दमक ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी संख्या बढाउने भएको छ । अब रास्वपामा १९ पदाधिकारीसहित केन्द्रीय समितिको आकार १५१ को हुनेछ ।
बिहीबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले विधान संशोधन गरेर यसअघि बालेन्द्र शाहलाई दिइएको वरिष्ठ नेताको मान्यतालाई विधानमै व्यवस्था गर्ने भएको हो । अब रास्वपा विधानमै पार्टी सभापति, वरिष्ठ नेतासहितको पदीय संरचना कायम हुने भएको हो ।
जसअनुसार अब रास्वपाको केन्द्रीय पदाधिकारी संख्या १९ जनाको हुनेछ । जसमा एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सह–महामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सह–प्रवक्ता तीन, कोषाध्यक्ष एक, एक महिलासहित सह–कोषाध्यक्ष दुई जना रहने छन् ।
विहीबारको सचिवालय समितिको निर्णय अनुमोदनसहित आसन्न महाधिवेशनमा पेस गरिने अन्य दस्तावेजहरू पास गर्न रास्वपाले शनिबार केन्द्रीय समिति बैठक डाकेको छ । अहिले रास्वपाको केन्द्रीय समिति १२१ को छ ।
रास्वपाको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनको भरतपुरमा हुँदैछ ।
पार्टी महाधिवेशनको बन्दशत्रमा बालेन र रवि पक्षका नेता बीच पदका लागि ब्यापक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । रास्वपा सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्तिले पनि पदका लागि रस्साकस्सी हुने देखिन्छ । बिहीबारको सचिवालय बैठकमा लामिछानेले सहमतिकै आधारमा माहाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । ‘अस्ति भर्खर केही साथीहरू समायोजनबाट आउनुभएको छ । उहाँहरूलाई पार्टीमा समायोजन भएको केही महिनामै अब तिमीहरू चुनावमा प्रतिस्पर्धा गरेर आऊ भन्नु अन्यायपूर्ण हुन्छ’, उनले भनेका थिए ।
२१ फागुनको निर्वाचनको संघारमा विवेकशील साझा समूहबाट समीक्षा बाँस्कोटा, रञ्जु दर्शना, प्रकाश परियार लगायत नेता रास्वपा प्रवेश गरेका थिए ।
लगत्तै तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई वरिष्ठ नेता र भावी प्रधानमन्त्री बनाउने शर्तमा बालेन समूह रास्वपा छिरेका थिए । त्यस्तै खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाली पार्टी, थरूवान आन्दोलनका नेता लक्ष्मण थारूको समूह रास्वपामा मिसिए ।
उज्यालो नेपाल पार्टी घोषणा गरेका विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको पार्टी पनि केही दिनका लागि रास्वपा प्रवेश गरे पनि समानुपातिकतर्फ पुच्छरमा नाम समावेश भएपछि रास्वपासँगको सहमति तोडेर बाहिरिएको थियो ।
महाधिवेशनको उद्घाटन चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा गर्ने तय भएको रास्वपाले जनाएको छ । बन्दसत्र भने भरतपुरमै रहेको नेपाल उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।
आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने यो महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि शुल्क ५ हजार र पर्यवेक्षक शुल्क ७ हजार तोकेको रास्वपाले पार्टी लेबी नतिर्ने प्रतिनिधिलाई महाधिवेशनमा सहभागी नगराउने निर्णय गरेको कोषाध्यक्ष लिमा अधिकारीले बताइन् ।
रास्वपाले मन्त्री, सांसददेखि केन्द्रीय सदस्यलगायत सबै महाधिवेशन प्रतिनिधिले तहगत रूपमा लेबी तिर्नुपर्ने विधानतः व्यवस्था छ ।
मन्त्री, सांसदहरूले पार्टी केन्द्रीय समितिमा र अन्य महाधिवेशन प्रतिनिधिहरूले आफू कार्यरत समितिहरूमा लेबी बुझाएका हुन्छन् ।
लेबी बुझाएको विवरण रूजु गरेर तिर्नेहरूलाई मात्र महाधिवेशनमा सहभागी गराइने रास्वपाको तयारी छ ।




