विराटनगर । सामाजिक सञ्जाल स्क्रोल गर्दै जाँदा संखुवासभाको भोटखोलाका हिमाल आरोही जेन्जेन लामा र आशिष गुरुङसहितको टोली उद्धार अभियानमा खटिएको देखिए । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका क्रममा उनीहरू सुरुङभित्रको गहिराइ नाप्दै अघि बढेको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा उनीहरूले सुरुङभित्र फसेकाहरूका क्यामेरागायतका सामग्री फेला पारेको देखिन्छ । करिब १०० मिटरभित्र पुग्दा नै उनीहरूले निकै कठिन अवस्थाको सामना गर्नुपरेको बताइरहेका थिए । उसो त सगरमाथाको उकालो, मनास्लुको कठ्याङ्ग्रिँदो हिउँ र अग्ला पहाडका जोखिम उनीहरूका लागि नयाँ होइन । हिउँमा बाटो बनाउँदै चुचुरोतर्फ अघि बढ्नु उनीहरूको दैनिकीजस्तै हो । तर, अहिले उनीहरू हिमालको चुचुरोमा छैनन्, अँध्यारो सुरुङभित्र छन् । जहाँ हिउँ होइन, छातीसम्म आउने हिलो र लेदो भेटिन्छ । ‘सगरमाथामा बाटो बनाउनु जस्तौ गाह्रो छ, बाटो बनाउँदै सुरुङ प्रवेश गर्नु,’ जेन्जेन भन्छन् ।
रसुवाको भोटेकोशीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूलो क्षति पु¥याएपछि त्यहाँ फसेका मानिसहरूको खोज तथा उद्धारका लागि हिमाल आरोहीहरूको टोली खटिएको हो । नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनका पर्वतीय गाइडहरू सिम्रिक हेलिकोप्टरको टोलीसँगै उद्धारमा पुगेका छन् ।
हिमाल आरोहीका लागि यो पनि एउटा अभियान नै हो । तर, यसपटक उनीहरूको लक्ष्य कुनै चुचुरो होइन, न त कुनै झन्डा गाड्नु नै हो । उनीहरूको लक्ष्य हो अँध्यारो सुरुङभित्र फसेका मानिससम्म पुग्नु र सम्भव भएसम्म जीवन फर्काउनु । गुरुङ र लामाको टिमका लागि फसेका मानिसहरूको सकुशल उद्धार गर्नु पनि सगरमाथाको चुचुरामा पाइला टेक्नु सरहकै सफलता हुने उनीहरू बताउँछन् । सुरुङको मुखबाट भित्र पस्दा बाहिरको उज्यालो विस्तारै हराउँदै जान्छ । केही पर पुगेपछि चारैतिर अँध्यारो हुन्छ । अगाडि हिलो र लेदो तल टेक्ने ठाउँको टुङ्गो छैन । माथिबाट के आउँछ ? भन्ने निश्चित छैन । यस्तो अवस्थामा उनीहरू डोरीको सहायताले अघि बढिरहेका छन् ।
पर्वतारोही जेन्जेन सुरुङभित्रको गहिराइ नाप्दै अघि बढ्दै गर्दा सुरुङ निकै गहिरो र जति भित्र गयो, त्यति नै अवस्था कठिन हुँदै गएको अनुभव सुनाउँछन् । टोलीले करिब १२० देखि १३० मिटर सुरुङभित्र प्रवेश गरिसकेपछि हिलो छातीसम्म आउन थाल्यो । अगाडि बढ्ने प्रयास गर्दा शरीर नै हिलोमा धसिने अवस्था आएको र सुरुङ पूर्णरूपमा अवरुद्ध भएको भागसम्म पुग्न भने सम्भव नभएको अनुभव सुनाएका हुन् ।
त्यसो त उनीहरूलाई जोखिम थाहा हुन्छ । हिमपहिरो आउन सक्छ, मौसम बिग्रन सक्छ, चट्टान खस्न सक्छ । त्यसका लागि उनीहरूसँग तयारी हुन्छ । तर बाढीपछि हिलो र लेदोले भरिएको सुरुङभित्रको जोखिम फरक छ । त्यहाँ बाटो नै कति सुरक्षित छ भन्ने निश्चित हुँदैन । एउटा पाइला गलत पर्दा उद्धारकर्ता आफैँ समस्यामा पर्न सक्छ । तर पनि पाइला नरोकिएको उनीहरू बताउँछन् । ‘सगरमाथा चढ्दा आरोहीको आँखामा एउटा लक्ष्य हुन्छ,’ जेनजेन भन्छन, ‘तर चिलिमेको सुरुङमा प्रवेश गर्दा भने हाम्रो ध्यान अँध्यारोभित्र कतै फसेका मानिसको सम्भावित जीवन भेटिन्छ कि भन्ने छ ।’
टोलीले सुरुङको अवस्था निरीक्षण गरेपछि तत्काल अर्को उपाय खोजेको र सुरुङभित्र जमेको हिलो र लेदो हटाउन होज पाइप तथा पम्प–मोटर प्रणाली प्रयोग गर्ने योजना बनाइएको छ । अवरुद्ध भाग सफा गर्न सकिए सुरुङभित्र फसेका मानिससम्म पुग्न सकिने सम्भावना रहेको टोलीको विश्वास छ । ‘उद्धारको बाटो अझै बन्द भएको छैन,’ उनीहरू भन्छन्, ‘बाटो कठिन छ, तर आशा बाँकी छ ।’
यतिबेला समाजिक सञ्जालमा अनेकन टिपणीहरू आउँछन् । फलनाले यो गरेन तर गर्नेहरूको अवस्था सम्बन्धित स्थानमा नपुगी थाहा नहुनेसमेत उद्धार टोलीहरू बताउँछन् । चिलिमेको सुरुङमा उद्धारकर्ताहरू आफैँ जोखिमको बीचमा छन् । छातीसम्म आउने हिलोमा डोरी समातेर अघि बढ्नु सामान्य काम होइन । ‘हाम्रो एउटा गल्तीले उद्धार गर्न गएको टोलीकै सदस्य समस्यामा पर्न सक्छ,’ जेन्जेज भन्छन् । हिमाल आरोही आशिषको नेतृत्वमा जेन्जेन लामा, दोर्जी शेर्पा, तुलिसिङ गुरुङ र पासाङ तेण्डी शेर्पा, सविन ठकुरी उद्धार अभियानमा खटिएका छन् । पर्वतारोहीहरू आफ्नो सीप लिएर पुगेका छन् भने नेपाली सेना शव व्यवस्थापन तथा उद्धारमा खटिएको छ । हेलिकप्टर टोली सहयोगमा छ । विभिन्न निकाय आ–आफ्नो भूमिकामा छन् ।
पर्वतारोहीहरूका लागि भने यो उनीहरूले सिकेको सीप समाजका लागि प्रयोग गर्ने अवसर पनि रहेको जेन्जेन बताउँछन् । हिमालमा उनीहरूले आफूलाई सुरक्षित राख्दै कठिन भूगोल पार गर्न सिकेकाले पनि डोरीको प्रयोग, जोखिमको मूल्यांकन र कठिन परिस्थितिमा अघि बढ्ने क्षमता अहिले सुरुङ उद्धारमा काम लागिरहेको सुनाउँछन् । नेपाल सरकारले जहाँ र जुनसुकै समयमा परिचालनका लागि आह्वान गरे पनि आफूहरू खोज तथा उद्धारका लागि तयार रहेको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।