आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल नियम बोर्डले खेलको गति बढाउने र समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यसहित नयाँ नियमहरू लागू गरेका छन्।
पछिल्ला अन्तर्राष्ट्रिय खेलहरूमा देखिएको अनावश्यक ढिलाइ, नाटकीय रूपमा समय बर्बाद गर्ने रणनीति र खेलको गति घटाउने प्रवृत्तिलाई रोक्न यी नियमहरू ल्याइएको हो। विश्वकप २०२६ देखि नै पूर्ण रूपमा लागू हुने ती मुख्य परिवर्तनहरू यस प्रकार छन्:
थ्रो–इन र गोल–किकमा ५ सेकेन्डको नियम
खेलमा अब सबैभन्दा चर्चित परिवर्तनमध्ये एक ५ सेकेन्डको नियम हुनेछ। जसअनुसार थ्रो–इन र गोल–किक गर्दा खेलाडीले अनावश्यक ढिलाइ गरेमा रेफ्रीले स्पष्ट रूपमा ५ सेकेन्डको काउन्टडाउन गर्नेछन्। निर्धारित समयभित्र पुनः खेल सुरु नगरेमा थ्रो–इनको हकमा विपक्षी टोलीलाई बल दिइनेछ भने गोल–किकमा ढिलाइ भए विपक्षी टोलीलाई कर्नर किक प्रदान गरिनेछ। यसले खेलको गतिलाई तीव्र बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
१० सेकेन्डभित्र मैदान छोड्नुपर्ने
प्रतिस्थापन (सब्स्टिच्युसन) प्रक्रियालाई पनि निकै कडा बनाइएको छ। अब मैदान छोड्ने खेलाडीले १० सेकेन्डभित्र मैदान बाहिर निस्कनुपर्नेछ। यदि खेलाडीले तोकिएको समयभित्र मैदान नछाडेर ढिलाइ गरेमा नयाँ खेलाडी तुरुन्त मैदान प्रवेश गर्न पाउने छैन र सम्बन्धित टोलीले सजाय स्वरूप करिब १ मिनेटसम्म १० खेलाडीमा मात्रै सीमित भएर खेल्नुपर्नेछ।
चोटपटक र उपचारका नाममा हुने ढिलाइमा अंकुश
चोटपटक वा उपचारका क्रममा हुने समय बर्बादीलाई नियन्त्रण गर्न नयाँ व्यवस्था गरिएको छ। मेडिकल स्टाफलाई बोलाएर मैदानभित्र उपचार गरिएका खेलाडीले खेल पुनः सुरु भएपछि कम्तीमा ६० सेकेन्डसम्म मैदान बाहिरै बस्नुपर्नेछ। यस नियमको मुख्य उद्देश्य नाटकीय रूपमा चोट लागेको अभिनय गरेर खेल रोक्ने प्रवृत्तिको अन्त्य गर्नु हो।
अनुशासन र कार्डसम्बन्धी कडा प्रावधान
अनुशासनको सवालमा फिफाले यस पटक निकै कडा कदम चालेको छ। अब खेलाडीहरूले विवादका क्रममा हात वा जर्सीले मुख छोपेर रेफ्रीसँग बहस गरेमा सिधै रातो कार्ड (रेड कार्ड) देखाइनेछ। त्यस्तै, रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मैदान छाड्ने वा अन्य खेलाडीलाई उक्साउने खेलाडी तथा अफिसियलहरूलाई पनि कडा कारबाही हुने व्यवस्था गरिएको छ।
भिएआरको अधिकार क्षेत्र विस्तार
खेललाई अझ पारदर्शी बनाउन भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को अधिकार पनि थप विस्तार गरिएको छ। अब भिएआरले गलत तरिकाले दिइएका कर्नर किक, दोस्रो पहेँलो कार्डसम्बन्धी निर्णय तथा रेफ्रीबाट भएका केही स्पष्ट त्रुटिहरूको समेत समीक्षा गर्न सक्नेछ। यी नयाँ नियमहरूले फुटबल खेलको निर्णय प्रक्रियालाई अझ पारदर्शी, निष्पक्ष र दर्शकका लागि रोचक बनाउने विश्वास फिफाले लिएको छ।




