काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढाउन माग गरेका छन्। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई चुस्त र प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरे।
बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पूर्वनिर्धारित कार्यतालिका बमोजिम नै उजुरीकर्ताहरूसँगको छलफल र प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना सुन्ने कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए। उजुरीकर्ताहरूलाई पालैपालो बोलाएर छलफल गर्ने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना समेत सुन्नुपर्ने उनको प्रस्ताव थियो।
समितिमा प्राप्त कतिपय उजुरीहरूमा गम्भीर त्रुटि रहेको औँल्याउँदै उनले ती विषयमा छलफलकै क्रममा स्पष्ट हुनुपर्ने धारणा राखे। सुनुवाइको नतिजा पहिले नै सुनिश्चित (फिक्स) भइसकेको छ भन्ने खालका टिप्पणीहरूको खण्डन गर्दै उनले वस्तुनिष्ठ छलफलका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्ने बताए। “हामी सबैको समय व्यस्त छ, त्यसैले समयको सदुपयोग गर्दै आजै उजुरीकर्ताहरूसँगको छलफल र कार्ययोजना सुन्ने काम अगाडि बढाऔँ,” बुर्लाकोटीले भने, “यदि आजै निर्णयमा पुग्न नसकिएमा मात्र थप समयका बारेमा सल्लाह गर्न सकिन्छ, तर प्रक्रियालाई भने नरोकाौँ।”
रास्वपा सांसद डा. लेखजंग थापाले प्रस्तावित पदाधिकारीहरूको कार्ययोजना कागजमा मात्रै सीमित नभई त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिए। प्रस्तावित ६३ पृष्ठ लामो कार्ययोजनामा समेटिएका मुद्दा फर्स्यौटमा तीव्रता, डिजिटलाइजेसनको प्रयोग र न्यायिक कार्यसम्पादनको गुणस्तर सुधार जस्ता पक्षहरू सकारात्मक रहेको उनको भनाइ थियो।
न्यायिक क्षेत्रमा गतिशीलता र संयमताको सन्तुलन आवश्यक रहेको औँल्याउँदै थापाले युवा पुस्तामा छिटो काम गर्ने हुटहुटी भए पनि निर्णय प्रक्रियामा परिपक्वता जरुरी रहेको उल्लेख गरे। उनले समितिलाई दलीय घेराभन्दा माथि उठेर वस्तुनिष्ठ निर्णय लिन आग्रह गर्दै आगामी दिनमा प्रस्तावित उम्मेदवारहरूको कार्ययोजना कम्तीमा एक दिन अगाडि उपलब्ध गराउन माग गरे। “कार्ययोजनामा उल्लेख गरिएका बुँदाहरू निकै राम्रा छन्, तर कार्यान्वयनको पक्षलाई हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ,” उनले भने।
त्यसैगरी, रास्वपा सांसद राजीव खत्रीले संसदीय सुनुवाइ समितिको कार्यसम्पादनलाई ‘फास्ट ट्रयाक’ मा लैजानुपर्ने धारणा राखे। उजुरीकर्ताहरूसँग प्रत्यक्ष छलफल र प्रतिप्रश्न (क्रस कोइसन) गर्दा विषयवस्तुको गहिराइमा पुग्न सहज हुने र समयको पनि बचत हुने उनको तर्क थियो।
संसद्को अधिवेशन पनि जारी रहेको अवस्थामा समितिको कार्यबोझलाई मध्यनजर गर्दै उनले थप सक्रियताका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए। “हामीसँग एकातिर संसद्को अधिवेशन चलिरहेको छ भने अर्कोतिर समितिको काम पनि उत्तिकै महत्त्वपूर्ण छ,” सांसद खत्रीले भने, “यस्तो अवस्थामा हामीले २४ घण्टालाई ३६ घण्टा बराबरको रफ्तारमा बदलेर काम गर्नुपर्ने चुनौती छ।” सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच कामको गतिलाई लिएर फरक-फरक दृष्टिकोण देखिए पनि मुख्य उद्देश्य कार्यलाई समयमै सम्पन्न गर्नु नै हुनुपर्नेमा उनले जोड दिए।




