आजको मिति: बिहिबार, असार ११, २०८३
१२:१४ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

रागे मामा

Infinite Scroll Ad

प्रबिण खपाङ्गी

समाजमा अनेक खालका चरित्र भेटिन्छन् । सबैको जीवन जिउने आफ्नै तरिका र बुझाई हुन्छ । कसैको स्वभाव साच्चै रमाइलो पनि हुन्छ ।

पेशाले शिक्षक अनि नाताले मामा पनि पर्ने हँुदा म उनलाई ‘रागे मामा’ भन्थेँ, खास नाम राघवेन्द्र थियो उनको । हाम्रो घरछेउको मेरो बुवाले पढाउने स्कूलमा ९ वर्ष पढाएपछि उनले आफ्नै घरछेउको स्कूलमा पढाउन थालेको एक वर्ष भएको थियो । हाम्रो घरबाट लगभग ७ कि. कि. जति तल्तिरको रमाइलो गाउँमा मामाको घर थियो । खाइलाग्दो मोटोघाटो अनि आफ्नै मौलिक पाराका शब्दहरू प्रयोग गर्दै बोल्ने रमाइलो, हँसिला र अत्यन्तै मिजासिला र मनकारी मान्छे थिए रागे मामा । खान्की पनि मामाको उस्तै भान्छेलाई अत्याउने खालको नै थियो । खाएअनुसारको ज्यान भनेझैँ मामा निकै खाइलाग्दो नै थिए ।

Sidebar Premium Ad

मंसिर महिनाको बाक्लो हुस्से लागेको एक बिहान मामा उही उनको पुरानो साइकिलमा टुप्लुुक्क आइपुगे । शनिबारको दिन थियो । बुबासँग चैँ सहकर्मी शिक्षक भएकोले मामाले बुबालाई सर नै भन्थे र बुबाले पनि सर नै भन्नुहुन्थ्यो । ‘सर लु होक्से जाऊँ त बाइक निकाल्नु !’ हतारिँदै बोले मामा । होक्से हाम्रो घरमास्तिरको पाहाडको फेदिको गाउँ हो ।

‘हैन किन होक्से… के भयो र सर ?’ बुबाले अकस्मात आएको प्रस्ताव सुनेर छक्क पर्दै भन्नुभयो । ‘अघोरी सर अघोरी ! अब बिटो ग्वाम्मै (दुई हातले केही सोरेजस्तो गरी राम्रोसँग फस्टाएको पेटतिर हात ल्याउँदै मामाले भने) । मामाले बुबालाई सचेत गराउन खोजेझैँ गर्दै यसो यताउता आँखा डुलाएर भने–‘हल्ला गर्ने हैन सर….मैले अघोरीको नर्सरी पत्ता लगाएँ । मेरै साथीबाट थाहा भाको हो कसैलाई नभन्नु भनेको छ ! अब तपाईंको ५ कठ्ठामा पूरै अघोरीको खेती सर । फूल झरिसक्ता भनेको….. किलोको २०००, काठ किबिको ८०००० बोक्राको छुट्टै भाउ ! विरुवाको २००० मै दिने भाकोछ साथीले… लु म चैँ ७ बोट जति लाउने पैलो चरन्…..३५(हजार) जुवा खेलो केटोले अब सर…गोटाको ५ हजारमै दिनेभो मलाई चैँ…. । अब उखु मासेर अघोरीमा लागो केटो सर !’ ४५ कटिसकेको भए पनि आफूलाई ‘केटो’ नै भन्थे बोल्चालमा मामा ।

‘हैन अघोरी भनेको कस्तो विरुवा हौ सर ?…मैले त अघोरी भन्ने त बाबाहरू जोगीहरू मात्तै पो सुनेको त…काठ पनि हुँदोरछ ?’

Sidebar Premium Ad

‘हेत्तेरिका..थबकसँगले बाइक निकाल्नु न सर अनि १० चैँ बोक्नु त सर ल..२ बोट तपैँले पनि लाउनु ऐलेलाई…” बुवालाई मामाले सीधा आग्रह गरे । यति कुरा भैसक्दा म गाउँतिर डुल्न निस्केँ । भरे थाहा भयो, बुबा पनि जानु चैँ भएछ तर किन्नु भएनछ । ‘यो के होला यति महँगो रुख अनि यति महँगो भएको भए अर्कालाई किन विरुवा बेच्थ्यो होला त्यो मान्छेले’ भन्ने सोचेँ मैले चैँ ।

२, ३ महिनामा कुनै गाईवस्तुले खाइदिएर कुनै केटाकेटिले उखेल्दिएर अनि कुनै आफैँ सुकेर मरेर गएछ मामाको चैँ सबै विरुवा । त्यो प्लान त्यतिकै भयो मामाको । विरुवा बेच्ने कता पुगिसकेको थियो । त्यसपछि फेरि ‘चन्दनका विरुवा’को चक्करमा लागेर मामाले झण्डै १० हजार जति सकाए, यो चोटी बुबाले पनि १० बोट चन्दन खेती नगरी धर पाउनुभएन, आखिर अघोरीका विरुवाझैँ चन्दनका विरुवा पनि मासिएर गए । त्यसपछि आउँदा मामाले ‘उखु महात्म्य’ सुनाए । ‘सर उखु त सप्पै सेल भो नि, सजिलै सल्ट्याइयो अनि भाउ पनि काइदाको पाइयो ! मेरा उखु वीरगञ्ज पुगिसकेर चिनि भैसके । अब एक हप्तामा ३ लाख झरल् ! यसपालि काइदाको दाम पाइयो, पोहोर जम्मा १ लाख ४० हजार भाकोथ्यो । बैना ८० हजार देको छ । १ हप्तामा अर्को लट् उठाउन आउँदैछ हेडसरको उखु…. दोस्ति हो सर पोहोरदेखि त्यसैलाई बेचेको ! वीरगञ्जको पाटी हो ।’

बुबाले भन्नुभयो, ‘अनि बैना कति थोरै… खायो भने ?’

Above Content Ad
Header Top Ad

‘तेस्तो हुँदैन सर उसले गाउँ नै हान्दैछ, सबैतिरको उठाउँदैछ उखु ।’ बिन्दास् पारामा मामाले भने ।

यो कुरा भएको दुई हप्तापछि खै के कामले हो मैले भर्खर बाइक चलाउन सिकेको थिएँ अनि यसो नजिक नजिकै जाँदा बुबाले बाइक दिन थाल्नुभाकोथ्यो । बुबाले खै के कामले पठाउँदा म एकाबिहानै मामाकोमा पुगेँ । माइजुले भन्नुभयो – ‘मामा त वीरगञ्ज जानुभाको छ । भाञ्जा…अस्तिको दिन् उखु लाने ठेकेदार आउँदै आएन र उतै भेटेर पैसा लिने भनेर जानुभाको हेर्नु न मामा कति फुर्के हुनुहुन्छ विश्वास गरिहाल्नुहुन्छ जोस्लाई पनि !’

पछि थाहा भयो मामाको २ लाख २० हजार डुबेछ । त्यो बेलामा त्यति पैसा निकै नै धेरै मानिन्थ्यो । उस्लाई खोज्न जाँदा ऊल्टो ५ हजार सकिएको र ऊ पटना तिर हिनिसकेको भन्ने बुझेपछि खाली हात फर्र्किएको कुरा सुनाउथे । त्यो सबै सुनाउँदा पनि मामाको अनुहारमा खासै फिक्रि देखिन्थेन, भन्थे– ‘डुबान दाम्मी भो नि सर उखुमा यसपालि…बज्याले सकेरै छोडो नि मलाई त… दुई बिस माटोे भो नि सर’

३ सन्तानलाई जन्म दिएकी माइजु निकै रोगिएर गइन् । गाइनो सम्बन्धि बिमार थ्यो, मामा भने डाक्टर भन्दा धामी, झाँक्री र तन्त्रमन्त्रमा ज्यादा विश्वास गर्ने त्योबेला पारि सिक्किममा कोप्चे बाबा भन्ने खुबै प्रसिद्ध थियो । सन्तान नहुनेलाई सन्तान हुने बनाउन अनि फुकेर जस्तो पनि रोग जाति पार्ने भन्ने हल्ला खुब थियो । मामाले पूरै विश्वासको साथ १ महिनामा कोप्चे बाबाकोमा माइजुलाई राखेर ल्याउदा २० को १९ भएन ।

‘आइसि २० हजार कुले भो सर’ भन्थे बुबासँग । त्यसो भनिरहँदा पनि मामाको अनुहारमा खासै दुःख देखिन्दैनथ्यो, बडो सहज र बिन्दास पारामा सुनाउँथे ।

फेरि झापामै अर्को बाबा मालिस र झारफुकबाट उपचार गर्ने भनेर प्रसिद्ध थियो इन्डियातिरकै । त्यस्तोमा मामा औधि विश्वास गर्ने बुबाले महिलाजन्य रोग हो विराटनगर वा काठमान्डु नै लानु भन्दा ढिलो गरे । ‘उपचार चैँ के गर्दोरछ त त्यो बाबाले ?’ ‘खै भित्र अरूलाई पस्न दिँदैन सर त्यहाँ त… काँ आफू त पस्न पाउनु ? बाबा र बिमारी मात्रै हो ।’ बुवाको प्रश्न भूइँमा झरिसक्ता बिन्दास पाराले जवाफ दिए मामाले । कतिले त छाडा पनि भन्थे कति चैँ सन्तान हुने बनाइदिएकोमा गुणगान पनि गाउथे त्यो बाबाको ! ६ महिना बसेर पैसा टन्नै कुम्ल्याएर बाबा फरार भएको थियो । अनि डाक्टरी उपचार गरे पनि घरि कता भाकल घरि कता कुदाउने गर्दैगर्दा माइजुको अवस्था चैँ जीर्ण हुँदैथ्यो ।

यस्तैमा ‘नागमणि’ कान्ड भएछ । मामाले हाम्रोमा आएर सुनाएको घटनाको सार यस्तो थियो – एकदिन मामा दिउसो स्कूलमा पढाउँदै गर्दा स्वाँ….. गरेर स्कूलदेखि लगभग ५०० मिटर परको खोलाबाट आवाज आयो रे अनि उनले हेर्दाहेर्दै यौटा ठूलो नागले नागमणि खसायो र विपत्ता भयो रे नाग । हेडसरलाई सन्चो भएन भनेर मामा घरतिर लागे रे । गब्बर भन्ने छिमेकी राजवंशी केटोलाई लिएर उनी खोलातिर लागेछन् । गब्बरलाई सबै बताएर उसले भेटाए पनि आफूले भेट्टाए पनि कसैलाई नभन्ने अनि उसलाई ५००० रुपैयाँ दिने भनेका थिए रे । घोडासम्म आउने पानीमा खोजेपछि नागमणि गब्बरले भेट्यो हरे ! थपक्कै खोलामै उसलाई वाचा गरेको रकममा खुशीले ३००० थपेर ८००० बक्सिस दिएर मामा नागमणि लिएर छिमेकि भारतीय बजार सिलिगुढी पुगेछन् । नागमणिको घटिमा १ लाख भारु दाम आउने कुरा उनले कहाँबाट सुनेका रे । एउटा पथ्थरको ग्रहदशा सप्रिने आँैठी पनि मामाले सिलिगुढीमा त्यही व्यापाकरीकोमा भारु ६ हजारमा किनेर लगाएका रहेछन् ।

‘अनि कतिमा बेच्नुभयो त ?’ बुबाले सोध्नुभयो ।

‘बेच्ने हैन ज्यान जोगार केटो कुले हानो नि सर, एसो खै केमा घोटेर त बज्याले….. भाग् साला… पत्थर लेके आते हे, मादर्चोध् दोबारा मत् आना ठगी करता है साला बुढवक…भाग् रे साला चुथिया…. भन्दै गाली गर्यो नि ! के को बेच्नु सर !’ भित्र म आफ्नो कोठामा हाँसो थाम्न नसकेर सिरकले मुख छोपेर गुडुल्किए । बुबा पनि बेस्सरी हाँस्नुभयो ।

‘तँपै पनि अनेक गर्नुहुन्छ हौ सर …’ बुवाले भन्नुभयो ।

अर्को किस्सा पनि रोचक छ, मामाको । त्यो बेलामा चाउचाउभन्दा उपहारको विज्ञापन धेरै हुन्थ्यो । चिठ्ठा भाग्य आदिमा पूरा विश्वास गर्ने मामाले तीन महिनासम्म लगातार रमपम, आहा, टुपिएम, मामालगायतका चाउचाउ किन्ने र उपहार जसरी पनि पारेरै छाड्ने अभियान चलाएछन्, घरमा । एक न एक दिन उपहार परिहाल्छ त्यत्रो किन्दा अनि लगानी त सजिलै उठिहाल्ने साथै सिधा फाइदा हुने उनको सीधा हिसाब थियो । नभन्दै त्यो बेलामा रमपम, वाइवाइ, टुपिएम, आहा जस्ता चाउचाउहरू किन्दा एक लाखदेखि मोटरसाइकल सुन र पाँच लाखसम्मको उपहारहरू परिरहेका समाचारहरू प्रशस्त आउँथे ।

‘टाउको र जिउ मिलाउदा उपहार पर्नेमा सीमा झ्याँक्नेहर्ले टाउको भएको प्याकेट मेचितिर र जिउ भएको प्याकेट महाकालितिर पठाउँछ र हत्तपत्त पर्दैन….सबै ठग्ने हुन् बज्याहर्ले’ पनि भन्थे कतिले । त्यो बेलामा मामाको घरै चाउचाउ गनाउँथ्यो मलाई पनि चाउचाउकै तरकारी र भात खुवाएका थिए, एकचोटि । चार महिनापछि सप्र्राइज् दिने भनेर माइजुलाई नभनी पाईन्टको गोजीमा राखेर भोलि गएर उपहार दाबी गर्ने भनेर ठिक पारेको ‘रंगिन् टिभि’ कुपन माइजुले धोइँदिदा त्यो खेलो सकिएछ । तर, मामा त्यतिमै रोकिएनन् । चाउचाउ किन्न भनेर लाहानसम्म पुगेर पनि १० हजारको उपहार पारिछाडे ।

शिक्षकहरूको खै के तालिममा मामा लाहान पुगेका रहेछन् । त्योबेला पनि एकदमै मिल्ने एउटा शिक्षक साथीको बाइकमा बसेर लाहान जाँदा त्यहाँ पुगेर बाइकबाट उत्रिन खोज्दा खुट्टै निस्केन रे, मामाले कतिबेलादेखि साइलेन्सरमा टेकेका रहेछन्…छालाको जुत्ता थोरैले मात्र पाइताला भेट्न बाँकी रहेछ, बाइक लडाएर एकजना मान्छेको सहायताले मामालाई उतारिएछ, मामाले तत्काल छालाको जुत्ता नै किनिहालेछन् ।

ट्याक्स काटेर ७५०० रुपैयाँ हात लागेछ । त्यो पनि फुर्केर साथीभाई र आफन्तलाई ३००० जतिको पार्टी नै खुवाउन भ्याएछन्, मामाले । तीनवटी दिदीबुइनीमा तीनै दिदीबुइनीहरूलाई कुर्था सुरुवाल पनि १÷१ जोर किन्दिएछन् । यस्ता थिए रागे मामा !

हाम्रोमा पनि एक किलो मासु बोकेर आकाथे, मामा । अलग ठाउँको कुपन मिलाउदा ग्यारेन्टी पर्छ भनेर झापादेखि हेटौँडासम्म पुगेर पाँच कार्टुन चाउचाउ ल्याएको रे ! तर त्यसपछि ६ महिनासम्म पनि २ रुपैयाँभन्दा ज्यादाको थप कुनै उपहार नपरेको र चाउचाउ खरिदको लगानी लगभग १५ हजार परेकाले मामा अघाएछन् ।

बर्खाको समयमा स्कूल लगभग दुई महिना छुट्टी हुन्थ्यो । मामालाई फेरि कसले के भनेर उल्क्यायो कुन्नि स्यालको सिङ्, जुकाको हड्डी र एक मुखे रुद्राक्ष खोजेर मालामाल हुने र बिदाको पनि सदुपयोग हुने भन्दै मामा इलामतिर लागे । तिनीहरूको प्रत्येकको दाम कम्तिमा १० लाख भारु को हाराहारिमा हुने सुनाउँथे मामाले र बुबालाई पनि निकै कर गरेका थिए, तर बुबा जानुभएन ।

‘टोली ओर्जिनल् हो सर तीन भाइ छौँ’ भन्थे एकजना चिनेका धामी पनि थिए उनले भनेअनुसार ! नभेटे पनि घुमाई हुन्छ भन्थे ।

हैन हुँदै नहुने कुरा खोज्दै हिन्नु ? के भाको हौ सर तपाईं गुरुआमा पनि बिरामी हुनुहुन्छ भन्दा केटीलाई औषधी खुवाइराखेको र दुई महिनापछि मात्र डाक्टरले बोलाएको र सबै ठिकै भएको बताए । मामा माइजुलाई अरूको छेउमा कुरा गर्दा ‘केटी’ भनेर सम्बोधन गर्थे ।

‘माल भेटिए आसाममा पाटिसँग कुरा मिलाइसकेको छ सर….टराई मारो केटोले अब !’ हौसिँदै मामाले भने । त्यो आभियानबाट केही भएन…. हुने कुरा पनि थिएन । रिसाएको बेलामा स्यालले सिङ् निकाल्छ रे भन्थे ! त्यो धामीले उनलाई भनेको रहेछ । बिनासित्ति झण्डै एक महिना बर्खाको बेला दुःख पाएर मामा फर्किए । ‘उल्टै ६ हजार जति गिडिम भो नि सर’ मामाले निराश भएझैँ गर्दै सुनाए । तर, पनि अनुहारमा त्यस्तो खासै चिन्ता भने देखिएन मामाको । यस्तै क्रममा सामुदायिक वनको लोकप्रियतासँगै काठको व्यापार गर्ने काममा गाउँका केटाहरू पनि सक्रिय हुनथालेका थिए । कतिले त तस्करी पनि गर्थे र पक्राउ पनि खान्थे तर काठको व्यापारबाट मालामाल भैहाल्ने भनेर जंगलबाट काठ कटाई बेच्ने काममा मामा पनि लागेछन् ठेकेदारको रूपमा ! मामालाई पनि केटाहरूले उल्क्याएछन् । केटाहरूको अर्कै धन्दा पनि रहेको मामालाई थाहा रैनछ……दुई ट्रिप सफलतापूर्वक बेचिसकेपछि तेस्रो पालिमा केटाहरूले गद्दारी गरेर मामालाई छक्याएर तस्करी पनि गर्न थालेका रहेछन् । उनी सोझो मान्छे के थाहा ! एक दिन राति ठूलो मात्रामा काठ बोकाएर मामा पछिपछि हिन्दा अचानक १० फिटजतिको खाल्डोमा पसेर रातभरि निस्किन सकेनछन् ।

पछि बुझ्दा त्यो खाल्डो खन्ने केटाहरूकै काम रहेछ….मामालाई अघि लगाएछन् र सुनियोजित रूपमा स्याउलाहरूले छोपेको खाल्डोमा खसाइदिएछन्….ती केटाहरू पनि साह्रै ‘माइ डियर’ र उनका एकदमै ‘गोजीका केटाहरू’ भएको बताउँथे मामा…केटाहरूले राति नै काठ बेचेको र उनलाई चै गस्तीले भेटेर उनकै शब्दमा दुई दिन थुनेछ र उनकै भाषामा ‘लादी फर्किने गरी’ कुटेर कागज गराएर छोडिदिएछ । केटाहर्को पोल खोल्दा झन् फसिएला भनेर मामाले कुरा लुकाएछन् । केटाहर्ले त्यही लटमा पुग्दो कमाएछन् र मामासँग सम्बन्ध टुटाएछन् । १० हजार घुस खुवाएर छुटेपछि त्यो व्यापारबाट मामा अघाएछन् ।

सानैदेखि सरकारी स्कूलमै पढाएको ‘बेटो’ लाई अचानक ७ कक्षामा बोर्डिङ्ग हाल्ने भए मामाले फेरि, बोर्डिङ्ग पनि मामाकै माइ डियर साथीको भएको सुनाउँथे । मामा छोरालाई बडो प्यारले ‘बेटो’ भन्थे र साह्रै लाडप्यारमा हुर्काएका थिए । ७ र ८ कक्षा सकिँदा मामाको बेटोले ५० हजार जति उनकै भाषमा ‘गिडिम’ पार्दिएर ५ दागी लगाएछ, अनि त स्कूल जानै छोडेछ । पछि मामाले फकाएर पहिलाकै स्कूलमा ८ मा भर्ना गरिदिएर एसएलसीसम्म गराए ।

जागिर रिटाएर हुन १२ वर्ष बाँकी हुँदा मामालाई अचानक विदेश जाने भूत चड्यो । भयो के भने लामो समय रोकिएको शिक्षक सेवा आयोगको रिजल्टमा मामा अनुत्तीर्ण भए, धेरै पुराना र अनुभवी सहकर्मी शिक्षकहरू पनि फेल भएका थिए । तर, सरकारले केही समयमै मौका परीक्षा दिएर सबैलाई स्थायी गरायो । तर मामा यति रिसाए कि बुबाले धेरै सम्झाउने कोशिश गर्दा पनि ‘यस्तो मुला परीक्षा दोहो¥याएर यत्रो पनि दिइँन्दैन सर…साला यत्रो वर्ष पढाउँदा पनि अयोग्य ठान्ने हरामी सरकारले म जस्तो अनुभवी शिक्षकलाई लाजैमर्दो भएन ?..अब केटो विदेश कुले सर….राम्रो डिमान्ड आको रछ….साथीकै म्यानपावर हो सर एकदमै विश्वासिलो….बिटो यो जागिरको भन्दा ठ्याक्कै तिर्बल छ बेसिक नै सर…ओट्टी सोट्टी हान्दा मुर्रो झरल राम्रै हुन्छ अरे’ बुबाले पनि यत्रो वर्ष खाको जागिर अब पेन्सन हुनेबेलामा तेसो नगर्न अन्तिम सल्लाह दिनुभयो तर विदेश जाने होडबाजीको त्यो बेलामा मामा पनि अछुतो रहेनन् ।

‘अब ज्यान कतारमा सर ! अब बिटो रियालमा झरल् हुन्छ यो नाथे स्कूलको जगिरले ९ वर्षमा कमाउने उता वर्ष दिनमै झरल् हुन्छ !’ मामाले सन्तुष्ट भावमा भने ।

‘हैन जाने नै हो त ?’

‘साथीलाई एक लाख दिइसकेँ ५० हजार भिसा झरल् भएपछि बुझाउनुपर्नेछ…… १५ दिनमा भिसा झरल् हुन्छ हरे सर… साथीको सालोको म्यानपावर हो दायाँबायाँ हँुदैन !’

‘अनि भिसा नै नआई किन दिनुभाको त पैसा ?’ बुबाले सशंकित हँुदै भन्नुभयो ।

‘हैन तलमाथि गरो भने गाउँकै साथी हो पक्डिहालिन्छ नि त्यो त केही डरै छैन,’ मामाले भने । बीचबीचमा आइरहेका थिए, मामा । उनको भिसा झरल् गराउने साथीको सालोको म्यानपावरमा ताला लगाएर सालाभेना दुइजानै वेपत्ता भएको तीन महिनापछि र उनीहरू आफैँ विदेश गइसके रे भन्ने हल्ला भएपछि दलालमार्फत् नगरेर सीधै म्यानपावरबाटै प्रोसेस् गरेर जसोतसो गरेर ४८ वर्षको उमेरमा मामा कतार हानिए ।

मामाकी छोरी बिमली हाम्रो घरछेउको स्कूलमा प्लस्टू पढ्न थालेकी थिई । हाम्रोतिर पनि आइरहन्थिन् । मामा गएको ७, ८ महिना जति भएको थियो । उसले सुनाएअनुसार एकजना गुल्मीको साथीसँग मिलेर पैसा पठाउने गरेकोमा अस्तिको दुई महिनाको पैसा चैँ मामाले पठाउने पालिमा त्यो मान्छेको कम्पनी नै सरेर वेपत्ता भयो हरे.. मामाको एक लाख उनकै भाषामा ‘गिडिम’ बनाइदिएर गुल्मीको साथी फरार भएछ । आमासँग गफ् गरेको सुनेको रे, बिमलीले ।

यसैबीचमा मामा दुई वर्षको छुट्टिमा आउँदा माइजु पनि बित्नुभयो । मामा त्यसपछि पाँच वर्ष बसेर फर्किए । आएपछि एउटा जिवन बिमा (इन्स्योरेन्स) कम्पनीमा पाँच लाख शेयर हालेर महिनाको २० हजार तलब खाँदै थिए । जति धेरै मेम्बर बनायो उति तलब बढ्ने भनेको थियो रे । दुई वर्ष त्यसमा काम गरेर मेम्बर बनाउँदै गर्दा इन्सुरेन्स कम्पनीका मालिकहरू अफिसमा ताला लाएर फरार भएको भन्ने सुनेँ । इन्स्योरेन्स कम्पनी पनि विदेशमा सँगै काम गरेको इलामको एकदमै मिल्ने साथीले विदेशबाट तीन वर्षअघि मात्र आएर खोलेको रैछ । जता पनि मामालाई ‘मिल्ने साथी’ अनि ‘माइ डियर साथी’ वा ‘जिग्री साथी’ वा ‘चिनेको पाटी’ले नै डुबाउने गर्थे । जीवन बीमा अनिवार्य गर्न र उनकै कम्पनीबाट नै गर्न मामाले आफन्तबीचमा बेजोड अभियान नै चलाए । बुबाले भने राष्ट्रिय बीमा संस्थानबाट पहिल्यै बीमा गरिसकेको भनेर जसोतसो टार्नुभयो । तर, मामाले तीनवटै भान्जाको र दिदीको पनि गर्नुपर्छ भनेर धेरै नै जिद्दी गरे । तर, बुबाले मान्नुभएको थिएन । कतिपय आफन्तसँग त्यही निहुँमा मामा बाझेर रिसाएर आउजाउ नै बन्द पनि गरेछन् । जीवन बिमा नगर्नेहरूलाई मामाले ‘कवाडी’, ‘प्यान्टे’, ‘कोक्ल्याँट’, ‘गँवार’जस्ता विशेषण दिन्थे ।

विदेशबाट आएर पनि मामाले लड्न लागेको घर पैसा हँुदाहुँदै पनि नबनाएर अत्याधुनिक ट्वाइलेट बाथरुम चैँ बनाए । इन्सुरेन्सबाट पनि नराम्ररी डुबेपछि मामाले अचानक बिहे गर्ने निर्णय गरे । एक वर्षसम्म घर गृहस्थी राम्रो चल्दाचल्दै मामालाई सुलित्त झुक्याएर ती नयाँ माइजु एकदिन राति नै नयाँ प्रेमीसँग फरार भइछिन् । संजोग भनौँ वा के भनौँ उनी मामाकै एकजना ‘माइ डियर’ साथीसँग भागेकी रहेछिन् । मामाको विश्वासलाई घात गरेर साथीले मामालाई नराम्ररी धोका दिइसकेको थियो । राख्न दिएको तीन लाख रुपैयाँ र केही गरगहना लिएर नयाँ श्रीमती फरार भएपछि मामाले खासै खोजी पनि गरेनन् । उनी दार्जिलिङतिरकी थिइन्, मामालाई छोडेपछि सिक्किमतिर त्यही प्रेमीसँग बिहे गरेर बसेकी भन्ने अपुष्ट खबर आयो ।

‘घोप्टेनी कैलेदेखि सल्केकी रैछे के जान्नु सर…डुबार हिँडी नि …साथी त चुतिया निस्क्यो नि सर…भाउजु भन्थ्यो साले हरामीले मैले कैले शंका गरिँन कुत्तालाई’ मामाले हल्का आक्रोससहितको दुखेसो पोखे ।

कान्छी श्रीमतीले छोडेर हिँडेको २/३ महिनापछि अचानक मामाले नयाँ विजनेस सुरु गरे । मिटर ब्याजमा पैसा लिने र प्लटिङमा लगानी गर्ने र दोब्बर तेब्बर नाफामा बेच्ने । एक दिन मामाले सँधै खाने गरेको लोकल नखाने भनेर मलाई बियर लिन पठाए एक हजारको नोट दिएर..अब मामाको कमाई जीवनशैली पूरै पैसावालको जस्तो भएको देखिन्थ्यो ।

मामा भन्थे, ‘पैला जानिएन नि सर…पहिल्यैदेखि प्लटिङमा लागेको भा बिटो झरल् राम्रो हुने रछ नि…एउटा साह्रै मिल्ने चन्द्रगडीको कँडरिया साथी हो पार्टनर चैँ….एक महिनामा बसीबसी ३(लाख) हानिसकियो नि….’ बुबालाई पनि सल्लाह दिए, ‘अब रिटायर्ड भएर पनि के को ट्युसन पढाएर बस्छ हौ सर..यो(प्लटिङ) जति माल विजनेस ऐले के छ भन्नु त ? बोलीका भरमा मुर्रो झरल्….आज बैना हान्द्यो अनि सीधै भोलि सेल बैना हान्ने पैसा मिटर ब्याजमा फालाफाल्……लगानी नै नफसी बिटो ग्वाम्म….जागिरबाट एक वर्षमा कमाइने यता उस्तै पर्दा एक महिना पनि लाग्दैन उस्तै माल जग्गा र पैसा भाको बुद्धि नभाको पाटी भेटियो भने’ मामाले उही पुरानो शैलीमा हातको दुइटै पञ्जा आकाशतिर फर्काएर आफूतिर तान्दै मीठो हाँसो हाँस्दै भने । मामा र बुबाको खानपिन अझै सकिएको थिएन..मामाले हल्का मातेको स्वरमा यत्ति बोलेको सुनेँ…त्यसपछि निदाएछु…मामा बेलुकै फर्केछन् ।

मामाले अब सेकेण्ड ह्यान्ड बुलेट बाइक किनेका थिए । मामाको दिन फिरेको ठानेर हामी खुसी नै थियौँ । मामाको लवाइखवाइ र खानपिन पनि अब बदलिएको थियो । मामा सेकुवा र बियरमा राम्रैसँग लागिपरेको बुझिएको थियो । ज्यान एकदम खाइलाग्दो त्यहीँमाथि त्यस्तो खुवाइले मामा झनै मोटाएका थिए । स्वास्थ्य सम्बन्धि कुरा निस्किँदा मामा बिन्दास पाराले भन्थे– ‘पेसरको दबाई हानेपछि टेन्सन छैन दाजु…अब ऐले त बीएण्डसीजस्तो राम्रो हस्पिटल खुलिसको…ज्यानलाई बिसन्चो होलाजस्तो भो कि सीधै बिएण्डसी हो केटो…’
मामाको फेरिएको जीवनशैलीको अभिन्न अंग बनेको थियो ‘भोला’

मामा भोला औधि खान थालेका थिए ।

यसैबीच मामाको हात फ्याक्चर भएछ, बुबा र म नै हेर्न गयौँ । भएछ के भने उनी र उही प्लटिङ पार्टनर कँडरिया बाइकमा कता जग्गा हेर्न जाँदै रैछन्…गफ गर्दै जाँदैथ्ये रे, गाउँको बाटो कुखुराको चल्ला, बाख्राको पाठोहरू केही नजोगाई बाइक खाल्डाखुल्डीतिर पनि नजोगाई कुदाउन थालेछ कडरियाले । केही बोल्दैन पनि रे, यसो ऐनामा हेरेको त अघि नै कँडरिया त निदाएको पो रैछ अरे, मामा आत्तिएर उनको त्यत्रो ठूलो पञ्जा भाको हातले ‘ओ पार्टनर, कहाँ निदाको’ भनेर काँधमा प्याट्ट हाने रे…कडरिया आत्तिएर स्वात्तै ह्यान्डिल छोडेछ र बाइक बजारिँदा मामा उछिट्टिएर पाँच हात पर पुगेछन् र कुमको हड्डी खुस्केछ । एक महिना जतिलाई मामाको कुदीकुदाई बन्द भएछ, उता कँडरियालाई भने सामान्य चोटपटक मात्र लागेछ । मामा घाइते भाको यही मौका पारेर कँडरियाले मालदार जग्गाहरू भटाभट मामालाई थाहा नदिई बेचेर हिसाबमा पनि ब्यापक गडबड गर्न भ्याएछ ।

यसैबीच विश्वब्यापी कोरोनाको आतंकले संसार हल्लियो । रागे मामाको प्लटिङ व्यवसायलगायत धेरै व्यापार विजनेस चौपट्ट भयो । मामालाई सुगरले पनि भर्खरै भेटिसकेको रहेछ । जग्गा प्लटिङको व्यवसाय गर्नेहरू भटाभट घाटामा गए । त्यहीँमाथि मामालाई उनको पार्टनरले आफ्नो भागको घाटा पनि बोकाएर फरार भएछ । साथीको बेइमानिले मामा चेक बाउन्स मुद्दामा पक्राउ परेर एक हप्ता हिरासत पनि बसे ।
मामाको स्वास्थ्य क्रमशः बिग्रँदै गयो । एकदिन मामालाई प्रेसरले हानेर अस्पताल लगेको छ भन्ने खबर आयो । बुबा र म हेर्न जाँदा मामा बेहोस थिए । २१ दिनसम्म बेहोस भई भेन्टिलेटरमा राखेपछि मामाको दुःखद निधन भयो ।

मामाको बिन्दास र निस्फ्रिी शैली, उन्मुक्त हाँसो र पट्टक्कै केही कुराको पनि पिर चिन्ता नलिने स्वभाव याद आइरहन्छ । जीवनमा अरूबाट पटकपटक धोका र दुःख पाएका रागे मामाले जीवनमा कसैलाई दुःख दिने र कसैको दुई पैसा खाने काम कैले गरेनन् । एउटा निस्कपट, इमान्दार, मिजासिलो र बिन्दास मान्छेको छवी बनाएर मामाले संसार छोडे ।

(खपाङ्गी हाल नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत छन् ।)

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *