आजको मिति: शुक्रबार, जेठ १, २०८३
०२:०६ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

कपुरपछि गोर नेपाल भ्रमण आउँदै, बाक्लियो अमेरिकी कुटनीतिक भ्रमण

काठमाडौं ।

अमेरिकी कुटनीतिज्ञहरुको नेपाल भ्रमण बाक्लिएको छ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री एस. पावल कपुर नेपाल भ्रमण आएर फर्किए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो गोर नेपाल भ्रमण आउँदै छन् ।

दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन् । उनी भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने भएका हुन् । उनको नेपाल भ्रमण चार दिनको रहने बताइएको छ ।

राजदूत सर्जियोको नेपाल भ्रमणका सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका छन् । दुई जना बिचको भेटमा राजदूत सर्जियाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा गोरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटघाट गर्ने बताइए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन ।

सर्जियोले बालेनसँग जेठ १ गते भेट्ने कार्यतालिका रहेको स्रोतको भनाइ छ । तर प्रधानमन्त्री कार्यालयले भने हालसम्म भेट हुने नहुने कुरा निश्चित गरेको छैन ।

केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री एस. पावल कपुरले पनि प्रधानमन्त्री बालेनसँग भेट्न चाहेका थिए । तर, कपुरलाई बालेनले भेट दिएनन् ।

उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटघाट गरेका थिए ।

अमेरिकाले नेपालमा रहेका राजदूत डिन थम्पसनलाई फिर्ता बोलाएपछि राजदूत सर्जियोले भारतबाट नेपाल मामिला हेरिरहेका छन् । नेपालमा चार महिनादेखि अमेरिकी राजदूत छैनन् ।

राष्ट्रपति ट्रम्पको सचिवालयमा काम गरिसकेका सर्जियोको भ्रमण एउटा राजदूतको रूपमा मात्र नभई ट्रम्पको दूतको रूपमा भइहरेको जानकारहरू बताउँछन् । नेपालको भूराजनीतिक मामिलाका एक जानकारले भने, ‘यो कपुरको जस्तो भ्रमण होइन, उहाँको भ्रमणले धेरै कुराको निर्धारण हुन्छ ।’

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *