झापा । उमेर पुगेका नागरिकलाई होटलमा बस्न कुनै रोकतोक नरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी हरिबहादुर बस्नेतले बताएका छन् ।
आज दमक उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कानुनले निषेध नगरेसम्म होटल व्यवसाय सञ्चालन र सेवाग्राहीको आवतजावतमा अनावश्यक अवरोध नहुने स्पष्ट पारे ।
डिएसपी बस्नेतले होटल व्यवसायलाई व्यवस्थित, सुरक्षित र कानुनी दायराभित्र सञ्चालन गर्न व्यवसायी र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले शान्ति सुरक्षा कायम गर्दै व्यवसायमैत्री वातावरण निर्माणमा प्रहरी प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा व्यवसायीहरूले दमक क्षेत्रको सुरक्षा अवस्था, होटल व्यवसाय र बजार व्यवस्थापन सम्बन्धी विभिन्न विषय उठाएका थिए ।




