नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल रहेको भन्दै आपत्ति जनाएको छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै त्यसको घोर निन्दा तथा भर्त्सना गरिएको छ । विज्ञप्तिमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा गरेको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गर्दै नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्ने अभिव्यक्ति तथ्यविपरीत रहेको उल्लेख गरिएको छ ।
नेकपाले अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन (क्रस–होल्डिङ) फरक विषय भएको स्पष्ट पारेको छ । सीमारेखाका कारण दुवै देशका सीमावर्ती नागरिकका खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई कब्जा नभई जग्गाको भोगचलनको अवस्था मानिने पार्टीको तर्क छ ।
विज्ञप्तिमा देशको कार्यकारी प्रमुखले संसद्बाटै नेपालले भारतको भूमि कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत भएको दाबी गरिएको छ । साथै, नेपाल र भारतबीच सीमा विवाद रहेको र त्यसको समाधान कूटनीतिक माध्यमबाट हुनुपर्नेमा पार्टी स्पष्ट रहेको जनाइएको छ ।
नेकपाले हालसम्म नेपालले भारतको कुनै भूभाग कब्जा नगरेको दाबी गर्दै यही आधारमा लिम्पियाधुरा क्षेत्रसमेत समेटेर नेपालले आफ्नो दाबी कायम राख्दै नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको स्मरण गराएको छ ।




