श्रम संस्कृति पार्टीको संसदीय दलका नेता हर्कराज राईले सभामुखसमक्ष प्रधामनमन्त्रीलाई ल्याउने र आफूलाई सदनबाट निकाल्ने विकल्पमा जान सुझाएका छन् ।
बुधबार संसद सुरु हुनेबित्तिकै राईले संसदमा प्रधानमन्त्रीलाई ल्याउने सभामुखले भूमिका नलेखेको भन्दै यस्तो आग्रह गरेका हुन् ।
‘संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन । नियम १५ को २ को अनुसार सदनमा जवाफदेही बनाएर ल्याउन सक्नु हुन्न भने नियमावलीको ३१ को १ लागू गरेर मलाई निष्कासन गरेर सदनको गरिमा बढाइदिनुहुन अनुरोध गर्छ,’ उनले भने, ‘दुईमध्ये एक लागू गरिदिनुस् । प्रधानमन्त्री ल्याउने वा मलाई निकाल्दिने गर्नुस् । नत्र संसदको गरिमा कायम हुँदैन ।’
जवाफमा सभामुख डोलप्रसाद अर्यालले मंगलबारकै बैठकमा प्रधानमन्त्रीबारे जानकारी गराइसकेको दाबी गरे ।
‘हिजो उपस्थिति हुनु हुँदैन थियो । ध्यानाकर्षण भएर हिजो नै सभालाई जानकारी गराइसकेको थिएँ,’ हर्कलाई बस्न आग्रह गर्दै सभामुखले भने, ‘कसलाई रुलिङ गर्ने कसलाई नगर्ने, यसरी गर्नुस् भनेर सभामुखलाई भन्ने अभ्यास छैन । नेपालको संविधान, कानुन, ऐन, नियमावली सबैलाई हेर्दा यो छैन । सभामुखलाई उचित लागे निर्णय लिने सभामुखको जिम्मेवारी हो ।’
सभामुखले मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई सदनमा आएर बोल्न रुलिङ गरेका थिएनन् । संसदमा आएर बोल्ने अभ्यास भएको बताएका थिए ।




