राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी विद्रोहमा नेपाली सेनाको भूमिका शकांस्पद रहेको उल्लेख गरेको छ । साथै, आयोगको अनुसन्धानमा समेत सेनाले असहयोग गरेको पनि दाबी गरेको छ ।
आयोगले सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन प्रयास नगरेको प्रति पनि प्रश्न उठाएको छ ।
आयोगले भनेको छ, ‘सिंहदरबार र राष्ट्रपति निवासको सुरक्षाको लागि भनी पहिला नै निर्णय भई सोहीअनुसार सो भवनको सुरक्षाका लागि खटिएको सेनाले जोगाउन सामान्य प्रयाससमेत नगरेको अवस्था देखिन्छ ।’
त्यसैगरी, २३ र २४ भदौ दिनभरि सरकारले निर्णय नगरेका कारण सेना परिचालन हुन नसकेको सेनाले बन्द खाममा पठाएको जवाफमा लेखेको छ ।
तर, २४ भदौ राति १० बजे चाहिँ कुन सरकारको कस्तो आदेशमा परिचालन भएको भन्ने जवाफ भने दिएको छैन । त्यसैले सेनाको उक्त जवाफमा एकरुपता नदेखिएको पनि आयोगले भनेको छ ।
त्यसक्रममा आयोगले सेनापति अशोकराज सिग्देललाई भविष्यमा यस्ता घटनामा संवेदनशील हुन र मानवअधिकार संरक्षणप्रति सचेत हुन निर्देशन दिएको छ । साथै, सिंहदरबारको गणपति र राष्ट्रपति निवासका गणपतिलाई सचेत गराउन निर्देशन दिएको छ ।




