उर्लाबारी–५ स्थित अरनिको हस्पिटलले एक करोड रुपैयाँभन्दा बढी मूल्यको अत्याधुनिक ‘सामसुङ भीएट वान’अल्ट्रासाउन्ड प्रणाली सञ्चालनमा ल्याएको छ। कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिमा आधारित यो उपकरण भित्रिएसँगै स्थानीयस्तरमै उच्चस्तरीय स्वास्थ्य परीक्षण सहज बनेको अस्पतालले जनाएको छ।
नयाँ उपकरणमार्फत कलेजोको कडापन र बोसोको मात्रा मापन गर्ने ‘फाइब्रोस्क्यान’सहित उन्नत अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउने तयारी गरिएको हस्पिटलका अध्यक्ष अधिवक्ता लोलिम पोमुले बताए। नयाँ प्रविधिले कलेजोसम्बन्धी रोगको परीक्षण निकै सरल बनाउने र उर्लाबारी तथा आसपासका क्षेत्रका बिरामीलाई सामान्य परीक्षणका लागि पनि टाढाका ठूला अस्पताल धाउनुपर्ने बाध्यता हट्ने अध्यक्ष पोमुले जानकारी दिए।
सामसुङ V81 चिकित्सा क्षेत्रको पछिल्लो पुस्ताको प्रिमियम अल्ट्रासाउन्ड मेसिन हो। यसमा जडित शक्तिशाली एआई प्रणालीले शरीरका भित्री अङ्गहरूको अत्यन्तै स्पष्ट दृश्य देखाउँछ। विशेषगरी कलेजोमा हुने बोसो (Fatty Liver) र कडापन (Cirrhosis) को अवस्था बिनाचिरफार बाहिरैबाट सही रूपमा मापन गर्न यसको ‘इलास्टोग्राफी’ प्रविधि प्रभावकारी मानिन्छ।
यसका अलावा पेट, मिर्गौला, मुटु, रक्तनली तथा गर्भावस्थामा भ्रूणको स्वास्थ्य अवस्था सुरुवाती चरणमै पत्ता लगाउन यसले चिकित्सकलाई मद्दत पुर्याउँछ।
स्थानीय तहका बिरामीलाई अत्याधुनिक स्वास्थ्य प्रविधिमार्फत गुणस्तरीय सेवा दिने उद्देश्यले यो उपकरण जडान गरिएको र यसबाट उर्लाबारीसहित आसपासका बासिन्दाले ठूलो लाभ लिन सक्ने अध्यक्ष पोमुले बताए।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।