उसले मलाई पाखुरीमा अठ्याई र तान्दै उसको कोठामा प्रवेश गराई । खै किन हो, उसले मलाई केहीक्षण आराम गर्न आग्रह गरी अनि ढोका बन्द गरेर चुक्कुल लगाई । म बाटो बिराएको यात्री झैं अक्क न बक्क उसको आग्रहलाई स्वीकार्दै सामुन्नेको बेडमा थचक्क बसेँ ।
मरुभूमि राष्ट्र दुबई, त्यसमाथि जुन–जुलाईको गर्मी, जसको कारण मेरो शरीर भित्रैदेखि थकित थियो । कृत्रिम एयर कन्डिसनर सानो कोठा– एकाएक शरीरभरी चिसो सरर … सर्दै गयो । स्फूर्ति र चङ्गापन भरिँदै गयो ।
मेरा आँखाहरू कोठाको चारैतिर सल्बलाउँछन् । केवल शून्य कोठा । गुलाबी पर्दाले छोपिएका दुई सिसाका झ्यालहरू । होचाहोचा दुईवटा बेडहरू । एकछेउमा सानो रेफ्रिजेरेटर साथमा एक सानो टि–टेवल, जसमाथि एक टिस्युपेपरको प्याकेट । अनि, विपरित दिशामा बाथरुम र ट्वाइलेट । ढोकाको कुनामा फोहोर कागज र चुरोटका ठुटाले भरिन लागेको एक पुरानो डस्टबिन । कोठाको यस्तो स्थिति देखेर मनमनै खिन्नता प्रकट गरें । तर, मलाई थाहा छ कि– केही पाउन केही गुमाउनु पर्छ र परिस्थितिको लात पनि सहनु पर्छ ।
उसले भिरिराखेको आफ्नो चिटिक्क परेको ह्याण्ड व्याग त्यही सानो टि–टेवलमाथि राखी र मतिर फर्केर मुसुक्क मुस्कुराई । उसको त्यो मुस्कानमा कुनै प्राकृतिक सजीवता झल्कन्नथ्यो । बरु, बाध्यता र विवशता प्रष्टै अनुमान गर्न सकिन्थ्यो । गहिरो पीडायुक्त मुस्कान थियो त्यो ।
हो, ऊ विवश छे । नचाहँदा नचाहँदै पनि उसले हरदिन हजारौं पटक यसरी हजारौं पुरुषहरूको सामु कृत्रिम मुस्कुराउनु पर्छ । अनि हरेक पुरुषका पौरुषता स्खलन गर्नु उसको दिनचर्या नै बनेको छ । मरन्च्याँसे, अरिमठ्ठे, भलाद्मी जस्तोसुकै अनुहार भए पनि तिनीहरूको भोक तृप्त पार्नु मानौं उसको परम कर्तव्य हो । जेहोस् जस्तोसुकै प्रहारहरू बज्रिउन्, जस्तोसुकै चोटहरू लागुन्, जस्तोसुकै पीडाहरू होउन्, ऊ सजिलै पचाइदिन्छे । उसको लागि यो सामान्य कार्य हो ।
‘तिम्रो नाम के हो ?’ म उसको नाम सोध्छु ।
‘माफ गर्नुहोला, मेरो वास्तविक नामचाहिँ बताउन सक्तिन म,’ मेरोसामु ठिङ्ग उभिएर मुस्कुराउँदै उसले भनि, ‘तर, यहाँ मलाई सबैले कारयिन भनेर चिन्छन् !’ यति भनेर उसले मलाई कपडा उतार्न आग्रह गरी र ऊ पनि नाङ्गिन सुरु गरी । म भने अब धर्मसंकटमा परिसकेको थिएँ । के गरूँ, कसो गरूँ ….. । भित्रभित्रै छट्पटिन थालेँ म । मेरो शरीर एकाएक फुलिए झैं हुन थाल्यो । मुटुको ढुकढुकी बढेर आयो । म उकुसमुकुस भएँ ।
उसलाई त के छ र … । बस् पैसाको मतलब छ । म सकेसम्म आफूलाई सम्हाल्दै कपडा नउतार्नको लागि अनुरोध गर्छु उसलाई । मेरो कुरा सुनेर ऊ तीनछक्क परी । किन ? के भयो ? त्यस्तो केही समस्या ? उसले यस्तै के–के प्रश्न गरी । सायद म जस्तो अचम्मको ग्राहक बितेका एक वर्षमा मलाईमात्र पाएकी थिइ उसले ।
‘सायद यो तपाईको पहिलो यात्रा हुनुपर्छ ।’ हुनसक्छ मेरो अनुहारमा झल्किएको संकोचित भावहरू पढेर उसले भनी, ‘त्यस्तो केही डर मान्नु पर्दैन ! म तपाईलाई सक्तो सहयोग गर्नेछु ।’ मैले पुनः मेरो आग्रहलाई स्वीकार्न बिन्ति गरेँ । उसकोसामु म, नामर्द नै सावित भएँ क्यार, उसले भनी, ‘हेर्नुहोस् … तपाईको ईच्छा, मलाई त केवल पैसाको मतलब छ ।’
हुन त हो, यस्तो असामाजिक, गैरकानुनी घृणित पेशेवर युवतीको लागि मतलबको विषय नै के हुन्छ र ? उही पैसा न हो ! सायद कुनै उद्देश्यहरू हुन्नन् । भावनाहरू हुन्नन् । यस्तो प्रतित हुन्छ कि मानौं उसको जीवनप्रति कुनै मोह छैन । मानौं ऊ एउटा गन्तव्यहीन यात्री हो । जसको कुनै लक्ष्य छैन । जीवनको कुनै अर्थ छैन । हो, उसको जीवन एउटा निर्जीव प्लास्टिकको गुडियाको अस्तित्वभन्दा बढी महत्वको छैन । त्यसैले त ऊ जो कसैले जता पल्टायो त्यतै पल्टिदिन्छे । जस्तो निर्देशन हुन्छ त्यस्तै नाचिदिन्छे ।
यतिबेला ऊ मेरो मौनताको फाइदा लुटिरहेकी थिई । अहिले ऊ टेवलसामु पुगेकी थिई । ह्याण्डव्यागबाट एउटा सानो गोलो ऐना निकाली । ओँठ सुहाउँदो लिपिस्टिक पोतेर दुवै ओँठ दबाउँदै समानान्तर रङ भरिरहेकी थिई । यो दृष्य कुनै मुकदर्शक झैं हेरिरहेको थिएँ म । उसको पेसा जे जस्तो भएपनि ऊ कुनै चलचित्रकी सुन्दरी नायिकाभन्दा कम असुन्दर देखिन्न । गहुँगोरी, छुँदा मैलो लाग्ला झैं सुकसुकाउँदी, सलक्क परेका जीउडाल र हातखुट्टाहरू, गोलो, उज्यालो मोहडा, मोहिनी काला–काला आँखाहरू अनि कालोलामो केसराशी । कविहरूको कल्पनाशक्ति भन्दा बाहिरको सुन्दरताको प्रतीक थिई ऊ, मेरो लागि ।
‘भन्नुहोस्, के निर्णय गर्नु भयो ?’ आफ्नो क्रियाकलाप सिध्याएर मुस्कुराउँदै मन्दस्वरमा बोली ऊ, ‘समय बर्बद गर्नु राम्रो होइन ।’
म झसङ्ग झस्केँ । हो, बेअर्थ समय बर्बाद गरिरहेको थिएँ यतिखेर म । पाइला चालिसकेपछि बित्तामा किन हार्नु ? यही सोचेर मैले मुख फोरेँ, ‘मलाई माफ गर ! तिमीले मलाई जुन दृष्टिकोणले हेरिरहेकी छौ, म त्यस्तो ग्राहक होइन ।’
‘मतलब ?’ आश्चर्य मिश्रित भावमा बोली ऊ । हुनसक्छ उसको अन्तरमा कुनै शंकाले ठाउँ ओगटिसकेको थियो, जो उसको अनुहारको भावले मलाई प्रष्ट्याइरहेको थियो ।
‘शंका गर्नु पर्ने कुनै कारण छैन,’ मैले भनें, ‘तिमीबाट केही सहयोगको अपेक्षा लिएर आएको हुँ म ।’
‘तपाई को हुनुहुन्छ ?’ पुनः प्रश्न गरी उसले ।
‘म एउटा लेखक हुँ ।’ यो मेरो स्वाभाविक उत्तर थियो ।
यसरी आफू एउटा लेखक भएको परिचय वेश्यावृत्तिमा होमिएकी एउटी युवतीलाई खुलाइरहनु पर्ने कुनै त्यस्तो अत्यावश्यक र महत्वपूर्ण कुरा चाँही अवस्य होइन । एउटा लेखर वेश्याबीच त्यस्तो सम्बन्ध नै के हुन्छ र ? मेरो प्रमुख कमजोरी भन्नु नै यही हो कि जोसुकैको सामु पनि म अनायासै पोखिइहाल्छु । उदाङ्गो भइहाल्छु ।
उसको दृष्टिमा म हरेक मिनेटमा परिवर्तन भइरहने ग्राहकहरू झैं साधारण र सामान्य व्यक्ति भए पनि मेरो लागि ऊ गहिरो भावनात्मक सम्बन्धकी युवती थिई । लेखक जस्तो बुद्धिजीवी यस्तो अपवित्र ठाउँमा आफ्नो सामु पाएकीमा उसलाई एकपटक आश्चर्य लाग्नु स्वाभाविकै थियो ।
लेखकहरू भनेका स्रष्टा हुन् । स्रष्टा भन्नु नै सृष्टि हो । सायद यो विज्ञानको ज्ञान उसमा पनि थियो । सायद स्रष्टाहरूको आदर र सम्मान गर्थी ऊ । जब त उसले मेरो वास्तविक परिचय पाई, बिस्तारै उसको बोलीवचनमा खस्रोपना दब्यो । केहीक्षण अघिको त्यो तडकभडक र चञ्चलता गायब भएर गयो । अनुहारमा एक किसिमको गम्भीरता छायो । आफूबाट भएको असहज क्रियाकलाप र वचनप्रति क्षमायाचना प्रकट गरी उसले । पहिले नै थाहा भएको भए, आफूबाट यति ठूलो गल्ती नहुने थियो जस्तो मनसाय व्यक्त गरी उसले । तर, हुनु हुनामी भइसकेको थियो । ऊ भित्रैदेखि दुःखी भएकी थिई ।
‘म कुनै पनि लेखक तथा साहित्यकारको सम्मान र आदर गर्छु,’ गम्भीर हुँदै बोली ऊ, ‘तर … म जस्तो तुच्छो र पतितले के नै गर्न सक्छु र ! तैपनि सकेसम्म तपाईलाई सहयोग गर्ने मेरो वचन पक्का भयो ।’ यसरी उसले मप्रति विस्वासिलो वचनबद्धता प्रकट गरी ।
आज एउटी वेश्याको लेखक तथा साहित्यकारप्रतिको सम्मान र आदरभाव देखेर म खुसी भएँ । मुरीमुरी कृतज्ञताले ओतप्रोत भएँ । म निर्धक्क भएँ, धनधान्य बनेँ ।
‘म किसानकी छोरी हुँ,’ कारयिन बिस्तारै बोल्न थाली, ‘मेरो बुबा–आमा, दुई भाइ र दुई बहिनीहरू छन् । सबै स्कूलमा पढिरहेका छन् । मध्यम वर्गीय परिवार, त्यसमाथि सबै छोराछोरीहरू विद्यार्थी भएको र दोस्रो आयस्रोत नभएपछि खर्चमा मितव्ययिता अपनाउँदा अपनाउँदै पनि घरव्यवहार चलाउन निक्कै कठिन नै थियो बुबा–आमालाई । यो मैले बुझेको कुरा हो । अनपढ बुबा–आमा, जेनतेन कडा मेहनतको वावजुद उच्चशिक्षा हाँसिल गरिरहेको थिएँ म । घर गाउँमा भए तापनि सहरमा बसोबास गर्नुहुने कान्छी फुपूको घरमा बसेर म कलेज धाइरहेको थिएँ । घरको आर्थिकस्तर कमजोर भए पनि मैले शिक्षा आर्जन गर्नमा बुबा–आमाबाट कहिल्यै पनि अवरोध खडा भएन । दशनङ्ग्रा खियाएर, खुन र पसिना बगाएरै भए पनि मेरो उज्वल भविष्यको मिठा सपनाहरू देखिरहनु भएको थियो बुबा–आमाले … ।’
यति बोल्दासम्म कारयिन निक्कै भावुक र गम्भीर देखिएकी थिई । उसको अनुहारमा एकप्रकारको अनौठोपन मडारिइरहेको थियो । सायद यतिखेर ऊ बुबा–आमा, भाइ–बहिनीहरू र साथीसंगीहरूको सम्झनाले भित्रभित्रै दुखिरहेकी थिई । अन्तरको पीडा कसलाई थाहा हुन्छ र ? मात्र हामी कल्पना गर्न सक्छौं । यदि, दुःख र पीडा बाँड्न सकिने भए कारयिनका सम्पूर्ण दर्दहरू म आफूभित्रै समाहित गरिदिन्थें ।
कारयिनले गहिरो निश्वास छोडी र कुराको विषय मोडी, ‘म अहिले १८ वर्ष पुरा भएर १९ वर्षमा हिँडिरहेकी छु । आजभन्दा दुई वर्ष अगाडि म एक जेहेन्दार विद्यार्थी थिएँ । साथीभाई, गुरु–गुरुआमा सबैले मलाई औधि मनपराउँथे, माया गर्थे, सबैले मान्थे । जस्तो मान्छे उस्तै दिमाग भन्थे । म भित्रभित्रै गौरवान्दित थिएँ । ममा धेरै पढ्नुपर्छ र जीवनमा केही गर्नुपर्छ भन्ने अठोट थियो र सपना थियो । अतः बुवा–आमा पनि मसँग खुसी हुनुहुन्थ्यो । मेरो प्रगति देखेर उहाँहरू पनि गौरवान्दित हुनुहुन्थ्यो । यसरी आफ्ना बुवा–आमा र गुरु–गुरुआमाको माया, हौसला र शुभाशिर्वादाले मलाई साथ दिइरहेको थियो । समय, परिस्थिति र भाग्यको ग्रह–चन्द्र दाहिना थिए ।’
कारयिन यसरी बर्बराइरहेकी थिई, मानौं ऊ कुनै प्रवचन छाँटिरहेकी होस् । म उसको भक्तझैं उसका कुराहरू एकोहोरो सुनिरहेको थिएँ । मनन गरिरहेको थिएँ ।
बोल्दाबोल्दै कारयिनलाई खोकी लाग्यो । एयर कन्डिसनर कोठा भएकोले चिसोको कैफियत सोचें मैले । बाहिर कपाल दुख्ने घाम चर्किएको भए पनि कोठाको चिसो वातावरणमा हामी आफ्नै दुनियाँमा लिप्त थियौं । मानौं हामीलाई बाहिरी संसारको कुनै सरोकार नै छैन ।
‘जब म १० कक्षामा अध्ययन गरिरहेको थिएँ,’ खोकी रोकिएपछि कारयिन पुनः अगाडि सरी, ‘त्यस समय मेरो कक्षामा एक नयाँ विद्यार्थी थपिएको थियो । उसको नाम लेनिन थियो । सुरुसुरुमा त उसँग बोल्न पनि धकाउँथें म । साह्रै लजाउँथें । तर … यस्तो प्रक्रिया कतिदिन ल्न सक्छ र ? परिचयपश्चात हाम्रो घनिष्टता बढ्दै गयो । आत्मियता गहिरिँदै गयो । लेनिन अति सुन्दर र लायकको केटा थियो । मलाई पनि यौवनको हावाले कताकता छोइसकेको थियो । म भित्रभित्रै उसप्रति आकर्षित भइसकेको थिएँ । ऊ मेरो सपनाको राजकुमार भइसकेको थियो । अर्थात् मैले उसलाई प्रेम गर्न थालिसकेको थिएँ । क्रमशः हाम्रो प्रेम गहिरिँदै गयो । यतिसम्म कि, हामी एकअर्काबिना बाँच्न नै नसक्ने स्थितिमा थियौं ।’ यति भनेपछि एकाएक कारयिनको गला अवरुद्ध भयो । बोल्दाबोल्दै कोठाको चारैतिर तृषित आँखाहरू घुमाई उसले । उसका आँखाहरू पानीपानी भइसकेका थिए । सायद ऊ मबाट आँसु लुकाउने प्रयत्न गरिरहेकी थिई ।
पुनः ऊ भन्नथाली, ‘एकदिनको घटना हो …, म कलेजको अन्तिम परिक्षा सकेर घर फर्किएँ । घरमा फुपू–फुपाजुसँग एक अधवैशे व्यक्ति मुसुमुसु हाँस्दै गफ गरिरहेका थिए । मैले त त्यति वास्ता पनि गरिनँ त्यतिखेर । साँझपरेपछि पो फुपूले त्यो व्यक्तिको बारेमा सम्पूर्ण बताउनु भयो । त्यो व्यक्ति एक एक एजेन्ट रहेछ । फुपूको पुरानो चिनजानको व्यक्ति भन्नु हुन्थ्यो । विगत ६–७ वर्षदेखि बेरोजगार युवा–युवतीहरूलाई दुबईमा रोजगार दिलाउँदै आफ्नो जीविकोपार्जन गरिरहेको रहेछ ।
यसै क्रममा ऊ सेल्समेन फ्रि–भिसाको लागि ४–५ जना एजुकेटेड युवतीहरूको खोजीमा रहेछ । फुपूको यस कुराले ममा पनि दुबई जाने ईच्छा जाग्यो । अतः फुपू–फुपाजु र आमा–बुबालाई मैले आफ्नो ईच्छा जाहेर गरेँ । सुरुमा त मेरो आमा–बुवाले मेरो कुरा इन्कार्नु भयो । तर, मैले अठोट गरिसकेको थिएँ । अन्तमा मेरो जिकिर पास भयो । त्यो दिन मेरो जिन्दगीको पहिलो खुसीको दिन थियो । म यति खुसी भएन कि आज आएर जिन्दगीको यो गति होला भनेर सोचेकी पनि थिइनँ । म आफ्नै दुनियाँमा थिएँ । जहाँ हजारौंहजार रंगिन सपनाहरू थिए, जसले मलाई लाठ्याइसकेको थियो । जसले मेरो र लेलिनबीचको स्वच्छ प्रेमभन्दा उच्च कोटीको दर्जा पाइसकेको थियो । उसले मलाई धेरैपटक सम्झायो, तर म आफ्नो अठोटबाट हलचल हुने स्थितिमा थिइनँ । मेरो अगाडि ऊ धरधरी रोयो, तर म आफ्नो सपनाको खातिर पत्थर भइसकेको थिएँ । उसले आँसुको धारा बगायो तर मैले उसको आँसुसम्म पुछिनँ ।
म यति कठोर भइसकेको थिएँ कि जस्तोसुकै बाधा–अड्चनको पहाड खडा भए पनि त्यो मेरो लागि मैदान नै सावित हुन्थ्यो । दिन र रात गर्दै मेरा सपनाहरू साकार हुने दिन बिस्तारै नजिकिँदै थियो । यसै क्रममा सन् २००१, फेब्रुअरी ९ तारिक मलाई जन्म दिनुहुने आमा–बुबा, प्यारा भाइबहिनीहरू, साथीभाइ, इष्टमित्रहरू, मेरो प्रेमी लेनिन, गाउँघर तथा आफ्नो देश नै छोडेर म मेरो सपनाको संसार दुबई इन्टरनेशनल एयरपोर्टमा उत्रन सफल भएँ । हामी जम्मा ५ जना युवतीहरू थियौं । साथमा उही एजेन्ट । एयरपोर्टको रमझममा समय बितेको पत्तै भएन । केही समय पश्चात कालो ल्याण्डक्रुजर हाम्रो नजिक आएर रोकियो । भलाद्मी देखिने मान्छे उत्रिएर एजेन्टसँग केही क्षणको खासखुस पश्चात हामी सबै त्यही ल्याण्डक्रुजरमा कोचियौं । करिब २०–२५ मिनेट पश्चात एउटा भव्य महलमा पुग्यौं । घाम अस्ताइसकेको थियो । रात त्यही महलमा बित्यो ।

अब मैले गर्नुपर्ने काम सिद्धियो, बाँकी सम्पूर्ण व्यवस्था मेनेजरले गर्नेछ भनेर हामीलाई त्यही मानिसको साथमा छोडी, भोलिपल्ट हामीसँग बिदा भयो एजेन्ट । हामी ढुक्क थियौं । दिनभर गफैगफमा बित्यो । साँझको खाना खाइसकेपछि त्यो भलाद्मी मान्छेको साथमा कालोवर्णका इन्डियनहरू आए २ जना । मेनेजरको भनाइ मुताविक हामीलाई काम दिलाउने र हाम्रो हेरविचार गर्ने त्यही काला मान्छेहरू थिए । हामी दुई भागमा बाँडियौं । त्यो कालो मान्छेले हामी २ जनालाई यही कोठामा राख्यो । तबसम्ममा थाहा भइसकेको थियो कि हामी त बेचिइसकेका रहेछौं । नर्कमा फसिसकेका रहेछौं । कति अनुरोध गर्यौं, कति विन्ती गर्यौं, कति रोयौं, कति चिच्यायौं तर त्यो कालो मान्छेको मन कत्ति पनि पग्लिएन । बरु उल्टो सजाय पायौं, कुटाइ खायौं, पिनले घोपियौं, जलिरहेको सिगरेटको ठुटाले पोलियोँ । यस्तो अवस्थामा बाँच्नु भन्दा मर्नु नै निको ठानेर आत्महत्या गर्ने कोशिस गरें तर सफल हुन् सकिनँ । म विवश बनेँ । यसरी मेरो नारकीय जीवन सुरु भयो । आज, ती मेरा साथीहरू कहाँ छन्, के गर्दै छन्, अझैसम्म अत्तोपत्तो छैन । म र मेरो एकजना साथि आजसम्म यहीं पतित जिन्दगी गुजारिरहेका छौं ।’
कारयिन अचानक सुकसुकाउन थाली । उसको आँखाबाट पीडा र वेदनाले निचोरिएका नुनिला आँसुका भेल उर्लन थाले । ऊ हिक्कहिक्क गर्न थाली । मेरो हृदय पनि अमिलिएर आयो, निचोरिएर आयो, थाहै नपाइ मेरा आँखाहरू रसाइसकेका थिए ।
यसरी कारयिनको दुःखमा दुःखी हुनु सिवाय ममा अरु सामथ्र्य नै के हुन्थ्यो र ? सायद कारयिनले जीवनमा रुन बिर्सिसकेकी थिई । तर, समयको लामो अन्तरालपश्चात आज मेरो सामु धित मरुन्जेल रोएकी थिई कारयिन । हुन सक्छ, उसको पीडा र वेदना बुझिदिने यो संसारमा कोही थिएनन्, केवल म मात्र थिएँ ।
कतै उसले ममाथि केही आशा र भरोसा लिएकी थिई कि ? तर, यो सत्य हो कि म उसलाई सान्त्वना दिन सक्छु, जीवन दिन सक्तिनँ थिएँ ।
‘हेर्नुहोस् … ! यति ठूलो संसारमा मेरो भन्नु केही छैन,’ कारयिन आँसु पुछ्दै कठोर भावमा बोल्न थाली, ‘आफन्तहरू कोही छैनन्, छन् त केवल यौन पिपासु निर्दयी ग्राहकहरू । म उनीहरूकै निम्ति बाँचिरहेको छु । उनीहरूकै खुसीको निम्ति बनावटी हाँसो बाँडिरहेको छु– एउटा अस्तित्वहीन जिउँदो लास सरह । मलाई लाग्छ, यो सब हुनुमा मेरो प्रेमी लेनिनको आँसुको श्राप हो । साँच्चै म अभागी नै रहेछु । हिजोसम्म मसँग सबथोक थियो, तर आज सबै गुमाएकी छु । म रित्तिइसकेकी छु । खोक्रिइसकेकी छु । यहाँसम्म कि आज म एच.आइ.भी. ग्रस्त छु ।’
एकछिन रोक्किएपछि ऊ फेरि बोली, ‘रोगले मलाई भित्रभित्रै कुटुकुटु खाइरहेको छ । मेरो जीवनको सेकेन्ड–सेकेन्ड आयु छोटिइरहेको छ । यो अस्तित्वहीन जीवन कतिन्जेल जिउनु पर्ने हो, थाहा छैन । म पलपल गलिरहेकी छु । पलपल मरिरहेकी छु ।’ कारयिनले पीडायुक्त लामो श्वास छोडेर भन्न थाली, ‘अब केहीदिन भित्रै, म आफ्नो देश चाइना फर्कंदैछु । म पतित र एच.आई.भी. ग्रस्त भए पनि यो पराई भूमिमा मर्न चाहन्नँ । आफ्नै देशको माटोमा मर्न चाहन्छु म । अब म जति बाँच्छु, म जस्तै दिदीबहिनीहरूको सहयोग र उत्थानको निम्ति बाँच्छु । समाजको निम्ति बाँच्छु । देशको निम्ति बाँच्छु । यो मेरो जीवनको अन्तिम लक्ष हो । यही नै मेरो जीवनको सार्थकता हुनेछ । अब पनि मैले केही गरिनँ भने मलाई यो युगले धिक्कार्ने छ । थुक्ने छ । तसर्थ …,’ कारयिन बोल्दाबोल्दै अप्रत्यासित ढोका ढक्ढकियो । यो अप्रत्यासित ढोका ढक्ढक्याइले म झस्किएँ । कारयिन पनि झस्किई र आफूलाई सम्हाल्नतिर लागी । म त कारयिनको पीडायुक्त कहाली लाग्दो जीवन कथाको गहिराइमा चुर्लुम्म डुबेको रहेछु ।
कति चाँडो आधा घण्टा समय चिप्लिसकेछ, पत्तै भएन । कारयिनबाट जे जति पाउनु थियो, सम्पूर्ण पाइसकेको थिएँ । उसलाई जति दुखाउनु दुखाइसकेको थिएँ । जति रुवाउनु रुवाइसकेको थिएँ । अब म कारयिनको अमूल्य समय नष्ट गर्न चाहँन्न थिएँ । मैले उसको जे–जति समय नष्ट गरें, त्यसको मूल्य चुकाउनु मेरो कर्तव्य र धर्म थियो । तर, कारयिनले स्वीकारिनन् । बरु, बदलामा उसको जीवनको पिडा र व्यथाले मेरो अपूर्ण कथालाई पूर्णता दिन सहयोग दिने हार्दिक आसातित ईच्छा र कामना प्रकट गरी । म मेरो कथालाई पूर्णता दिन सक्छु कि सक्तिनँ, मलाई नै थाहा छैन । अतः म कारयिनको पीडा र व्यथाहरू समेटेर भारी मनका साथ कोठाबाट बाहिरिएँ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।