झापा दमकको सबै भन्दा पुरानो स्वास्थ्य संस्थाका रूपमा रहेको अस्पताल हो, लाइफलाइन अस्पताल । दमक–५, भृकुटी चोकमा अवस्थित यो निजी स्वास्थ्य संस्था २७ वर्षअघि आधारभूत स्वस्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित अस्पताल हो । २५ शैय्याको क्षमतासहित सञ्चालनमा आएको अस्पताल अहिले १०० शैय्या क्षमतासहित चलिरहेको छ । बहुसंख्यक विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पतालका रूपमा परिचय बनाइसकेको लाइफलाइन अस्पतालले ‘लाइफलाइन अस्पताल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज’मार्फत् मध्यमस्तरको स्वास्थ्य जनशक्ति उत्पादनमा पनि योगदान गर्दै आएको छ । स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी, फार्मेसीलगायत विभिन्न ६ विषयको पढाइ एउटै छातामनि हुने यस स्वास्थ्य संस्थामा हाल विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य उपचार उपलब्ध छ । अस्पतालको समग्र अवस्था, सेवा र भावी योजनाबारे साप्ताहिक बहसले लाइफलाइन अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बासँग गरेको कुराकानी प्रस्तुत छ –
लाइफलाइन अस्पतालको वर्तमान अवस्था कस्तो छ ?
हामी बिगत २७ वर्षदेखि निरन्तर नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने कार्यमा सक्रिय छौँ । हामीले सुरुमा ९–१० जनाबाट सुरु गरेको यो अस्पताल अहिले एउटा प्रतिष्ठित स्वास्थ्य संस्थाका रूपमा छ । २५ शैय्याबाट अहिले १०० शैय्याको ठूलो अस्पताल बनिसकेको छ । आज अस्पतालको नाउँमा १५/१६ बिघा जमिन, आफ्नै बिल्डिङहरु गरी करिब डेढ अर्बको सम्पत्ति छ । १०० शैय्याको अस्पताल सञ्चालन गर्ने कुरा आफैमा विशिष्टिकृत स्वास्थ्य उपचारसँग पनि सम्बन्धित हुन्छ । त्यसका निश्चित मापदण्डहरु छन् । विशेषज्ञ चिकित्सकदेखि अन्य जनशक्ति, ल्याब, अन्य स्वास्थ्य उपकरण, अस्पतालको भौतिक संरचना आदि सबै आवश्यक हुन्छन् । पछिल्लो समय हामी अन्य मापदण्डहरु पूरा गरेर हाल भौतिक संरचना निर्माण, पुराना र उपयोग हुने भवनहरुको रेक्ट्रोफिटिङ गर्नेजस्ता कार्य गरिरहेका छौँ । मल्टी स्पेसियालिटी बिल्डिङको कन्सल्टेन्सी चरण (परामर्श) पार गरेका छौँ । २ वर्षभित्रमा हामी सबै मापदण्ड पूरा गरिसक्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । अस्पतालले प्रत्यक्ष रूपमा २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउँदै आएको छ । जसमा समाजिक सुरक्षा र श्रम ऐनलाई पूर्ण पालना गरिएको छ । वर्षेनी यस अस्पतालबाट विभिन्न विषयका ६०० जना प्राविधिक जनशक्ति उत्पादन हुँदै आएका छन् । समग्रमा नियमित स्वास्थ्य उपचार सेवासहित अस्पताल आफ्नै लयमा अगाडि बढिरहेको छ । स्थानीय समुदायको माया, साथ, विश्वास र भरोसासहित सञ्चालकहरुको प्रयास, चिकित्सक टिम र अन्य शिक्षक, कर्मचारी, विद्यार्थी सबैको साझा मेहनत र प्रयत्न छ ।
यहाँहरुले अस्प्तालबाट हाल दिइरहनु भएको स्वास्थ्य सुविधा के कस्ता छन् ?
२४ घण्टा इमर्जेन्सी सेवा उपलब्ध गराउँदै आएका छौँ । ओपीडी सेवामा विभिन्न सेवा थप गरेर विशिष्टिकृत गरेका छौँ । दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म मृगौला रोगीहरुको उपचारका निम्ति डायलासिस सेवा उपलब्ध छ । सर्जरी, प्रसूति (निःशुल्क नर्मल डेलिभरी), बाल रोग सम्बन्धि, हाडजोर्नी, नाक–कान–घाँटी, इन्टर्नल मेडिसिन, ल्याब, रेडियोलोजी जस्ता आधुनिक सेवाहरू अस्पतालबाट उपलब्ध गराउँदै आएका छौँ । यसका अतिरिक्त हरेक हप्ता शनिबारका दिन हामीले विशिष्ट विशेषज्ञ सेवा प्रदान गर्दै आएका छौँ । मुटु सम्बन्धि, नशा सम्बन्धि, पेट सम्बन्धि र मृगौला सम्बन्धिका विशिष्ट विशेषज्ञ डाक्टरहरुले यो सेवा प्रदान गर्नहुन्छ । दमकका अन्य अस्पतालहरुले पनि गर्न नसक्ने विष सेवान गरेका बिरामीको लागि हामी एक मात्र उपचार गर्ने अस्पताल हौँ । हामीसँग त्यसका निम्ति आवश्यक उपचार गर्ने सबै उपकरण छन् ।
त्यसो भए, यहाँहरु अब गुणस्तरसहित फड्गो मार्दैहुनुहुन्छ । यो छलाङ कहाँसम्मको हो ?
हामीले चाहेको अबको हाम्रो सेवा विशिष्ट विशेषज्ञ उपचार दिने हो । यसका निम्ति हामीले गरिरहेका कामहरुका बारेमा मैले माथि नै धेरै कुरा भनि सकेँ पनि । हाम्रो सेवाको गुणस्तरलाई नेपाल सरकारबाट सर्टिफाइड (आइएसओ) गर्नेगरी हामी लाइफलाइन अस्पताललाई नयाँ मानकका रूपमा स्थापित गर्न चाहन्छौँ । हामीसँग अहिले झापाको दमक, कमल, शिवसताक्षी, गौरादह, गौरीगञ्ज, इलामको चुलाचुली, माङसेबुङ, मोरङको उर्लाबारी, मिक्लाजुङ, पाँचथरका केही पालिकाबाट सेवाग्राही आउनु हुन्छ । भोलि हामीले हाम्रो सेवालाई थप गुणस्तरीय बनाइसकेपछि अवश्यक उपकरणहरु जस्तै – सिटीस्क्यान, एमआरआई मेसिनहरु थपिन्छन् । स्वास्थ्य जाँचका अन्य सेवा थप्ने हाम्रो योजना छ । त्यसैगरी हामी ल्याब र अन्य सेवाको गुणस्तरमा पनि बढोत्तरी गरेर लैजाने योजनाका साथ काम गरिरहेका छौँ । त्यसो गर्न सकियो भने धेरै भन्दा धेरै सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्ने हाम्रो लक्ष्य पूरा हुनेमा म विश्वस्त छु ।
जस्तो, अहिले त निजी अस्पतालहरुबाट सरकारले स्वास्थ्य बिमा कार्यक्रम पनि हटाएको छ । यस्तो अवस्थामा निजि अस्पतालहरुलाई बिरामी पाउनै समस्या हुँदैन र ?
स्वास्थ्य बिमा कार्यक्रम सरकारले निजी निजि अस्पतालहरुबाट हटाउने निर्णय गरेको छ । त्यसले निजि अस्पतालहरुमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको संख्या निश्चय नै घटाएको छ । स्वास्थ्य बिमाबाट निःशुल्क उपचार हुने भनेपछि निजिमा गएर खर्च किन गर्ने ? भन्ने सेवाग्राहीको सोचाइ पनि आफैमा ठीक छ । तर, हामीले नेपाल सरकारले तोकेको मापदण्ड र विज्ञहरुले तय गरेका शर्तहरुमा रहेर गुणस्तरीय स्वास्थ्य सेवा सरकारले तोककै दरमा उपलब्ध गराउँदै आएका छौँ । जसले गर्दा हाम्रोमा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा पनि दैनिक ६०–७० हाराहारी ओपिडीमा बिरामी आइरहेका हुन्छन् । डायलासिस सेवाका लागि बिरामीलाई पालो पर्खाएर राख्नु पर्ने अवस्था छ । निःशुल्क नर्मल डेलिभरी जस्ता सेवाले बिरामीको आकर्षण घटेको छैन । तर, यसमा खड्किएको एउटा विषय छ, त्यो के हो भने अहिले जुन दर (शुल्क)मा सरकारले उपचार सेवा उपलब्ध गराउने भनेको छ । त्यो तुलनात्मक रूपले अत्यन्त कम हो । जस्तै – ल्याब टेस्टका कुरा, आवश्यक किट्सहरुको बजार मूल्य र तिनको गुणस्तर आदिलाई हेर्दा हामीले निःशुल्क उपचारका नाउँमा कम गुणस्तरीय स्वास्थ्य सेवामा सम्झौता गर्नुपरेको अवस्था छ । हाम्रो छिमेकी मुलुक भारतमा स्वास्थ्य सेवाको गुणस्तर निक्कै माथि छ । त्यो तुलनामा हामी मापदण्डले तल छौँ भन्ने लाग्छ । त्यसैले हाम्रो स्वास्थ्य नीतिमा पुनरावलोकन आवश्यक छ ।

एक समय तपाईंहरु मेडिकल कलेजको तयारीमा पनि हुनुहुन्थ्यो । तर, त्यो योजना किन अगाडि बढेन ?
मेडिकल कलेजको सम्भावना राम्रो हुँदाहुँदै पनि हामीले त्यो काम अगाडि बढाउन सकेनौँ । किनकि सरकार र राज्य नै त्यसका निम्ति तयार भएनन् । निजी अस्पतालहरुले ८० प्रतिशत विदेशी विद्यार्थी ल्याएर पढाउँछौँ । २० प्रतिशत नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा पढाउँछौँ भन्दा पनि सरकारले यो विषयलाई चासो दिएन । त्यस कारण हामीलगायत निजि अस्पतालहरुले यो अवसर गुमाएका हौँ । अहिले नयाँ सोच, नयाँ जोस र युवा अनुहारहरु सत्ता र सरकारमा आउनु भएको छ । उहाँहरुबाट थोरै आश त थियो । तर, निजी क्षेत्रलाई बजेट र नीति तथा कार्यक्रमले खासै समेट्न खोजेको देखिएन । समग्र स्वास्थ्यको क्षेत्रमा र निजि स्वास्थ्य संस्थाहरुका समस्या बारे यो सरकारले पहलकद्मी लिएको नदेख्दा हामी निरास पनि छौँ । निजी अस्पताल र स्वास्थ्य संस्थाहरुको हकमा राज्यको यस्तै अनुदार नीति रहने हो भने हामीले अस्पताल बन्द गर्नुपर्ने अवस्था आउँछ ।
अर्थात् निजि अस्पतालहरुलाई सरकारले महत्व दिएन भन्नु खोज्नु भएको ?
निजी क्षेत्रका अस्पताल मात्रै हैन, राज्यले कुनै पनि सेक्टरलाई वास्ता गरे जस्तो लाग्दैन । हालसालै सीमानामा चिया रोक्किएको छ । कहिले अलैँची रोक्किन्छ । निर्माण सामग्री उपलब्ध नभएर ठूला ठूला परियोजनाका काम सुस्त गतिमा भइरहेका छन् । हामी पब्लिक प्राइभेट पार्टनसीप (पीपीपी) मोडलमा काम गर्ने निजि संस्थालाई त झन सरकारले मुनाफा गर्ने मात्रै देख्छ । हाम्रा समस्याहरु देख्दैन । केही वर्षअघि ५ प्रतिशत समता कर नै लगाएको थियो । त्यसको देशव्यापी विरोध भएपछि हटेको थियो । नयाँ युवा पुस्ताको सरकार आएपछि अहिले फेरि ३ प्रतिशत समता कर लगाउने निर्णय भएको छ । यसैबाटै सरकारले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन भन्ने स्पष्ट हुन्छ । अस्पतालहरुले १० प्रतिशत बेड गरिब, विपन्नका लागि निःशुल्क उपलब्ध गराउनु भनेको छ । हामीले त्यो गरिरहेका छौँ । तर, त्यसवापत राज्यबाट पाउनुपर्ने कुनै पनि किसिमको छुट वा अनुदान निजिले पाउँदैनन् । सरकारले न त विदेशबाट स्वास्थ्य उपकरण ल्याउँदा वा कुनै आवश्यक बस्तु आयात गर्दा भन्सार छुट नै दिन्छ । यसलाई कसरी महत्व दिएको मान्न सकिएला र ?
निजि अस्पतालले पनि सामाजिक उत्तरदायित्व त वहन गर्नुपर्छ नै । यहाँहरुले सामाजिक उत्तरदायित्वका लागि के–के काम गर्नुभएको छ ?
हामीले अस्पतालको तर्फबाट पूरा गर्नुपर्ने सामाजिक उत्तरदायित्वका लागि सदैव सचेत भएर काम गरिरहेका छौँ । दैनिक हामी त्यस्ता बिरामीलाई पनि उपचार गरिरहेका छौँ, जसको आर्थिकस्तर अत्यन्त न्यून हुन्छ । चन्दा संकलन गरेर अस्पतालसम्म ल्याइएका बिरामीलाई उपचार नगरी फकाउन मिल्दैन । कति बिरामीका आफन्तले छुटका लागि अनुरोध गर्नुहुन्छ । हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत उहाँहरुलाई छुट दिन्छौँ । सुत्केरी गराउन आउने बिरामीका हकमा कतिपयलाई अपरेशन नै गर्नुपर्ने अवस्था हुन्छ । त्यस्तो अवस्थामा ८ हजार रुपैयाँ मात्रै लिएका छौँ । आर्थिक रूपले विपन्नका हकमा त्यो पनि लिँदैनौ ।
इलामको चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकासँग ‘एमओयु’ नै गरेर हरेक हप्ता एक जना विशेषज्ञ डाक्टरको सेवा निःशुल्क उपलब्ध गराएका छौँ । दमकस्थित कदम थिएरका कलाकार र आश्रित परिवारका लागि अस्पतालबाट उपलब्ध हुने सबै सेवामा ५० प्रतिशत छुट दिनेगरी ‘एमओयु’ नै गरेका छौँ । यो सुविधा पाइरहनु भएको छ । मृगौलाका बिरामीलाई लक्षित गरेर नेफ्रोलोजिस्ट सेवा पनि हप्तामा एक दिन निःशुल्क उपलब्ध गराएका छौँ ।
अब अन्त्यमा तपाईंलाई नितान्त व्यक्तिगत प्रश्न । तपाईं स्वास्थ्यको क्षेत्रमा, सामाजिक क्षेत्रमा, साहित्यको क्षेत्रमा अधिक लगाव राख्नु हुन्छ । तर, तपाईंको राजनीतिक तटस्थताका बारेमा पनि मानिसहरुले कुरा गर्छन् । तपाईं कसरी तटस्थ बस्न सक्नु भएको ?
(हाँस्दै …) म तटस्थ छैन । म राम्रो कामको सर्मथन र गलत कामको त विरोध नै गर्छु नि । अँ, मैले कुनै न कुनै राजनीतिक दलको सदस्यता नलिएर चाहिँ गल्ती गरेँ कि जस्तो लाग्छ । मलाई के पनि लाग्छ भने, राजनीतिक दलहरुका सिद्धान्तहरु आफैमा ठीक छन् । सिद्धान्तलाई कार्यान्वयन गर्ने व्यक्तिमा समस्या भएको हो कि जस्तो लाग्छ । राज्यले उदण्ड नभइ सहनशील बन्नुपर्दछ, विनम्रताका साथ जनताको सेवामा काम गर्नुपर्दछ भन्ने लाग्छ । यसो हेर्दा हिजो जाँड संस्कृति थियो होला, अहिले कफी संस्कृति आएको हो कि ! जस्तो लाग्छ मलाई । म राजनीतिलाई टिप्पणी गर्ने भन्दा पनि यसले ल्याउने बहावलाई नियाल्न बढी मन पराउँछु जस्तो लाग्छ ।




