दमक ।
अनालईन स्वास्थ्य परामर्शका नाउँमा अब चिकित्सकहरुले बिारमीको फोटो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न र औषधि सिफारिस गर्न नपाउने भएका छन् ।
चिकित्सकका लागि नियमनकारी निकाय नेपाल मेडिकल काउन्सिलले अनलाइन परामर्शको नाममा विभिन्न रोग तथा बिरामीसँग सम्बन्धित सामग्रीहरू प्रसारण–प्रकाशन गर्न रोक लगाएको हो ।
सामाजिक सञ्जालमा चिकित्सकहरूले भिडियो सामग्री सार्वजनिक गर्ने, विभिन्न रोगको उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी भिडियो सामग्री व्यापक रूपमा प्रसारण गर्ने गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले ध्यानाकर्षणसमेत गराएको छ ।
स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएको भन्दै काउन्सिलले बिरामीलाई परीक्षण नै नगरी सामाजिक सञ्जालबाट परामर्श दिँदा बिरामी भ्रममा पर्ने र आत्तिने अवस्थासमेत हुने भन्दै यस्ता कार्य नगर्न चिकित्सकलाई अनुरोध गरेको हो ।
चिकित्सकको प्रत्यक्ष जाँच र मूल्यांकनबिना औषधि सेवन गर्न सुझाव दिँदा वा त्यस्तो सल्लाह प्रचार गर्दा बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने, अनावश्यक जटिलता बढ्न सक्ने र दीर्घकालीन हानिसमेत पुग्न सक्ने भन्दै काउन्सिलले चिकित्सकलाई पेशागत कर्तव्य स्मरण गराएको छ ।
अनिवार्य पालना गर्नु चार पर्ने नियम :
- बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्ने । गर्नैपर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान नखुलाउने ।
- सामाजिक सञ्जालमार्फत परीक्षणबिना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्नु पर्ने ।
- स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताको पूर्ण पालना गर्नु पर्ने ।
- बिरामीहरूले सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँग मात्र परामर्श लिने ।
