फिपराज बेघा
पथरी । लक्ष्मी कृषि फार्मका सञ्चालक हुन्, लक्ष्मी धिमाल । उनको दुईवटा पोखरी छ । वार्षिक ६ सय केजीसम्म माछा उत्पादन गरेका धिमाललाई पथरीशनिश्चरे नगरपालिका–७ नम्बर वडा कार्यालयले उत्कृष्ट माछापालन कृषक भनेर पुरस्कृत ग¥यो । धान खेत मासेर माछापालन गरेका धिमालले डेढ लाखको खर्चमा करिब ७ कठ्ठाको दुईवटा पोखरी निर्माण गरेका हुन् ।
माछापालन गर्दा धानबालीभन्दा राम्रो आम्दानी हुने उनको अनुभव छ । ‘माछाले दिने आम्दानी छँदैछ । माछापालनका कारण धानको उत्पादनसमेत बढेर फाइदा गरेको छ,’ उनी भन्छन् । यस वडामा न्यून क्षेत्रफलमा माछापालन गरिन्छ ।यता पाण्डे कृषि फार्म (पथरी शनिश्चरे–५)का सञ्चालक दीपक पाण्डेको अनुभव अलिक फरक छ । ‘वार्षिक ७०–८० केजी मात्रै माछा निस्कन्छ,’ उनले भने, ‘माछाबाट खासै आम्दानी लिन सकेको छैन ।’ ८ कठ्ठाको दुईवटा पोखरी खन्नलाई पाण्डेलाई ५० हजार रुपैयाँ पथरीशनिश्चरे नगरपालिकाले अनुदान दिएको थियो । ५ वर्ष अघि पोखरी खन्दा उनको साढे तीन लाख बढी खर्च भएको थियो ।
पथरीशनिश्चरे–५ मा सबैभन्दा धेरै क्षेत्रफलमा माछापालन गरिन्छ । वडा नम्बर ५ मा २४ जना कृषकले २५ बिघाभन्दा बढी क्षेत्रफलमा माछापालन गर्दै आएका छन् । मौलीबारीमा व्यवसायिक माछापालन गर्ने कृषकहरूको लर्को छ । नेत्र बस्नेत, टेकबहादुर भट्टराई, पहलमान भट्टराई, जगतबहादुर भट्टराई, धनबहादुर भट्टराई, रामचन्द्र निरौला, देवीबहादुर घिमिरे, खगेन्द्र खड्का, चेतन दाहाललगायत माछापालन व्यवसायमा तल्लीन छन् । पालिकाको सबैभन्दा बढी क्षेत्रफलमा माछापालन फर्म पनि मौलीबारीमा छ ।
न्यू सगरमाथा नेचुरल फर्म प्रालिले १६ विघामा माछापालन गरिरहेको छ । ०७१ देखि सुरु भएको फार्मले ६ जनालाई रोजगारीसमेत दिएको छ । वार्षिक ७० लाखदेखि ७५ लाखको माछा बिक्री गर्ने र सो को ३० देखि ४० प्रतिशतसम्म फाइदा हुने फार्म सञ्चालक चेतन दाहालले बताए । माछा पालनमा रहेका समस्या औँल्याउँदै उनले भने, ‘उन्नत जातको भुराको अभाव, माछाले खाने दानाको अभाव र भारतीय माछासँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छन् ।’ सरकारले माछापालनलाई प्रोत्साहन गरेमा माछापालन व्यवसाय अझ राम्रो हुने दाहालको ठम्याइ छ ।
पथरीशनिश्चरे– ९ का कृषक ७९ वर्षीय पदमबहादुर मगरको लोभलाग्दो पोखरी छ । नमुना पोखरामा भूपू ब्रिटिस आर्मी मगरले ७ लाख खर्चेर २ कठ्ठामा ८ फिटको पोखरी निर्माण गरे । ०७७ मा पुनर्निर्माण गरेको पोखरीबाट वार्षिक १ लाख आम्दानी गरेको उनले सुनाउँछन् । ३ विघा ६ कठ्ठा क्षेत्रफलमा माछापोखरी रहे पनि सबैले माछापालन नगरेको वडाध्यक्ष वीरबहादुर राईले बताउँछन् ।
पथरी शनिश्चरे–६ मा ५ विघा ५ कठ्ठामा माछापालन गरिँदै आएको पाइएको छ । मुख्य पेशा माछापालन गर्नेमा पथरी शनिश्चरे–६, हसन्दह बजारका नन्दन थापाको नाम अगाडि आउँछ । ०७० मा डेढ लाखबाट दुईवटा पोखरीबाट माछापालनमा लागेका थापाले ०७२ मा माछापालन क्षेत्र विस्तार कार्यक्रमबाट २ विघामा पोखरी खने । जिल्ला कृषि कार्यालय मोरङबाट अनुदान पाए । काँटा र जाल पनि ५० प्रतिशत अनुदानमा ल्याउन सफल भए । अहिले थापाको ३ बिघामा १२ वटा पोखरी छन् । वर्षमा ३५ देखि ४० लाख रुपैयाँ माछापालनमा खर्च गरेका उनी भन्छन्, ‘लागतका आधारमा हिसाब गर्दा ३० प्रतिशत भन्दा बढी नै आम्दानी लिन सफल भएको छु ।’
६ जनालाई रोजगारी दिएका थापाको टिलपियाको ह्याचरीसमेत छ । यो ह्याचरी नेपालको दोस्रो ह्याचरी हो । सूर्य एग्रिकल्चरका सञ्चालक उनी माछापालन कृषकका अगुवा हुन् । ‘पथरी शनिश्चरे माछापालनको लागि उपयुक्त ठाउँ हो । जमिनको हिसाबले वडा नम्बर ५ र ६ बढी उपयुक्त स्थान हो,’ थापा भन्छन्, ‘पथरी शनिश्चरेमा माछापालनको राम्रो सम्भावना छ ।’
माछापालन व्यवसाय तुरून्तै लाभ लिन सकिने बाली नभएको र हतारमा गर्न नहुने उनको सुझाव छ । अगुवा माछापालन कृषक थापा प्राविधिक ज्ञान लिएर माछापालन गर्न आग्रह गर्छन् ।
वडा नम्बर ३ मा मात्र १ विघामा माछा पोखरी रहेको छ । वडा नम्बर ४ मा ३ विघा १० कठ्ठामा माछापालन भइरहेको छ । नगरको ८ नम्बर वडामा भने १ विघामा मात्रै कृषकहरूले माछापोखरी खनेका छन् । वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्कीले वडाका सबै पोखरीमा माछापालन नभएको र केही कृषकले मात्रा माछापालन गर्दै आएको जानकारी दिए ।
नगरमा रहेको सामुदायिक वनहरू माछापालनतर्फ आकर्षित रहेको देखिन्छ । शान्ति सामुदायिक वन उपभोक्ता समूह (पथरी शनिश्चरे–१) ले ३–४ कठ्ठाको पोखरीबाट ठेक्कामार्फत वार्षिक ३० हजार आम्दानी गरिरहेको छ । ठूलो पोखरीमा भुरा लगाउन अघि पञ्च वर्षीय ठेक्कामार्फत १ लाख १३ हजार वार्षिक आम्दानी गरेको वन अध्यक्ष कुलमणि गुरुङ बताउँछन् ।
पथरीशनिश्चरे–१ मा अवस्थित मनोकामना वन पनि माछापालनतर्फ उन्मुख छ । मनकामनाको १६ कठ्ठा, ५ कठ्ठा र १ कठ्ठाको तीनवटा पोखरी छन् । गत चैत महिनामा १ हजार भुरा लगाएको र नगरपालिकाको वितरण गर्ने भुरा अनुदानमा पनि निवेदन दिएको वन सचिव मञ्जु जबेगूले बताइन् । माछापालन सम्बन्धी व्यवसायिक तालिम वनलाई आवश्यकता रहेको बताउँदै सचिव जबेगूले व्यवसायिक माछापालन गर्ने समूहको योजना रहेको सुनाइन् ।
पथरीशनिश्चरे २ मा ६ विघा क्षेत्रफलमा माछापालन हुँदै आएको छ । वडा नम्बर २ मा रहेका दुई सामुदायिक वन सुन्दर र हरियालीले माछापालन गर्दै आएका छन् । सुन्दर सामुदायिक वनमा डेढ विघामा चारवटा पोखरी रहेका छन् । वनले वार्षिक डेढ–दुई लाखसम्म आम्दानी ग¥यो । २० हजार भुरा लगाएकोमा २–३ क्विन्टल माछा उत्पादन हुने अनुमान गर्छन्, वन अध्यक्ष भवानी तिम्सिना । हरियाली वनको ५ वटा पोखरी ४ बिघामा फैलिएको छ । नवनिर्मित पोखरीमा ८–९ महिनाअघि वनले माछाको भुरा लगाएको छ ।
८ विघा १० कठ्ठा पोखरी रहेको वडा नम्बर १० मा ३ वटा सामुदायिक वनले माछापालन गरेका छन् । भुल्के पशुपति सामुदायिक वनले १ लाख ७० हजार लगानी गरेर माछापालन ग¥यो । तर, गत साल १२ कठ्ठाको पोखरीमा अविरल वर्षाको कारण जाली फुटेर माछा भागेपछि माछापालनबाट आम्दानी गर्न नसकेको वन अध्यक्ष कविराज लिम्बू बताउँछन् । अब पोखरीलाई व्यवस्थित गरेर पुनः माछापालन गर्ने योजना रहेको उनको भनाइ छ ।
माछापालन गरेर मुनाफा आर्जन गर्ने उद्देश्यले वनले डेढ विघामा पोखरी खनिएको पुशपति सामुदायिक वनका अध्यक्ष पुष्कर शाहीको भनाइ छ । वनले पोखरीमा घेराबारा गरेर माछापालन गर्ने तयारी अन्तिम चरणमा पुगेको शाही बताउँछन् ।
पथरीशनिश्चरेको एक मात्र धार्मिक वन हो, सिरिजङ्गा स्मृति धार्मिक वन । जसको ५ विघा क्षेत्रफलको एक पोखरी छ । वन अध्यक्ष डम्बर फागो चोङ्बाङ्का अनुसार वनले माछापालनबाट वार्षिक १ लाख आम्दानी गर्दै आएको छ ।
पथरीशनिश्चरे नगरपालिका मोरङ जिल्लाको उत्तरपूर्वमा अवस्थित पालिका हो । १० वटा वडा रहेको यस नगरमा १७ हजार ९ सय ८० घरधुरीसहित ७२ हजार ४४५ जनसंंख्या रहेको ०७८ को राष्ट्रिय जनगणनामा उल्लेख छ । ७९.८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको पथरीशनिश्चरे नगरको ९ हजार ५९८ हेक्टर जमिन कृषियोग्य रहेको नगरस्थित पशुपन्छी तथा मत्स्य विकास शाखाले जनाएको छ ।
नगरपालिकाका पशु प्राविधिक जनक चौधरीले करिब २५०–३०० हेक्टरमा माछापालन भइरहेको अनुमान गर्छन् । मत्स्यपालनकै लागि भनेर नगरपालिकामा कुनै फर्म दर्ता नभएको जानकारी दिँदै चौधरीले कृषि फर्मअन्तर्गत माछापालन भइरहेको बताए । नगरपालिकाले पनि माछापालनको लागि नियमित बजेट छुट्याउने नगरेको उनको भनाइ छ ।
तर, चालु आर्थिक वर्षमा माछाको भुरा वितरण लागि २ लाख छुट्याएको छ । पशु प्राविधिक चौधरी भन्छन्, ‘तीन वर्षयता माछापालनको लागि केही कार्यक्रम राखिएको छैन । यस वर्ष भुरा वितरणको लागि २ लाख बजेट छुट्याइएको छ ।’ नगरपालिकाले ३ पटक माछा पसलको अनुगमन गरी प्रतिबन्धित मुङ्ग्री माछा बरामत गरी नष्ट गरेको थियो ।
पथरी, कीर्तिपुर, हसन्दह, शनिश्चरे बजारमा माछा बिक्री भइरहेको छ । ती बजारमा दैनिक ५० केजीभन्दा बढी माछा बिक्री भइरहेको छ । ‘माछापालन कृषकले निर्वाहमुखी परम्परागत तवरले गरेको पाइन्छ । माछापालनको राम्रो सम्भावना पनि छ,’ पशु प्राविधिक चौधरीले भने, ‘माछापालन कृषकले अब व्यवसायिक तरिकाले माछापालन गर्नुपर्छ । हामी प्राविधिक सहयोग गर्छौँ ।’
पालिकामा रहेका माछा पोखरीको क्षेत्रफलको विवरण क्र.संं. वडा नम्बर पोखरीको क्षेत्रफल
| क्र.सं. | वडा नम्बर | माछा पोखरीको क्षेत्रफल |
|---|---|---|
| १ | १ | १–१६–० |
| २ | २ | ६–०–० |
| ३ | ३ | १–०–० |
| ४ | ४ | ३–१०–० |
| ५ | ५ | २५–०–० |
| ६ | ६ | ५–०–५ |
| ७ | ७ | ०–१०–० |
| ८ | ८ | १–०–० |
| ९ | ९ | ३–०–६ |
| १० | १० | ८–१०–० |




