काठमाडौं ।
विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूबाट स्वतन्त्र विद्यार्थी युनियनलगायत संगठन खारेज गर्ने बालेन सरकारको निर्णयविरुद्ध व्यापक असन्तुष्टि चुलिएको छ ।
सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी संगठन र कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशन २४ घण्टा बित्न नपाउँदै त्यसको राजधानीमा विरोध भएको हो ।
सिंहदरबारमा विश्वविद्यालयका उपकुलपतिहरु जम्मा पारेर बालेनले दिएको निर्देशनविरुद्ध साँझ नै विद्यार्थी संगठनहरुले राँकेजुलुश निकालेर विरोधमा उत्रिए ।
राजधानीको सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीले सरकारी कदमलाई चुनौती दिए । सयुक्त विद्यार्थी संगठनको आयोजनामा मूल्य वृद्धि र विद्यार्थी संगठन खारेजी निर्णयविरुद्ध नेपाली कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सरस्वती क्याम्पस इकाइ कमिटी अध्यक्ष राजेश बाबु बगालेको नेतृत्वमा मशाल जुलुस निकालेका थिए ।
बालेन निर्देशनविरुद्ध विद्यार्थीले निकालेको राँकेजुलुसमा ब्यापक प्रहरी धरपकड भएको थियो ।
सरस्वती क्याम्पसबाट सुरुभएको राँकेजुलुश नाराबाजीसहित अमृत साइन्स क्याम्पस पुगेको थियो । उनीहरुले विद्यार्र्थी संगठन खारेज निर्णय फिर्ता गर, संयुक्त विद्यार्थी संगठन जिन्दावाद, पेट्रोलियम मूल्यवृद्धि फिर्ता गरलगायत नारा लगाएका थिए ।
