दमक ।
दमक–६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले १५औँ स्थापना दिवसको अवसर पारेर बिहीबार आयोजना गरेको रक्तदानमा ७० पिन्ट रगत सङ्कलन भएको छ । सोही अवसरमा सहकारीले ६ थान डोनर बेड नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रलाई हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्रका प्रमुख सिद्धार्थ दाहाल, संस्थाका सचिव तीर्थ चाम्लिङ राई, सदस्य डुका कुमाल, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, सञ्चालक समिति, कर्मचारी, शेयर सदस्यलगायत सहभागी थिए ।
कार्यक्रममा संस्थाका सन्चालक , शेयर सदस्य, कर्मचारीसहित इच्छुक रक्तदाताहरुले रक्तदान गरेका व्यवस्थापक तुलसी राजवंशीले जानकारी दिए ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको हितमा यस्ता सामाजिक तथा मानवीय हितका कार्यक्रमहरू संचालन गर्दै आएको व्यवस्थापक राजवंशीले बताए ।
रक्तदाताहरूलाई सम्मानस्वरूप फलफूलका बिरुवा तथा मायाको चिनो प्रदान गरिएको थियो ।




