आजको मिति: बिहिबार, जेठ १४, २०८३
१२:३६ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
फिलिपिन्सका फाइटरलाई हराउँदै रवीन्द्र ढाँट सेमिफाइनलमा|साढे ३ लाख तलब दिने गरी इजरायलले माग्यो २३ सय नेपाली, कसरी हुन्छ छनोट ?|आयोगको प्रतिवेदनपछि कांग्रेसले भन्यो -‘दोषी सांसद र अधिकारीमाथि विनापक्षपात कारबाही गरियोस्’|नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस|इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल सेमिफाइनलमा|कस्तो आउला दुई तिहाई नजिकको सरकारको बजेट ?|आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शङ्का बलियो बनायो : कांग्रेस|पार्टी परिवर्तन गरेपछि दुई वडाध्यक्षको पद खोसियो|जेन–जी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनमा कांग्रेसको धारणा सार्वजनिक|सुनचाँदीको भाउमा भारी गिरावट|

साढे ३ लाख तलब दिने गरी इजरायलले माग्यो २३ सय नेपाली, कसरी हुन्छ छनोट ?

Infinite Scroll Ad

नेपालीहरूका लागि इजरायल रोजगारी खुला भएको छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत नै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २३ सय जना नेपाली श्रमिकको माग भएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) का लागि केयर गिभर अर्थात् सहायक श्रमिक माग भएको हो । योग्यता पुगेकाहरूले १३ जेठदेखि ७ असारसम्म आवेदन दिन पाउनेछन्, जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् । 

छनोट भएका मध्ये पहिलो चरणमा १ हजार जनालाई तत्काल रोजगार प्रक्रियामा समावेश गराइने र बाँकी १३ सय जनालाई भने पहिलो चरणको प्रक्रिया पूरा भएपछि इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) को आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गरिने विभागले उल्लेख गरेको छ ।

Sidebar Premium Ad

योग्यता पुगेकाहरूमध्ये अन्तिम छनोट भने लक्की ड्रबाट हुनेछ । लक्की ड्रमार्फत छनोट नभएकाहरूलाई इजरायलले रोजगार प्रक्रियामा समावेश गराइने छैन । विभागका अनुसार नेपाल र इजरायलबीच भएको श्रम सम्झौतामा नै लक्की ड्रमार्फत छनोट नभएकालाई रोजगार प्रक्रियामा समावेश गराउन इजरायल बाध्य नहुने व्यवस्था छ । 

योपटक केयरगिभरको रूपमा इजरायल जानका लागि हिब्रु भाषा अनिवार्य गरिएको छैन । तर, अङ्ग्रेजी भाषा भने जानेको र इजरायल सरकारले तोकेको मापदण्ड अंग्रेजी भाषा परीक्षणमा भने पास हुनुपर्छ । केयर गिभरको काममा जानेले गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहार गर्नुपर्ने हुन्छ ।

मासिक तलब साढे ३ लाख 

Sidebar Premium Ad

केयर गिभरको काममा छनोट भएर इजरायल रोजगारीमा जान सफल हुनेले मासिक तलब ६४४३.८५ इजरायली मुद्रा अर्थात् झण्डै साढे ३ लाख रुपैयाँ पाउनेछन् । इजरायली सरकारको नियमानुसार ओभर टाइम पनि पाइन्छ । काम भने हप्तामा ६ दिन मात्रै गर्नुपर्छ । अतिरिक्त समयबाहेक हप्तामा ४२ घण्टा मात्रै काम गर्नुपर्छ ।

इजरायली कानुनअनुसार वार्षिक बिदा पनि पाइन्छ । तर, खाने र बस्ने खर्च भने व्यक्ति स्वयम्‌ले नै व्यहोर्नुपर्नेछ । आवासको प्रबन्ध रोजगारदाताले गर्नेछन् तर खर्च भने आफैँले तिर्नुपर्छ ।

सुरुमा करार अवधि एक वर्षको हुनेछ । तर, करार अवधि थप गर्न सकिने सुविधा भने छ । यदि करार अवधि थप भयो भने यसरी जाने कामदारले पाँच वर्षसम्म इजरायलमा काम गर्न पाउनेछन् ।

Above Content Ad
Header Top Ad

क–कसले आवेदन दिन पाउँछन् ?

केयर गिभरको काममा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । उचाइ कम्तीमा पनि १.५ मिटर अर्थात् ४.९ फिट र तौल ४५ किलोभन्दा कम हुनु हुँदैन । शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको भए पनि हुन्छ । 

अथवा, प्लस टु वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिमप्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको भए पनि हुन्छ । तर, याद गर्नुपर्ने कुरा के हो भने, पहिले नै इजरायल गई काम गरेको र बाबु, आमा, पति, पत्नी र छोराछोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्छ । यदि त्यस्तो भएमा आवेदन दिन पाइँदैन ।

शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको, कुनै पनि प्रकारका जीर्ण रोगहरू जस्तै; क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया र एड्स लागेको हुनु हुँदैन भने कुनै पनि दुर्व्यसनमा लागेको हुनु हुँदैन ।

गह्रौँ सामान उचाल्न सक्नेलगायत स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न सामर्थ्य भएको हुनुपर्छ । आवेदन दिँदा पासपोर्टको म्याद कम्तीमा पनि ३ वर्ष बाँकी रहेको हुनुपर्छ ।

अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्रको रूपमा इजरायलको बीआईबीएले तोकेको CIIN international qualifications pvt ltd त्रिपुरेश्वर काठमाडौंबाट लिइएको क्याम्ब्रिज अपस्किल इङ्लिस टेस्ट क्याम्ब्रिज युनिर्भसिटी प्रेस एन्ड असिस्टेन्टको कम्तीमा रिडिङ  ए २, राइटिङ ए १, लिस्टनिङ ए २ र स्पिकिङ बी १ भएको प्रमाणपत्र आवश्यक पर्छ । यो प्रमाणपत्र आवेदन दिँदा नै पेस गर्नुपर्छ । नत्र दरखास्त स्वीकृत हुँदैन ।

पूर्वसर्त के हुन् ?

इजरायल जानका लागि छनोट भएका व्यक्तिहरूले केही पूर्वसर्त पनि पूरा गर्नुपर्ने विभागले जनाएको छ । आवश्यक परेमा इजरायल जानुअघि ७२ घण्टाअगाडि आफ्नै खर्चमा कोभिडको परीक्षण गराएर संक्रमण नभएको पुष्टि गर्नुपर्ने हुन्छ । यसका साथै इजरायल प्रवेश गरेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले तोकेअनुसार आवश्यक खोप लिनुपर्ने र खोप लिन अस्वीकार गर्न नपाइने पनि पूर्वसर्त छ ।

त्यस्तै, वैदेशिक रोजगार विभागले तोकेबमोजिमको समयमा इजरायल सरकारले तोकेको ढाँचामा द्विपक्षीय श्रम सम्झौताअनुसार सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराएको प्रमाणपत्र पेस गर्नुपर्छ । यहाँबाट केयर गिभरको काममा भनेर गएपछि सम्झौतामा उल्लेख भएका बाहेकका अन्य क्षेत्रमा काम गर्न पाइने छैन ।

आवेदन दिने प्रक्रिया

यी योग्यता पूरा भएकाले वैदेशिक रोजगार विभागको वेबसाइट https://ferms.dofe.gov.np मा गई अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । अनलाइन फारम के कसरी भर्ने भन्ने सम्पूर्ण जानकारी विभागको वेबसाइटमै उपलब्ध छ । 

आवेदन स्वीकृत भएपछि तपाईंले राख्नुभएको मोबाइल नम्बर वा इमेलमा नै आवेदन स्वीकृत वा अस्वीकृत भएको अथवा थप कागजात आवश्यक भएमा सोसम्बन्धी थप जानकारी आउनेछ । त्यसैले आवेदन दिँदा मोबाइल नम्बर र इमेल भने आधिकारिक प्रयोग गर्नुपर्छ ।

आवेदन दिँदा पासपोर्ट र वैध प्रहरी चारित्रिक प्रमाणपत्र स्क्यान गरी कपीसमेत अपलोड गर्नुपर्छ । उम्मेदवारले स्वयम् घोषणा गरेको उचाइ र तौल तोकिएको भन्दा कम भएमा पनि रोस्टरबाट नाम हट्ने विभागले जनाएको छ ।

कसरी हुन्छ छनोट ?

आवेदन दिएकाहरूको पहिलो चरणमा विभागको एफईआरएमएस प्रणालीबाट स्वीकृत भएका उम्मेदवारहरूको सूची तयार हुन्छ । छनोट समितले योग्य उम्मेदवारहरूको सूचीको अन्तिम रोस्टर तयार पारी इजरायलको बीआईबीएलाई जाँचबुझका लागि पठाउँछ ।

बीआईबीएको जाँचबुझमा सफल भएका उम्मेदवारहरूको सूची आएपछि विभागले आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गर्छ । त्यसपछि बीआईबीएले नै उसको आफ्नो नियमअनुसार अन्तिम रोस्टरमा भएका उम्मेदवारहरूबाट लक्की ड्र प्रक्रियामार्फत आवश्यक कामदार छनोट गर्ने विभागले जनाएको छ ।

छनोट भएकाहरूमध्ये पहिलो चरणमा एक हजार जनालाई जतिसक्दो छिटो पठाउने र बाँकीलाई पनि पहिलो चरणको प्रक्रिया पूरा भएपश्चात् पीआईबीएको आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गराइन्छ । 

रिजर्भ पोलमा राखिएका उम्मेदवारहरूलाई बीआईबीएको आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गराउने गरिन्छ ।

कति लाग्छ खर्च ?

दुई देशबीच भएको सम्झौताअनुसार सरकारी प्रक्रियामार्फत नै श्रमिक पठाउने भएकाले हवाई भाडा, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षण, बीमा र सामाजिक सुरक्षा कोषबापतको रकम श्रमिकले नै तिर्नुपर्छ । 

हवाई भाडा श्रमिक उड्ने समयको प्रचलित बजारदर अनुसार लाग्छ । 

स्वास्थ्य बीमा उमेरअनुसार ३ हजार ७०८ देखि ४ हजार ९३१ रुपैयाँसम्म पर्छ भने पूर्वप्रस्थान अभिमुखीकरण तालिमको ७ सय रुपैयाँ तिर्नुपर्छ । तर, महिलाको हकमा भने ७ सय रुपैयाँ तिर्न पर्दैन । निःशुल्क हुन्छ । 

स्वास्थ्य परीक्षणको शुल्क करिब ९ हजार ५ सय रुपैयाँ पर्छ । तर, समयअनुसार तलमाथि हुन पनि सक्ने विभागले जनाएको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषमा १५ सय रुपैयाँ जम्मा गर्नुपर्छ भने सामाजिक सुरक्षा कोषमा २ हजार ३०८ रुपैयाँ जम्मा गर्नुपर्छ । यसबाहेक यदि उडान हुनुभन्दा अघि कोरोना परीक्षण गर्नुपर्‍यो भने त्यसको पनि शुल्क व्यक्ति स्वयम्‌ले नै तिर्नुपर्छ ।

इजरायल कति सुरक्षित ?

सरकारले नेपाली श्रमिक पठाउनका लागि आवेदन माग गरे पनि त्यहाँको पछिल्लो अवस्था मूल्यांकन गरेर मात्रै पठाउनुपर्ने श्रम तथा आप्रवासन विज्ञहरूको भनाइ छ । 

आप्रवासनविज्ञ डा. जीवन बानियाँ भन्छन्, ‘इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य हो तर पश्चिम एसिया र इजरायलमै रहेका नेपाली दूतावासहरूले त्यहाँको पछिल्लो सुरक्षा अवस्था मूल्यांकन गरेर अहिले त्यहाँ श्रमिक पठाउन ठीक हो कि होइन भन्ने सिफारिस गर्नुपर्छ ।’

त्यसका साथै अब इजरायल जाने श्रमिकलाई युद्धको समयमा त्यहाँको अलर्ट सिस्टम, बंकरको व्यवस्था, बंकरमा बस्दा अपनाउनुपर्ने सावधानीलगायतका बारेमा सूसूचित गरेर मात्रै पठाउनुपर्ने उनको भनाइ छ । 

‘अमेरिका–इजरायल र इरानबीचको युद्ध केही मत्थरजस्तो देखिए पनि जुनसुकै बेला मिसाइलहरू आउन सक्ने भएकाले सरकारले अब त्यहाँ जाने श्रमिकलाई यस्ता विषयमा जानकारी गराउनुपर्छ,’ उनी सरकारलाई सुझाव दिँदै भन्छन्, ‘नेपालस्थित इजरायली दूतावाससँग त त्यो हिसाबको अनुभव पनि छ, उहाँहरूसँग समन्वय गरेर पूर्वप्रस्थान अभिमुखीकरणका बेला नै यो जानकारी दिन आवश्यक छ ।’

यसका साथै प्रत्येक समय जोखिममा हुने श्रमिकहरूको पछिल्लो जानकारी राख्ने थालनी दूतावासमार्फत हुनुपर्ने उनको भनाइ छ । दुई देशबीचको सम्झौताअनुसार श्रमिक जाने र संख्या पनि निश्चित भएकाले यो कुरा सम्भव पनि छ ।

आप्रवासनविज्ञ डा. बानियाँ भन्छन्, ‘कुन श्रमिक कुन रोजगारदाताकोमा कस्तो अवस्थामा छ भनेर दूतावासले नै पनि फोन गरेर भए पनि जानकारी लिने र त्यो जानकारी परिवारसम्म आइपुग्ने व्यवस्था हुनुपर्छ ।’

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *