कमल गाउँपालिकास्थित कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ । मंगलबार अध्यक्ष हुकुमसिंह राईले रिबन काटेर सेवा उद्घाटन गर्नुभएको हो ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित अब दैनिक रूपमा आँखा जाँच तथा उपचार सेवा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले जानकारी दिनुभयो ।
२०७९ सालमा तोपगाछी स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी सञ्चालनमा ल्याइएको अस्पतालले यसअघि दन्त सेवा सञ्चालन गरिसकेको थियो । अब आँखा सेवा थपिएसँगै सेवा दायरा विस्तार भएको छ ।
मेची आँखा अस्पतालका प्राविधिकको सहकार्यमा सेवा सञ्चालन गरिने भएकाले स्थानीयले विशेषज्ञस्तरको सेवा गाउँमै पाउने अपेक्षा गरिएको छ । यसले विशेषगरी विपन्न, ज्येष्ठ नागरिक तथा ग्रामीण सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ ।
गाउँपालिकाले ‘गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा’ लक्ष्यसहित स्वास्थ्य सेवा विस्तारलाई निरन्तरता दिँदै आएको छ ।




