प्रस्तोता : साइँला भाइ
केही समयदेखि युट्बर डान अर्थात् युट्युब सुप्रिमो युट्युबसिं फत्ते मौन वर्तमा थिए । गत चुनाउमा फत्तेको गँजेडी जोखाना फेल खाएकोले आएदिन चुप लाग्ने नबोल्ने वर्त लिएको भन्नेहरूको कमी छैन । तर फत्तेको चुनावी जोखाना फेलै खाइ हालेको चैं हैन । बरू अहिले देखिएको नतिजापछि सदनको रामरमिताबारे चैं फत्तेले राम्रै फलित जोतिष निकालेका थिए । फत्तेले फु–बालेन, कर्केनी आमै, महाझुर पुन, गुण्डुबा, हर्के हल्दारलगायत थुप्रैको कायाकैरन गरेर युट्युबर धर्म निर्वाह गरेका थिए ।
तर, यतिकैमा फत्तेको अघोर आलोचना भएपछि मौन वर्त बस्न बाध्य भए । यता युट्युबर डान मौन बस्नु उता बर्खे च्याउसरी उम्रेका नौसिखिया युट्बरले संसद् भवन परिसरमा रामलीला देखाउन थाले । ‘रिखी धमला युट्युब कलेज’मा पढेका युट्युबरले आखिर रमिता त देखाउने नै थिए । यसै मेलोमा संसद् सचिवालयले फत्तेको खोजी ग¥यो । सचिवालयले फत्ते समक्ष ज्ञापन–पत्र बुझाएरै निम्तो ग¥यो । घण्टी पार्टीले बैठकबाट अनुमोदन गर्दै फत्तेलाई सदन परिसरमा ल्याउन सविनय नम्र निवेदन ग¥यो ।आफ्ना सांसद्को हुर्मत काड्ने नौसिखिया युट्युबरलाई तह लगाउन सक्ने फत्ते नै हुन् भन्ने तिनलाई गर्भे ज्ञान छँदै थियो ।
यता धेरै दिन नबोली बस्दा वा जिब्रो निष्कृय रहँदा लठेप्रो हुने डर फत्तेलाई परेकै थियो । ऐन मौकामा संसद सचिवालयको ज्ञापन र घण्टी पार्टीको नम्र निवेदन, जिब्रो सकृय बनाउने फत्तेलाई निहुँ भयो । फत्तेले मौन बर्त तोड्ने निश्चय गर्न ढिलाढालो गरेनन् । यता युट्युबका सुप्रिमो फत्ते सदन परिसरमा आउने भएपछि नौसिखिया युट्युबर झनै हौसिए ।
प्रधानमन्त्री बालेन मात्रै होइन उनका मन्त्री सांसदले नौसिखियाहरूलाई ‘बाल’ नदिएपछि हैरान परेशान थिए । तिनको पेशो नै धरापमा पर्छ भन्ने लागेकै थियो । मन्त्री वाग्ले, सुधन गुरुङ्, आशिका तामाङ, इलुइलुवाला दुई सांसद, अन्तर्राष्ट्रिय रासलीला वाला कृष्ण, साङ्ला बोकेर सांसद बनेका सुनारलाई समेत तार्लाङ्गतुर्लुङ्ग पार्दासम्म बोलबचन झरेको थिएन । यस्तो विषम् परिस्थितिमा फत्ते आउने भएपछि नौसिखिया प्रफुल्ल थिए । अब जनजीविका जोगाउन फत्तेसँग अण्टसण्ट प्रश्न सोधेर ‘कण्टेण्ट क्रिएट’ गर्ने भित्रभित्रै मन बनाइ सकेका थिए नौसिखियाहरूले ।
यतिकैमा युट्युबर डन युट्युबसिं फत्ते ससंदको पटाङ्गिनीमा देखा परे । झटपट नौसिखिया युट्बरले फत्तेलाई घेरेर प्रश्न सोध्न थाली हाले ।
नौसिखिया युट्युबर : युट्युबर डान, सुप्रिमो फत्ते, बालेन नबोल्नुको कारन के हो ?
युट्युबसिं फत्ते : बालेन मौन वर्तमा बसेकै बेस । जब वर्त तोड्छन आगो ओकल्छन् । बोल्यो कि पोल्यो । बोल्नासाथ आगोको लप्का निस्कन थाल्छ । हिज्जो छाडि अस्तिजस्तो लाग्छ एकपटक बोलेका मात्र थिए उनको जिब्रोबाट आगोको लप्का निस्कियो । सिंहदरबार सर्वाेच्च अदालतलगायत सयौँ सरकारी भवन जले । फेरि बोले भने त सिङ्गै देश जल्न बेर छैन । त्यसैले नबोलाउ । यसै त नाम नै ‘फू–बालेन’ त्यसै भएको हैन है गाँठे ।
नौसिखिया युट्युबर : बालेन बोल्दा डढेलो सल्केला ल ठीकै छ नबोलुन । तर, उनका मन्त्री सांसद पनि त बोल्दैनन् किन ?
युट्युबसिं फत्ते : के बोलुन् त बरा विचरा ! तीनले एक थोक बोल्यो भने अर्काे थोक सुनिन्छ, बुझिन्छ । यिनको मातृभाषा नै अलग छ । तिनले हिरा भन्यो भने किरा सुनिन्छ । हस्तिनापुर भने भने सहकारीको किस्ता नतिर भनेको सुनिन्छ ।
नौसिखिया युट्युबर : उसो भए हातका औँलाले इशारा गरे वा सांकेतिक भाषा बोल्दा भयो त ।
युट्युबसिं फत्ते : त्यसले झन बिगार गर्छ । कान्छी औंला देखाए लघु संकाय (मूत्र त्याग) भन्ने बुझिन्छ । बुढी औँला देखाए ठेंगा देखायो भन्छन् । चोरी औँला देखाए धाक, धम्की, धमास देखाए जस्तो हुने । माझी वा माइली औँला देखाए अश्लील हर्कतको संकेत हुन्छ । यति गदास् त लुगै फुकाले बराबर हुने भयो ।
नौसिखिया युट्युबर : उसो भा हामीले कसरी ‘कण्टेण्ट क्रिएट’ गर्ने ? हामी कण्टेण्ट क्रिएटरको पेशा कसरी जोगाउने ?
युट्युबसिं फत्ते : तिमेर्लाई थाहा छ कण्टेण्ट क्रिएटर भनेको के हो ? नेपालीमा कटेण्ट क्रिएटर भनेको सामग्री सिर्जनाकर्ता हो । तिमेरुसँग सामग्री सिर्जना गर्ने क्षमता नै छैन । क्षमता भएको भए यहाँ हुल हुज्जत गर्न आउने नै थिएनौँ । भूत्राको कण्टेण्ट क्रिएटर ? को कतिखेर आउँछ र कस्को हुर्मत लिन पाइन्छ भन्ने तिमेर्काे दाउ हुन्छ । कसैले बोलेनन्, अनुहार पनि देखाएनन् भने तिमेर्काे चुल्हो पनि बल्दैन । तिमेरु त ‘थोपडाग्राफर’ र बोलेका कुरा पेस्ट गर्ने ‘फोटोकपी मास्टर’ हउ । आजलाई यतिनै । चुरेरो !




