कमल ।

कुष्ठरोगको समयमै पहिचान, रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले कमल गाउँपालिका–७ मा कुष्ठरोग सक्रिय खोजपड्ताल तथा लेप्रोसी पोष्ट एक्सपोजर प्रोफेलेक्सिस (एलपीईपी) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल कुष्ठरोग सङ्गति (एनएलएफ) र फेयरमेड साहारा नेपालको समन्वयमा तथा स्वास्थ्य कार्यालय झापा को सहकार्यमा र कमल गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको सो कार्यक्रमअन्तर्गत आइतबार बिहान ७ बजेदेखि स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको टोलीले घरदैलो अभियान सञ्चालन गरेको थियो ।

अभियानका क्रममा कमल गाउँपालिका–७ अन्तर्गत सरस्वती टोल, सृजनशील टोल, सैनिक चोक, पाथीभरा टोल, पशुपति टोल, रंगपुर र बाह्रघरे आसपासका क्षेत्रमा पुगेर कुष्ठरोगको सक्रिय खोजपड्ताल गरिएको थियो । घरदैलो कार्यक्रममार्फत समुदायका नागरिकलाई कुष्ठरोगसम्बन्धी जानकारी र सचेतना प्रदान गर्नुका साथै सम्भावित लक्षण भएका व्यक्तिहरूको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल कुष्ठरोग सङ्गति (एनएलएफ)का कार्यक्रम अधिकृत डी.बी. गुरुङ्ग र फेयरमेड साहारा नेपालबाट निखिता श्रेष्ठको उपस्थिति रहेको थियो ।

त्यसैगरी, स्वास्थ्य कार्यालय झापाका क्षयकुष्ठ रोग कार्यक्रम फोकल पर्सन वीरेन्द्र दास र जनस्वास्थ्य अधिकृत खुश्बु राईको समेत सहभागिता रहेको थियो ।

कमल गाउँपालिकाबाट स्वास्थ्य संयोजक दीपकप्रसाद दाहाल, लखनपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक देवराज पराजुली र आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–७ का सिनियर अ.हे.व. अधिकृत अमृतबहादुर थेगिम लिम्बूलगायतको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

यस अवसरमा साप्ताहिक बहससँग कुरा गर्दै कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले स्वास्थ्य कार्यालय झापा र विभिन्न सहयोगी संस्थाहरूको सहयोग र सहकार्यमा गाउँपालिकामा सञ्चालन भइरहेका यस्ता स्वास्थ्यसम्बन्धी गतिविधिले समुदायस्तरमा रोगको समयमै पहिचान, रोकथाम र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

अध्यक्ष राईले स्थानीय सरकार स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेकोसमेत जानकारी दिए ।

कुष्ठरोगको प्रारम्भिक अवस्थामै पहिचान गरी समयमै उपचारमा जोड्न तथा रोगको संक्रमण रोकथामका लागि समुदायस्तरमै पुगेर सञ्चालन गरिएको सक्रिय खोजपड्ताल तथा ीएभ्ए कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । साथै, यस किसिमको घरदैलो अभियानले कुष्ठरोगप्रति समाजमा रहेका भ्रम, डर र विभेद न्यूनीकरण गर्दै कुष्ठरोगमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

सरकारी निकाय, स्थानीय तह र स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरूको सहकार्यमा सञ्चालन भएको यस अभियानले कमल गाउँपालिकामा समुदायमुखी स्वास्थ्य सेवाको थप विस्तारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्