सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । सम्पत्ति शुद्धीकरणको मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो प्रकरणमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति लिइसकेको छ ।
तर, निवेदक पक्षले भने अन्य अपराधमा अनुसन्धान नभएको अवस्थामा सम्पत्ति शुद्धीकरणको मात्र कसुर हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको तर्क गर्दै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएकोमा कानुनी प्रश्न उठाएका रिट दायर गरेका थिए ।




