आजको मिति: शुक्रबार, जेठ १, २०८३
१०:३६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

प्रधानमन्त्रीसँग निर्वाचन क्षेत्रका नागरिकको अपेक्षको चाङ

सन्तोष विष्ट
गौरादह । झापा–५ मा नयाँ राजनीतिक सन्दर्भ बनेको छ । पछिल्लो एक दशकमा आधा समय यही क्षेत्रबबाट निर्वाचित केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । अहिले पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् । परिवर्तको पक्षमा भारी मत दिएका झापा ५ का नागरिकको युवा प्रधानमन्त्री बालेनसँग आशा, अपेक्षा र उत्साह एकैसाथ देखिएको छ । विशेषगरी कृषि, रोजगारी, शिक्षा, व्यवसाय र खेलकुद क्षेत्रका सरोकारवालाहरूले अब केन्द्र सरकारबाट प्रत्यक्ष रूपमा प्रभावकारी काम हुने विश्वास गरेका छन् । लामो समयदेखि भोग्दै आएका समस्याहरू समाधान हुने आशामा यहाँका नागरिकहरूले नयाँ नेतृत्वलाई ध्यानपूर्वक हेरिरहेका छन् ।

सबैभन्दा बढी अपेक्षा कृषि क्षेत्रमा देखिन्छ । झापा–५ कृषि उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । तर, मल, बीउ, सिँचाइ र बजार व्यवस्थापनका समस्या वर्षौँदेखि ज्यूँकात्यूँ छन् । ‘हामीले हरेक सिजनमा मलको अभाव झेल्नुपर्छ । समयमा मल नपाउँदा उत्पादन घट्छ । उत्पादन भए पनि उचित मूल्य पाइँदैन,’ कमल–१ का किसान गोपाल कुलुङ भन्छन्,‘अब प्रधानमन्त्री भइसकेपछि हाम्रो समस्या समाधान हुन्छ भन्ने ठूलो आशा छ । अब बहाना होइन, परिणाम आवश्यक छ ।’
उनका अनुसार कृषि क्षेत्रलाई व्यवस्थित नगरी देशको आर्थिक विकास सम्भव छैन । अर्का किसान मानबहादुर काफ्ले पनि उस्तै चिन्ता व्यक्त गर्छन् । ‘किसानले दुःख गरेर उत्पादन गर्छ, तर बजारमा मूल्य पाइँदैन । बिचौलियाले फाइदा लिन्छन्,’ उनले भने, ‘सरकारले बजार सुनिश्चित गरिदियो भने किसानको जीवनस्तर नै बदलिन सक्छ ।’

कृषि विज्ञहरूका अनुसार झापामा आधुनिक कृषि प्रणाली विस्तार गर्न सके उत्पादन र आम्दानी दुवै बढाउन सकिन्छ । तर, त्यसका लागि दीर्घकालीन नीति, प्राविधिक सहयोग र बजारको सुनिश्चितता आवश्यक छ । किसानहरू अब प्रधानमन्त्रीबाट यस्ता नीतिगत सुधारको अपेक्षा गरिरहेका छन् ।

युवापुस्तामा भने अझ बढी आशा र उत्साह देखिन्छ । लामो समयदेखि रोजगारीको अभाव, वैदेशिक पलायन र अवसरको कमीले निराश बनेका युवाहरूले अब परिवर्तन सम्भव हुने विश्वास गरेका छन् । ‘बालेन शाह युवामाझ लोकप्रिय हुनुको कारण उहाँको सोच र काम गर्ने शैली हो । उहाँले युवालाई राजनीतिमा सहभागी गराउने, रोजगारी सिर्जना गर्ने र प्रविधिमैत्री विकासको कुरा गर्नुभएको छ,’ विद्यार्थी मनोज दाहाल भन्छन्, ‘यदि ती कुरा व्यवहारमा लागू भए भने देशमै अवसर सिर्जना हुन सक्छ ।’ उनका अनुसार अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको युवालाई देशमै रोक्नु हो । ‘हाम्रो पुस्ता विदेश जाने सोचबाट ग्रसित छ । यदि यहाँ नै अवसर पाइयो भने किन विदेश जानु ?,’ उनी भन्छन्, ‘त्यसका लागि सरकारको ठोस योजना आवश्यक छ ।’
स्थानीय व्यवसायीहरू पनि नयाँ नेतृत्वबाट सकारात्मक संकेतको अपेक्षामा छन् । गौरादह–२ का व्यवसायी अनिश कार्की राजनीतिक स्थिरताले व्यवसायमा केही राहत हुने बताउँछन् । ‘राजनीतिक अस्थिरताले व्यवसाय क्षेत्रलाई सबैभन्दा बढी असर गर्छ । लगानी गर्ने वातावरण छैन । नीतिहरू बारम्बार परिवर्तन हुन्छन्,’ उनी भन्छन्, ‘अब स्थिरता आयो भने उद्योग–व्यवसाय विस्तार गर्न सजिलो हुन्छ ।’ साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउन जरुरी रहेको उनी बताउँछन् । ‘स्थानीय उत्पादनलाई बजार दिने, कर प्रणाली सरल बनाउने र लगानीमैत्री वातावरण तयार गर्ने काम सरकारले गर्नुपर्छ,’ उनले भने ।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले पनि लामो समयदेखि थन्किएको सुधारको प्रक्रिया अब अगाडि बढ्ने अपेक्षा गरेका छन् । गौरादह–२ का शिक्षक माधव कोइरालाले सङ्घीय शिक्षा ऐन जारी हुने विश्वास व्यक्त गरे । ‘सङ्घीय शिक्षा ऐन अझै पास हुन सकेको छैन । पुरानो पञ्चायती शिक्षा ऐनकै आधारमा काम चलिरहेको छ,’ उनले भने, ‘यसले शिक्षाको गुणस्तर सुधारमा बाधा पु¥याएको छ ।’ नयाँ ऐनमार्फत शिक्षक र कर्मचारीका जायज माग सम्बोधन हुनुका साथै सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने उनी बताउँछन् । ‘शिक्षक दरबन्दी व्यवस्थापन, तालिम, प्रविधिको प्रयोग र विपन्न तथा सीमान्तकृत विद्यार्थीको पहुँच सुनिश्चित गर्नुपर्छ,’ उनले भने, ‘आज गरिएको लगानीले भोलिको जनशक्ति तयार गर्छ । त्यसैले शिक्षा क्षेत्रमा गम्भीरतापूर्वक काम गर्नुपर्छ ।’

खेलकुद क्षेत्र पनि अपेक्षाले भरिएको छ । झापा–५ मा प्रतिभाशाली खेलाडीहरूको कमी छैन, तर पूर्वाधार र अवसरको अभावले उनीहरू पछि परिरहेका छन् । गौरादह फुटबल क्लबका कप्तान रेवन श्रेष्ठले प्रधानमन्त्री शाहको नेतृत्वमा खेल क्षेत्रले कोल्टे फेर्ने बताउँछन् । ‘हामीसँग खेल्ने क्षमता छ, तर राम्रो मैदान, प्रशिक्षक र प्रतियोगिता छैन,’ उनले भने, ‘त्यसैले धेरै खेलाडी अगाडि बढ्न सक्दैनन् । अब प्रधानमन्त्रीले यो कुरामा ध्यान दिनुपर्छ ।’ उनका अनुसार खेलकुद पूर्वाधारमा लगानी गरिए धेरै युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्नेछन् । ‘खेलकुदलाई पनि प्राथमिकतामा राखेर नीति ल्याउनुपर्छ,’ उनले भने ।

अर्का खेलाडी सन्दीप उप्रेती खेलकुदलाई रोजगारीसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउँछन् । ‘नेपालमा खेलकुदलाई अझै पनि मनोरञ्जनको रूपमा मात्र हेरिन्छ,’ उनले भने, ‘तर, सही नीति र लगानी भए यसबाट पनि राम्रो करियर बनाउन सकिन्छ ।’
खेलकुद क्षेत्रलाई व्यावसायिक बनाउन सके युवालाई वैकल्पिक करियरको अवसर खुल्ने उनले बताए । ‘सरकारले प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनमा लगानी गर्नुपर्छ,’ उनले भने ।

समग्रमा झापा–५ का नागरिकहरूमा अहिले आशा र अपेक्षाको मिश्रण देखिन्छ । प्रधानमन्त्री बालेन शाहप्रति रहेको विश्वासले यहाँका विभिन्न क्षेत्रका समस्या समाधान हुने आशा जगाएको छ । तर, अपेक्षासँगै चुनौती पनि उत्तिकै छन् । नीतिगत सुधार, कार्यान्वयन क्षमता र दीर्घकालीन दृष्टिकोण बिना यी अपेक्षा पूरा गर्न कठिन हुनेछ । अबको मुख्य प्रश्न भनेको—प्रधानमन्त्रीले जनताको अपेक्षालाई कत्तिको सम्बोधन गर्न सक्छन् भन्ने हो । कृषि, रोजगारी, शिक्षा, व्यवसाय र खेलकुद क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

ट्यागहरू: balenjhapa5rabi

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *