काठमाडौं ।
शुक्रबार साताको अन्तिम कारोबार दिन शेयरबजार परिसूचक नेप्सेमा सामान्य अंक बृद्धि भएको छ ।
बिहीबार १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको नेप्से सूचक शुक्रबार १.५४ अंकले बढेर २ हजार ७८८.७० अंकमा उक्लिएको हो ।
शुक्रबार ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ७४ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन १७ अंकले नेप्से घटेको बजारमा ५ अर्ब ९ करोड ५९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको थियो ।
शुक्रबार बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एन्ड प्रो र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी सातवटा उपसूचक ऋणात्मक भएका छन् ।
८८ कम्पनीको शेयर मूल्य बढ्दा शुक्रबार १६७ कम्पनीको मूल्य घट्न पुगेको छ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्ट र माई खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेका बताइएको छ ।




