एजेन्सी ।
सुप्रशिद्ध भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।
प्रसिद्ध भारतीय पाश्र्वगायिका भोसलेको ९२ वर्षको उमेरमा निधन भएको हो । मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् ।
हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार भोसलेलाई अस्पताल भर्ना गरिएकोमा आइतबार उनको निधन भएको बताइएको छ । बाल्यकालदेखि संगीत यात्रा थालेकी भोसले भारतीय संगीत जगतकी एक अद्वितीय स्वरकी धनी थिइन् ।
उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता थिए । परिवारमा संगीतको वातावरण भएकै कारण उनी र उनकी दिदी लता मंगेशकर दुवै सानैदेखि गायनमा लागेका थिए ।
उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ ।
भोसलेले नेपाली गीत संगीतमा पनि अमिट छाप बनाएकी छन् । उनले गाएका गैरीखेतको सिरै हान्यो, म प्यार बेचिदिन्छु, यति धेरै माया दियौ, एउटा मान्छे मन पर्छ, कोपिलामा रंग चढ्यो, झरी बनी आएछ सावन, मोहनी लाग्ला है जस्ता गीत नेपाली सांगितिक आकासका सदाबहार गीत रहेका छन् ।
