आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:५९ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

यूएई जाने नेपालीको राहदानी केरमेट गर्ने कर्मचारीलाई कारबाही गर्न छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौं । अध्यागमन विभागले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा केरमेट गर्ने कर्मचारीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ। यूएई जान‍े नेपालीको राहदानीमा  प्रस्थान छापसँगै हस्तलिखित रूपमा Employment is strictly prohibited. Visit till र not allowed to work UAE लगायतका शब्द कर्मचारीले लेख्न थालेपछि यात्रुहरुले गुनासो एवम् विरोध गरेका हुन्। राहदानीमा हस्तलिखित /केरमेटको विषयलाई लिएर दबाब बढेपछि आज आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाइएको विभागले विज्ञप्तिमार्फत जनाएको हो।  

‘संयुक्त अरब ईमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै “Employment is strictly prohibited. Visit till १०/६/२०२६” लेखेको भनि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार एवं टिप्पणीप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विभागका निर्देशक / प्रवक्ता टीकाराम ढकालले जारी गरेको सूचनामा भनिएको छ, ‘आजको दिनमा धेरै नेपालीहरुको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता समेत भएको यथार्थ हामी सबैलाई अवगत नै छ । नागरिकको यही बाध्यतालाई भजाएर विभिन्न तहमा हुने गरेका ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ।’ 

अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकारले भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सरलीकृत र व्यवस्थित मापदण्ड बनाइएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न नेपाल सरकारको मिति २०८२ कार्तिक १३ को निर्णयानुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाईटिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको छ।’

विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा समेत काम गरिरहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ।’

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *