सजन राई
दमक । नेपालको खेलकुद इतिहासमा एउटा यस्तो विधा छ, जसले स्रोत र साधनको चरम अभावका बीच पनि अन्तर्राष्ट्रिय मञ्चमा सधैँ नेपालको झण्डा फहराइरहन्छ । त्यो विधा हो, मार्सल आट्र्स । त्यसको पर्याय हो— तेक्वान्दो । सन् १९८६ मा अस्ट्रेलियामा सम्पन्न सातौँ एसियन तेक्वान्दो च्याम्पियनसिपमा मोहन राईले कास्य पदक जितेर सुरु भएको यो गौरवमय यात्रा दीपक विष्ट र सगिंना वैद्यजस्ता ‘लिजेन्ड’हरू सम्म आइपुग्दा नेपाली खेलकुदको ‘इज्जत’ धान्ने मुख्य खम्बा बनेको छ । अन्य खेलहरूमा पदकको खडेरी लागिरहँदा तेक्वान्दोले भने नेपाललाई विश्व मानचित्रमा पटक–पटक ‘अब्बल’ प्रमाणित गरिरहेको छ ।
तर, राजधानी काठमाडौँका झल्झलाउँदा कभर्ड हल र अन्तर्राष्ट्रिय मञ्चमा देखिने यो पदकको चमक पछाडि मोफसलका खेलाडीहरूले कस्तो मूल्य चुकाइरहेका छन् ? झापाको दमकलाई केन्द्र बनाएर हेर्ने हो भने, यहाँको तेक्वान्दोको कथा सफलताको भन्दा बढी संघर्ष, सरकारी उपेक्षा र खेलाडीको विवशताको देखिन्छ ।
झापामा तेक्वान्दोको जग बसाल्नु आफैँमा एउटा ठूलो युद्ध जित्नु सरह थियो । झापा जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा मुख्य प्रशिक्षक नवीन तामाङ ती दिनहरू सम्झिँदा आज पनि भावुक बन्छन् । २०६१ साल वैशाखमा जब उनले झापामा तेक्वान्दो दर्ता गरे, उनी आफैँ कराँतेमा स्थापित नाम थिए । एउटा स्थापित खेलबाट अर्को नयाँ विधामा प्रवेश गर्दा उनले जुन प्रशासनिक र सामाजिक अवरोध झेल्नुपर्यो, त्यो कुनै कथाभन्दा कम छैन । ‘म कराँतेमा स्थापित हुँदै गर्दा नयाँ खेलका रूपमा विकास हुँदै गरेको तेक्वान्दोमा जानु उत्तिकै चुनौतीपूर्ण थियो,’ तामाङ सम्झिन्छन्, ‘मैले तेक्वान्दो सुरु गर्दा कराँतेले मलाई कारबाही गरेको, लाइसेन्स खोसेको जस्ता समाचारहरू पत्रपत्रिकाको हेडलाइन बनेका थिए ।’
तर, उनको त्यो ‘विद्रोह’ र अठोटको परिणाम आज झापामा तेक्वान्दोप्रतिको आकर्षणमा देखिन्छ । हिजो वास्ता नगरिने यो खेलले आज राष्ट्रिय र अन्तर्राष्ट्रिय पदकहरू भित्र्याएर सबैको मुख थुनिदिएको छ ।
हालै काठमाडौँमा सम्पन्न २५औँ आइटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दमक डोजाङले ११ जना खेलाडीको छनोट भएकामध्ये १ रजत र ७ कास्य पदक जितेर झापाको साख जोगाएको छ ।
खेलमा दमक अब्बल छ । तर, विडम्बना ! पदक दिलाउने खेलाडीहरू आज पनि दमक–७ स्थित पशुहाटको खुला चौरमा तालिम लिन बाध्य छन् । तेक्वान्दो एउटा ‘इन्डोर’ (कभर्ड हलभित्र खेलिने) खेल होल । तर, झापामा यसका लागि एउटा गतिलो कभर्ड हलसमेत छैन । खेलाडीहरूले हिलो, धुलो र पशुको दिसा–पिसाबले दुर्गन्धित ठाउँमा म्याट ओछ्याएर पसिना बगाउनुपर्छ । ‘बुधबार पशु बजार लाग्छ, त्यो दिन हामीले ट्रेनिङ नै बन्द गर्नुपर्छ,’ मुख्य प्रशिक्षक तामाङले भने, ‘हावाहुरी चल्दा वा पानी पर्दा सबै सामग्री समेटेर भाग्नुपर्ने अवस्था छ । संरचनाको कुरै छाडौँ, सरकारले खेल गराउन अनुमति दिएजस्तो मात्र गर्छ, तर बजेट यति न्यून हुन्छ कि एउटा गतिलो प्रतियोगिता गर्न पनि सम्भव छैन ।’
दमकमा फुटबलका लागि वर्षमा ८–९ वटा ठूला प्रतियोगिता र करोडौँका गोल्डकप हुन्छन् । तर, देशलाई वास्तविक पदक दिलाउने तेक्वान्दोलाई किन सधैँ सौतेनी व्यवहार गरिन्छ ? यो प्रश्नले स्थानीय खेलप्रेमीहरूलाई सधैँ पोल्ने गरेको छ । ‘राजनीतिक पहुँच नहुँदा हाम्रा मागहरू कतै सुनिँदैनन् । भारतको बेङ्लोरमा भएको १०औँ एसियन च्याम्पियनसिपमा रजत पदक जितेर आउँदा मलाई वडाले ५ हजार दिएर सम्मान ग¥यो,’ उनले भने, ‘तर, नगरपालिकाले हेर्छु मात्र भन्यो, आजसम्म केही गरेको छैन ।’
नेपालमा खेलकुदलाई अझै पनि केबल ‘मनोरञ्जन’ वा ‘समय बिताउने’ माध्यमका रूपमा मात्र हेरिने गरिन्छ । जबसम्म राज्यले पदक जित्ने खेलाडीको हातमा प्रमाणपत्र मात्र होइन, जीवन निर्वाह गर्ने आधार (तलब र रोजगारी) दिँदैन, तबसम्म प्रतिभाको पलायन रोकिने छैन । रोशन मगरजस्ता अन्तर्राष्ट्रिय स्वर्ण विजेताले विदेश जाने सोच बनाउनु भनेको राज्यको खेल नीति असफल हुनुको प्रमाण हो । ‘परिवार पाल्नका लागि भए पनि पलायन हुनु मेरो बाध्यता बन्दैछ । तर, जहाँ रहे पनि खेलप्रतिको लगाबका कारण माया मार्न गाह्रो हुन्छ,’ पदक विजेता खेलाडी रोशन मगर भन्छन्, ‘सकेसम्म खेललाई पनि अगाडि लाने विचार छ, तर यहाँ बाँच्ने आधार नै भएन ।’
यति धेरै बेवास्ता र अभावका बाबजुद तेक्वान्दो खेलाडी र प्रशिक्षकहरूमा एउटा सानो आशा भने अझै जीवितै छ । नयाँ बनेको सरकार स्थायी देखिएकाले खेलकुदको मर्म बुझ्नेमा उनीहरू आशावादी छन् । तेक्वान्दो केबल पदक जित्ने माध्यम मात्र होइन, यो समाज सुधारको एउटा कडी पनि हो । ‘ठूला संरचना र कभर्ड हल बन्न समय लागे पनि कम्तीमा प्रत्येक पालिका र विद्यालयहरूमा दैनिक एक घण्टा अनिवार्य प्रशिक्षणको व्यवस्था गर्न सके पुरुषहरूलाई कुलतबाट बचाउन र महिलाहरूलाई आत्मरक्षाका लागि तयार पार्न सकिन्छ,’ प्रशिक्षक तामाङ भन्छन् ।
पदक विजेता खेलाडी : जसले पैसा अभावमा खेल गुमाए
खेलाडी रोशन मगरको भोगाइ सुन्दा हामी जो कोही भावुक हुन्छौँ । रोशन ती खेलाडी हुन् जसले दक्षिण एसियाली खेलकुद (साग) मा रजत र सन् २०८० मा भारतको हैदराबादमा भएको एसियन गेममा स्वर्ण पदक जितेर नेपालको शिर उच्च बनाएका थिए । तर, विडम्बना ! हालै काठमाडौँमा सम्पन्न राष्ट्रिय खेलकुदका लागि छनोट भएर पनि उनी सहभागी हुन सकेनन् ।
उनमा खेल कौशलको कमी थिएन, बरु गोजीमा गाडी भाडासमेत थिएन । उनी त्यही कारण काठमाडौं जान सकेनन् । ‘यताउता गरेर पैसा खोजेर गेम खेल्न गयो, सधैँ व्यक्तिगत खर्च मात्र हुन्छ,’ रोशन भावुक हुँदै भन्छन्, ‘काठमाडौँमा खान–बस्न सुविधा भए पनि आउने–जाने र अन्य खर्च जुटाउन सकिनँ । कतिन्जेल ऋण खोजेर देशका लागि खेलिरहने ?’
दमक डोजाङमा प्रशिक्षकका रूपमा काम गर्दा उनले महिनाको मुस्किलले १४–१५ हजार रुपैयाँ आम्दानी गर्छन् । यो कमाइले न उनको खेलका लागि आवश्यक डाइट पुग्छ, न त परिवारको आवश्यकता नै पूरा हुन्छ । उनले प्रदेश सरकार र खेलकुद पत्रकार मञ्च झापाबाट पाएको केही सम्मान र नगद पुरस्कारले केही समय राहत त दियो, तर दीर्घकालीन भविष्य अझै अन्धकार छ । ‘नेपालमा खेलेर प्रगति गर्न सकिँदैन भनेर मेरा धेरै साथीहरू विदेश पलायन भइसके, अब मेरो पनि विकल्प छैन,’ गहभरि आँसु पार्दै उनले भने ।
