आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:५९ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

सुकुम्बासीको प्रश्न: कुकुर र चराले पनि सन्तान जोगाउँछन्, हामीमाथि किन यस्तो व्यवहार — बालेन?

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाले आफूहरूमाथि अमानवीय व्यवहार नगर्न सरकारसँग आग्रह गरेका छन्। बस्ती खाली गराउन सरकारले शुक्रबार एक दिनको मात्रै समय दिएपछि उनीहरूले सञ्चारकर्मीसँग पीडा व्यक्त गरेका हुन्।

एक महिलाले भनिन्, “पहिले वैकल्पिक व्यवस्था गरेर हटाएको भए हुन्थ्यो। कुकुर–चराले पनि आफ्नो बच्चाको व्यवस्था गर्छन्, हामी त मान्छे हौँ। हामी रहरले यहाँ बसेका होइनौँ। बालेन धनीको मात्र हो कि गरिबको पनि हो?”

अर्की महिलाले वैकल्पिक व्यवस्था नभएको अवस्थामा आफूहरू बाध्य भएर बस्नुपरेको बताउँदै, “यस्तो पीडा दिनुभन्दा डोजर लगाएर मारिदिए हुन्थ्यो,” भन्दै आक्रोश पोखिन्। उनले आफू र आफ्ना बच्चाहरू तनावमा रहेको र खानासमेत खान नसकेको बताइन्।

सरिता राई नाम गरेकी अर्की बासिन्दाले लामो समयदेखि बसोबास गर्दै आए पनि सरकारले उचित व्यवस्था नगरेको गुनासो गरिन्। ५८ सालदेखि बस्दै आएको स्थानबाट विकल्पबिना हटाउँदा आफूहरू थप पीडामा परेको उनको भनाइ छ।

सरकारले थापाथली, सिनामंगल, शंखमूल र टेकुका बस्ती खाली गर्न निर्देशन दिएपछि केही सुकुम्बासी वैकल्पिक बसोबास खोजिरहेका छन् भने केही विरोधमा उत्रिएका छन्।

सरकारले भने अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेर वास्तविक सुकुम्बासी पहिचानपछि नागार्जुनस्थित अपार्टमेन्टमा स्थानान्तरण गर्ने तयारी गरेको जनाएको छ। उक्त अपार्टमेन्ट २०६९ सालमै सुकुम्बासीका लागि बनाइएको भए पनि अघिल्ला सरकारहरूले कार्यान्वयन गर्न सकेका थिएनन्।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *