दमक ।

ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले त्यहाँको शासनमा आफ्नो चौथो इनिङस् पक्का गरेका छन् ।

ब्राजिलियन सत्ता सञ्चालनका हस्ती लुलाले हालैको निर्वाचनमा ५१.८ प्रतिशत मत प्राप्त गर्दै चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् । त्यहाँको निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उनका प्रतिद्वन्द्वी बोल्सोनारोले ४८.२ प्रतिशत सदर मत प्राप्त गरेका थिए ।

यससँगै सन् २०२७ देखि २०३० सम्म ब्राजिलले बामपन्थी सरकारकै निरन्तरता पाउने पक्का भएको हो । लुलाको विजयप्रति उत्साहित समर्थकहरूले निर्वाचनलाई ‘लोकतन्त्रको जित’का रूपमा व्याख्या गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा पछि परेका ८० वर्षीय अनुभवी राजनीतिज्ञ लुजाले दोस्रो चरणको निर्वाचनमा भने ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो पटकको सत्ता यात्रा सुनिश्चित गरेका हुन् । बोल्सोनारो ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सन् १९८९ मा प्रजातान्त्रिक निर्वाचन पुनः सुरु भएदेखि २०२२ सम्म ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पहिलो चरणमा अग्रता लिने उम्मेदवार नै दोस्रो चरणमा पनि विजयी हुने गरेका थिए । सन् २०२६ मा लुलाको जितले २७ वर्षदेखिको आममान्यता र अनुमानलाई क्रमभङ्ग गरिदिएको छ ।

ट्रम्पलाई धक्का

लुलाको विजयसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आएको ल्याटिन अमेरिकी राजनीतिमा दक्षिणपन्थी प्रभाव विस्तारको प्रयासलाई धक्का लागेको बताइएको छ ।

यद्यपि, नयाँ कार्यकालमा लुलाले संसद्मा बोल्सोनारोको लिबरल पार्टीको बलियो उपस्थितिसँगै सार्वजनिक ऋण नियन्त्रण र आर्थिक स्थायित्व कायम गर्ने चुनौती सामना गर्नुपर्ने मिडियाहरूले लेखेका छन् ।

गत अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा फ्लाभियो बाल्सोनारोले अग्रता हासिल गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई ‘निकै ठूलो जित’को संज्ञा दिएका थिए ।

निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा साओ पाउलोको पाउलिस्टा एभिन्युमा आइतबार साँझ सयौँ लुला समर्थक भेला भएका थिए । उनीहरूले राष्ट्रपतिको तस्बिर अंकित रातो झन्डा बोकेर मतगणना हेरेका बताइन्छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्