झापा । गौरादह उद्योग वाणिज्य संघको आगामी जेठ ९ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रकाश बाँस्कोटाले आफूलाई सबै व्यवसायीको साझा प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन् । लामो समयदेखि गौरादहमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका बाँस्कोटा अहिले व्यवसायिक अनुभव र संस्थागत यात्रालाई आधार बनाएर नेतृत्वको दौडमा छन् ।
सानै उमेरदेखि व्यवसायमा सक्रिय बाँस्कोटाले गौरादहमै संघर्ष गर्दै आफ्नो व्यवसाय स्थापित गरेका हुन् । व्यवसायसँगै सामाजिक तथा संस्थागत गतिविधिमा समेत सक्रिय उनी गौरादह उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्य र एक कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । संस्थाभित्रको अनुभवले आफूलाई नेतृत्वका लागि अझ परिपक्व बनाएको उनको भनाइ छ ।
बाँस्कोटाको मुख्य एजेन्डा भने साना तथा मझौला व्यवसायीलाई संस्थासँग जोड्नु रहेको बताउछन् । `वाणिज्य संघ ठूला व्यवसायीको मात्र संस्था होइन, पसल चलाउनेदेखि साना उद्यम गर्ने सबै व्यवसायीको साझा छाता संगठन हो भन्ने अनुभूति दिलाउन चाहन्छु,´ उनले भने ।
उनले गौरादह क्षेत्रका धेरै साना व्यवसायी अझै पनि संस्थासँग प्रत्यक्ष रूपमा जोडिन नसकेको उल्लेख गर्दै आगामी नेतृत्वले उनीहरूको आवाज, समस्या र अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन् । व्यवसायीबीच एकता, सहकार्य र साझा हितको वातावरण निर्माण गर्दै संस्थालाई अझ समावेशी बनाउने उनको प्रतिबद्धता छ ।
निर्वाचन नजिकिँदै जाँदा गौरादहको व्यवसायिक क्षेत्र पनि चुनावी माहोलमा प्रवेश गरेको छ । अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएपछि यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।




