प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको लागि सत्तापक्षका प्रमुख सचेतक र विपक्षी दलहरूका प्रमुख सचेतकबीच छलफल भएको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीसँग विपक्षी दलका प्रमुख सचेतकहरूको छलफल भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
‘छलफलमा हामीले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो विवादास्पद अभिव्यक्ति संसदमा आएर सच्याउनुपर्छ र पुरानो भनाइलाई रेकर्डबाट हटाउनपर्छ भनेका छौँ । यो गम्भीर विषय हो । राजनीतिक पार्टीको विषय होइन,’ दुलालले भने ।
प्रधानमन्त्री भनाइ संसदको रेकर्डबाट हटाउँदा र प्रधानमन्त्री शाहले गल्ती स्वीकारे समस्याको समाधान हुने नत्र बैठक चल्न नदिने अडानमा आफूहरू दृढ रहेको उनले बताए । विपक्षी दलका प्रमुख सचेतकसँग भेट गरेपछि रास्वपाका प्रमुख सचेतक बुर्लाकोटी सभामुख डीपी अर्याल भेट्न पुगेका छन् ।




