दमक ।
आज उभौली चाड । नेपालका आदिवासी समुदाय राई, लिम्बू, सुनुवार, याक्खा, थामी, जातिले यस चाडलाई विशेष महत्वका साथ मान्दछन् ।
राईले साकेला, लिम्बूले यक्वा तङ्नाम, सुनुवारले शाँदर पिँदार, याक्खाले युच्याङ भनेर मनाउने यो चाडलाई थामी, सुरेल, जिरेल र हायु जातिले भूम्या भनेर मनाउँछन् । प्रकृति प्रेम र यी जातिले प्रकृति र आफ्ना पूर्वजलाई सम्झेर गरिने पूजा अर्चनासँग सम्बन्धित छ ।
गर्मीयाम सुरुभएसँगै माछा, चराचुरुङ्गी, जीवजनावर लेकतिर उक्लने र गोठहरु लेकमा सार्ने साथै बर्खा लागेसँगै खेतीपातीका लागि तयारी गर्नुभन्दा अगाडि प्रकृतिलाई पुकारेर उचित वर्षा, अनुकुल मौसम र हावापानीका लागि विधिपूर्वक माग्ने प्रचलन छ ।
बालीनाली सप्रियोस्, प्राकृतिक प्रकोप र विपत्ति नआऊन् भनेर भूमि, बाली र पितृपूजा गर्ने चाडलाई नै उभौली भनिएको हो ।
उभौलीमा लिम्बू र याक्खा जातिले आफ्ना मुन्धुमी बाजा च्याब्रुङ नाच्ने गर्दछन् । राई जातिले साकेला सिली नाचेर यो चाड मनाउँछन् भने सुनुवार र थामीलगायतका जातिका आ–आफ्नै मौलिक बाजागाजा र लोकनृत्यसहित रमाइलो गर्ने चलन छ ।
कृषि युगको सुरुवात १० हजारदेखि १२ हजार वर्ष पहिले नवपाषाण युगमा भएको मानिन्छ । सिकारी र घुमन्ते जीवन छोडी मानिसले स्थायी बसोबास, खेतीपाती र पशुपालन सुरु गरेपछि यो युगको थालनी भएको हो, जसले मानव सभ्यताको जग यसै युगबाट बसालिएको मानिन्छ । यसर्थ, कृषि कार्यका लागि प्रकृतिसँग अनोन्यास्रित सम्बन्ध बनाएर आदिवासी समुदायले मान्दै आएको यो चाड नेपालका प्राचिन र मौलिक चाड हो ।
नेपालका प्राचिन जातिहरुमा पर्ने यी जातिका चाडबाड, संस्कृति र नृत्य नेपालको महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन् । राज्यले यिनको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन र विकासमा आवश्यक सहयोग गर्नुपर्दछ ।
सांस्कृतिक पर्वले देशको विविधता जोगाउँछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक पर्वहरूले देशको सांस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्ने बताएका छन् ।
किरात समुदायको पर्व उभौलीका अवसरमा जारी शुभकामना सन्देशमा उनले सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्याउने उल्लेख गरेका हुन् ।
समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने भन्दै उनले वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किरातीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्ति नआऊन् भनेर भूमि, बाली र पितृपूजा गर्ने उल्लेख गरेका छन् ।
उभौली पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनका लागि ‘सबैमा निरन्तर प्रेरणा प्रदान गरोस्’ भनी पौडेलले कामना गरेका छन् ।
