक्षर फुटाउने उही सुबेदार ठुले । पल्टनबाट रिटायर्ड भएका । फुङमाले आफ्नै माईती मानेकि छिन् सुबेदार ठुलेलाई । तमसुक लेख्नुपरे, ठुले । चिठ्ठी पडढ्नुपरे, ठुले । दिउँसो आएको चिठ्ठी पनि त उनै सुबेदार ठुलेलाई पढ््न दिएकी थिइन् फुङमाले ।
श्रीमान आएको टाढैबाट चाल पाउँछिन् फुङमा । दलमान हिँड्दा उसको कम्मरमा भिरेको खुकुरीबाट एक किसिमको खटखट आवाज आउँथ्यो ।
दुधे छोरालाई ओछ्यानमा सुताईसकेपछि फुङमाले दिउँसोको सबै कुरा सुनाउँछिन् दलमानलाई । एक्कासी मुद्दाको कुरा सुनेपछि दलमान पनि छक्क पर्छ । एकछिनको मौनता चिर्दै दलमान बर्बराउँछ ।
पक्कै त्यहि सुब्बाको काम हुनुपर्छ । हामी पनि हेरौँला ।
सदा झैँ फुङमाले श्रीमानको हातलाई आफ्नो सिरानी बनाउँछिन् ।
‘हामिलाई यो डाँडाको र बगरको खेतले पुगिहाल्थ्यो नि । त्यहि सिमसारे खेत त मागेको थियो सुब्बाले । दिएको भए पनि हुन्थ्यो । के आईलाग्यो कुन्नी, अड्डा अदालत नै धाउनु पर्ने ।’
त्यसले कमाएको हो र त्यो खेत रु हेरौँला, हाम्रोलागि पनि कानुन होला नि ।
त्यो रात फुङमालाई एक झिमिक निद्रा पर्दैन ।
घाम अस्ताउन, मात्रै एकजुवा बाँकी छ । फूङमाको हात अनायसै कान सुम्सुम्याउन पुग्छ ।
भोलिपल्ट ।।।
बिहानै गोठधन्दा सकेको छ दलमानले । जसैगरी भोलि साँझसम्म पुग्नैपर्ने छ सदरमुकाम । बाटो पार गर्ने खाजाको झोला ठिक पारेर हिडँन लागेको छ दलमान ।
‘ठ्याक्कै यसबेला भनेजस्तो खर्च पनि छैन । कुम्बा, कि यो गहना भएपनि लान्छौ रु माथि के होला होला रु अदालतको काम ।’
पोहोर साल माइतलुमा माइतीहरुले दिएको हो फूङमालाई त्यो गहना । सुनको नाममा त्यहि कानढुङ्ग्री छ ।
फुङमाले कानढुङ्ग्री फुकाल्छे । उसका हातहरु कापिरहेका थिए कानको गहना फुकाल्दा । आखिर, माइतीको चिनो त्यही त थियो ।
दलमानलाई कताकता फुङमाको माय बेस्सरी उर्लेर आयो । अलिकति आफ्नै असक्षमताले चिमोट्यो उसलाई । फुङमालाई हेर्दा हेर्दै झण्डै त्यहि पोखियो दलमान ।
‘पर्दैन । गहना राख्दै गर्नु । तेरो माइतीको चिनो हो । मैले तलाई केही दिन सकेको छैन ।’
आफ्नो श्रीमानको मुखबाट यो कुरा सुन्दा फुङमा झण्डै भक्कानिई ।
‘दाजुभाइको गाउँमै बसुँला आज । हेरुँ, केही सहयोग त गर्लान् नि । बरु हप्ता दशदिनसम्म म आइनँ भने यो एकहल गोरु बेचेर जौबारी कान्छालाई पठाईदिनु ।’ जाँदाजाँदै दलमानले भन्यो ।
फुङमाले आफ्नो श्रीमानलाई देखुन्जेल हेरिरहिन् ।
दशदिन कटिसक्दा पनि श्रीमान नआएपछि फुङमाले जौबारी कान्छालाई बोलाइन् । जौबारी कान्छा दलमानको खरिते साथी । बालसखा देखिको साथीको समस्या सुनेपछि जौबारी कान्छाले पनि नाई भनेन । त्यस दिन एकहल गोरुको दाम्लो चुडियो । हल गोरुले गोठ छाड्दा फुङमाले त जसैगरी मन बुझाइन् । छोराछोरीहरु भने अबेर रातसम्म हलगोरु सम्झेर रोए ।
गएको चौँथो दिनमा जौबारी कान्छा दलमानको घर आइपुग्यो । जौबारी कान्छालाई एक्लै देखेर फुङमा झनै आत्तिई ।
‘खै, एक्लै आउनु भो रु’
साथीलाई ठुलै दशा लागेछ । गाउँमै शत्रु लागेपछि कसको के लाग्छ र रु सुब्बाले ठूलै किर्ते गरेछ ।
‘के भयो त्यस्तो ।।। रु’ फुङमाले जिज्ञासा पोखिन् ।
के भन्नु र खै । यहाँ आवाद गरेको सर्बसमाजले देखेको छ । मान्छेको मनमा सैतानले बास गरेपछि हेर्दा मात्रै मान्छे देखिदो रहेछौँ हामी । यो डाँडाको सबै खेत किर्ते गरेर सुब्बाले आफ्नो छोराको नाममा पास गरेको रहेछ । छोराको नाम दलमान नै छ रे । नागरिकता जुधाएर सदर गरेका रहेछन् जग्गा बेचेको भनेर । जग्गा बेचेपछि पनि किन नदिएको भनेर अदालतमा हाजिर गराएका रे १
फुङमा अवाक् भई । के बोलुँबोलुँ लागेको थियो । मात्र यति भनिन् –
‘कहिले आउँछ रे बरे कुम्बा रु’
‘केही दिनमा आउँछ होला १’ यति भनेर जौबारी कान्छा आफ्नो घरतिर लाग्छ ।
खाली गोठ, दलमान, सिमसारे खेत र सुब्बा जहरमानको नभएको छोरा एक्कै पटक सम्झिन्छ फूङमाले । घाम अस्ताउन, मात्रै एकजुवा बाँकी छ । फूङमाको हात अनायसै कान सुम्सुम्याउन पुग्छ ।
केटाकेटीलाई सधैँ भन्दा चाँडो खाना खुवाउँछिन् ।
केटाकेटी चाँडै निदाउँछन् । फुङ्मा मनमनै टोलाउँछिन् । आफैसँग कुरा गर्छिन् ।
भोलि सुब्बाकोमा बिन्ती बिसाउन जाउँ कि जिल्ला रु फुङ्मालाई बडो दोधार छ ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *