बिर्तामोड ।
झापामा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका २ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आइतबार बिहान जंगली च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।
जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्य बिरामी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित ८ जना बालबालिका बिरामी परेका हुन् ।
तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा लगिएका उनीहरुमध्ये प्रारम्भिक उपचारपछि ९ जनालाई थप उपचारका लागि दमकस्थित बाल अस्पताल पठाइएको प्रहरीले जनाएको हो ।
प्रहरीले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ ।
