नेपाल–भारत प्रबुद्ध समूहका सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति गलत भएको बताएका छन् । प्रधानमन्त्री शाहले संसदको रोस्टमबाट बोलिएको कुराले नागरिकलाई दिग्भ्रमित पारेको उल्लेख गरेका छन् ।
आचार्यले नेपालले सैन्य बलको रूपमा भारतको भूमि नमिचेको दाबी गरे । आचार्यले भने, ‘नेपालले भारतको जस्तै सैन्य बलको भरमा जमिन मिचेको छैन । केही स्थानमा भारतका नेपालका गाउँलेहरूले सीमा यताउता गरेका छन्, त्यसलाई लिपुलेक, कालापानीको उदाहरणसँग जोड्न मिल्दैन ।’
आचार्यले प्रबुद्ध समूहको बैठकमा पनि भारतीयपक्षले यस्ता कुरा उठाएको स्वीकार गरे । उनले भने, ‘नेपाल भारत सम्बन्धका सबै विषय उठेका थिए ।’
उनले कालापानी क्षेत्रको समस्या फरक भएको र त्यसलाई दुई देशले फरक ढंगले हेर्नुपर्ने पनि दाबी गरे । गाउँलेले पिलर सारेको घटना र सैन्य बलले कब्जा गरेको कुरा फरक रहेको पनि आचार्यको भनाइ छ ।




