दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा चुडामणी पाठक (विवेक) निर्वाचित भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न प्रथम जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा ५३ मत प्राप्त गर्दै पाठक विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एवं पार्टीका संस्थापक सभापति भेषराज भट्टराईलेले ५१ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी धीरज न्यौपानेले २९ मत ल्याए । अधिवेशनबाट उपसभापति पदमा भने चिरन न्यौपाने निर्विरोध चयन भएका छन् ।
कार्यसमितिका अन्य पदाधिकारीहरू भने जिल्ला समितिको समन्वयमा पछि चयन गरिने रास्वपाले जनाएको छ ।
अन्य क्षेत्रमा को–को चुनिए ?
जिल्ला अधिवेशनमार्फत झापाका अन्य निर्वाचन क्षेत्रहरूले पनि नयाँ क्षेत्रीय नेतृत्व पाएका छन् । निर्वाचन समितिका अनुसार क्षेत्र नम्बर २ बाट गोपाल कटुवाल र क्षेत्र नम्बर ४ बाट लीलामाया बस्नेत निर्विरोध सभापति निर्वाचित भएका छन् । यसैगरी, क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम र क्षेत्र नम्बर ३ को सभापतिमा कमल बानियाँ निर्वाचनमार्फत चुनिएका छन् ।




