दमक ।
प्राकृतिक प्रकोपका कारण झापामा बर्सेनी किसान मर्कामा पर्ने गरेका छन् । हावाहुरी, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले पहिला कृषि क्षेत्रमै क्षति पु¥याउँछ । कहिले बाढीले धान, मकै खेतीमा डुबान हुन्छ त कहिले हावाहुरीले किसानको उत्पादन सखाप बनाउँछ । तर, किसानले कहिल्यै राज्यपक्षबाट सहयोग पाउँदैनन् । किसानका मुद्दा चुनावी नारा बन्छन् । दलका घोषणपत्रमा ‘कृषि प्रधान’ देश लेखिन्छ । तर, त्यसपछि सधैँ राज्यले बिर्सँदै आएको क्षेत्र हो, कृषि । समयमा मल, बीऊ नपाउने समस्या त सामान्यजस्तै बनेको छ । प्राकृतिक प्रकोपले पनि सधैँ किसानलाई नै दुःख दिन्छ ।
गत असोजमा आएको बाढीका कारण झापामा मात्र ७ करोड ६० लाख २८ हजार बराबरको क्षति भएको थियो । जसमा सबैभन्दा धेरै धानमा ७ करोड ७५ लाख र झापामा केही वर्षयता व्यवसायिक खेती हुँदै आएको केरा खेतीमा एक करोड २५ लाख क्षति भएको थियो भने आलु र तरकारी खेतीमा समेत क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
यसपटक गत फागुन अन्तिम सातायता निरन्त भइरहेको वर्षा र हावाहुरीले मकै र केरा खेतीमा ठूलो क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र झापाले यसको विवरण संकलन गरिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । यद्यपि हालसम्म केराको मात्र विवरण संकलन भएको छ । हावाहुरी र असिनाले झापामा गत फागुन अन्तिम सातायता मात्रै ४७ लाखको केरा खेतीमा क्षति पुगेको छ । यसमा झापा गाउँपालिकाका दुई केरा बगानमा क्षति पुगेको हो । हावाहुरी र असिनाका कारण झापा गाउँपालिका ७ को समृद्धि दिदीभाइ कृषि फर्मको केरा बगानमा २० लाख र झापा ३ को साधना संस्कृति नमूना कृषि प्रालिको केरा बगानमा २७ लाखको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको हो । ‘मकैमा पनि ठुलो क्षति भएको छ । तर, अहिले विवरण संकलनको काम मात्र भइरहेको छ । हालसम्म बाह्रदशी गाउँपालिकाको प्रारम्भिक विवरण आएको छ । बाह्रदशमीमा मात्र १ हजार ६ सय हेक्टरमा लगाएको मकै पूर्णरूपमा क्षति भएको छ,’ कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले भने, ‘अहिले आएको पानी मकै खेतीमा जमेको छ । मकै खेतीले पानी सहँदैन । तसर्थ मकै पहेँलिएको छ । असिनाले पनि क्षति पु¥याएको छ भने हावाहुरीले मकै लडाएको छ । यसपटक पनि ठुलो क्षति भएको छ ।’
झापामा यो वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा मकै खेती भएको थियो । झापाको झापा गाउँपालिकामा सबैभन्दा धेरै मकै खेती हुन्छ भने त्यसपछि दोस्रोमा बाह्रदशी गाउँपालिकामा मकै खेती हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्र झापामा प्रत्येक पटक प्राकृतिक प्रकोपले कृषिमा क्षति पु¥याउँदा विवरण संकलन गरेर पठाउँछ । तर, किसानले भने कहिल्यै राहत पाउँदैनन् । ‘झापामा कृषि क्षेत्रमा प्रत्येक वर्ष क्षति हुँदै आएको छ । ०७८ सालको कात्तिकमा पनि कृषि बालीमा ३४ करोडको क्षति भएको थियो । गत असोजमा ७ करोडमाथिको क्षति भएको थियो,’ कृषि ज्ञान केन्द्र प्रमुख विष्ट भन्छन्, ‘तर, कृषकले क्षतिपूर्ति भने पाएका छैनन् ।’
प्रत्येक वर्ष बाढी, हावाहुरी, असिनाजस्तो प्राकृतिक प्रकोपले कृषि क्षेत्रमा ठुलो क्षति पुर्याउँदा किसान समस्यामा परेको झापा गाउँपालिका ३ स्थित साधना संस्कृति नमूना कृषि प्रालिका सञ्चालक चन्द्र बस्नेत बताउँछन् । तर, राज्यले सधैँ विवरण संकलन मात्र गरेर केही राहत उपलब्ध नगराएको उनको गुनासो छ । ‘यसपटक मेरो केरा खेतीमा ठूलो क्षति भएको छ । गत असोजमा मात्र १ करोडक क्षति भएको थियो । अन्य किसानले लगाएको मकैको अवस्था पनि उस्तै छ । विवरण संकलन गरेर लगेपछि राहतको आश हुन्छ । तर, कहिल्यै रातह पाइएन,’ उनी भन्छन्, ‘किसान अहिले समस्यामा छन् ।
अब नयाँ सरकारसँग आश पनि छ । यसपटक चाहिँ राहत पाउने अपेक्षा गरेका छौँ । आइतबार कृषिमन्त्री गीता चौधरीले फोन गर्नुभएको थियो । तत्काल केही गर्छौँ भन्नुभएको छ ।’ यसपटक कृषि क्षेत्रमा ठूलो क्षति भएकाले राज्यले पहल गरेर कृषकले लिएको ऋणमा कृषकलाई कालो सूचीमा राख्न नहुने उनको भनाइ छ । यस्तै, ऋण सहुलियतमा उपलब्ध गराउने उनले माग गरे । ‘कृषि क्षेत्रमा समस्या नै समस्या छ । समयमा मल पाउँदैन, सिँचाइ छैन । अनि कसरी कृषि गर्ने ?,’ उनी भन्छन्, ‘अब नयाँ सरकारसँग हाम्रो ठुलो आशा छ । सरकारले झापा गाउँपालिकालाई चाहिँ प्राकृतिक प्रकोप संकटग्रस्त क्षेत्र घोषणा गरेर काम गर्नुपर्छ ।’
