आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२.२१ प्रतिशत हो ।
कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म ४ अर्ब ४० करोड १५ लाख ४० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र ४२ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३.८७ प्रतिशत मात्र सङ्कलन भएको उनले जानकारी दिए ।
कार्यालयका तथ्यांकअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट १ अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि करबाट १ अर्ब २८ करोड ८० लाख १० हजार तथा अन्तः शुल्कबाट ४९ करोड ९७ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।




