कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप(२०८३ को फाइनल खेल अघि दमकका पूर्व खेलाडीहरु धिरेन सुब्बा, धनजित राईलगायतलाई सम्मानपछि सामूहिक तस्वीर ।

चाड विशेषांक

झापाको बेलडाँगी खेल मैदानमा २१ असोजमा दिउँसोको पारिलो घाम ढल्किँदै थियो । सिट्टीको आवाजसँगै मैदानको मध्यभागबाट ५८ वर्षीय गजेन्द्र देवानले बल नियन्त्रणमा लिएर अघि बढाए । अनुहारमा उमेरले कोरेका स्पष्ट धर्साहरू । तर, गोडामा भने उही ३ दशकअघिकै फूर्ति र रफ्तार । दर्शकदीर्घाबाट अचानक आवाज गुञ्जियो, ‘हेर हेर … ! गजेन्द्र दाइ अझै राम्रो खेल्छन् !’

फुटबल र उमेरको सम्बन्ध बडो विचित्रको हुन्छ । सामान्यतः व्यवसायिक खेल जीवनमा ३० देखि ३५ वर्षको नेटो काट्ने बित्तिकै खेलाडीलाई ‘रिटायर्ड’ लिएर दर्शकदीर्घा वा बेञ्चमा सीमित गरिन्छ । तर, ५८ वर्षको उमेरमा पनि बुट कसेर मैदान नापिरहेका देवानलाई हेर्दा लाग्थ्यो– उमेर त केवल पात्रोको पाना परिवर्तन हुने एउटा अङ्क मात्रै हो । खेलप्रतिको निष्ठा, नसा–नसामै बग्ने जोस र फुटबलप्रतिको भोक कहिल्यै बूढो हुँदो रहेनछ । ‘५८ वर्षको उमेरमा पनि मैदान छिर्दा मलाई कहिल्यै थाकेको महसुस हुँदैन,’ उनी भन्छन्, ‘मैदानमा छिरेपछि उही युवावस्थाको जोस र ऊर्जा आफैँ फर्किएर आउँछ ।’ दमक कुनै समय फुटबलको उद्गम स्थलको रूपमा परिचित थियो । तर, अहिले पछिल्लो समय खेलकुदका गतिविधिहरूमा दमक पछाडि पर्दै गइरहेको देखिन्छ । ‘सम्बन्धित निकायहरू गैरजिम्मेवार बन्दै गर्दा नयाँ खेलाडी उत्पादनमा ठूलो असर पुगिरहेको छ,’ उनी भन्छन् ।

दमक भेट्रान क्लबका अध्यक्ष गजेन्द्र देवान । फाइल फोटो ।

झापाको फुटबल साख जोगाउने र पुराना साथीहरूलाई फेरि एउटै मैदानमा जोड्ने हुटहुटीकै कारण दमक भेट्रान क्लबको आयोजनामा कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप आयोजना भयो । क्लबका अध्यक्ष देवान आफैँ छन् । ‘खेलकुदमा चहलपहल बढाउन, खेल क्षेत्रबाट सबैलाई जोड्न, युवाहरूलाई दुव्र्यसनबाट जोगाएर खेलमा आकर्षित गर्न र पुराना खेलाडीबीच भाइचारा स्थापित गर्न यो प्रतियोगिता आयोजना गरिएको हो,’ उनी भन्छन्, ‘यो पटक प्रतियोगिता पूर्ण रूपमा सफल भएको महसुस गरेको छु । यो अभियानले आगामी दिनमा पनि निरन्तरता पाउने छ ।’

उमेरले डाँडा काटे पनि मैदानमा जोस देखाउने देवान एक्ला पात्र होइनन् । उनी त आफूजस्तै दर्जनाँै पुराना भेट्रान खेलाडीको प्रतिनिधि पात्र हुन्, जसका लागि फुटबल जीवनको पर्याय बनेको छ ।

बेलडाँगी मैदानमा आयोजना गरिएको यो भेट्रान प्रतियोगिता कुनै साधारण स्थानीय प्रतियोगिता मात्र थिएन, यो त नेपाली फुटबलको एउटा सिङ्गो ‘स्वर्ण युग’को जीवन्त पुनरागमन थियो ।

मैदानमा राष्ट्रिय टोलीका पूर्व सदस्य, कोचहरू प्रवेश कट्वाल, गणेश लिम्बू, युगल किशोर राई, संजिव बुढाथोकी, डेनिम राई, भूपेन्द्र लिम्बू, प्रेमकुमार लिम्बू, सुवास खड्का, सुन्दर नेपाल, कुमार गिरीजस्ता आफ्नो समयका चर्चित खेलाडीहरूको बाक्लो उपस्थिति थियो ।

उहिले उनीहरू मैदान छिर्दा जितको हुटहुटी, राष्ट्रिय टोलीमा पर्ने दबाब, दर्शकको ठूलो अपेक्षा र उपाधि चुम्ने लक्ष्य हुन्थ्यो । आज उमेर ढल्कँदैगर्दा प्रतियोगिताको परिभाषा र प्राथमिकता पनि फेरिएका छन् । अहिले मैदान उत्रिनुको मुख्य ध्येय स्वास्थ्यको जतन, पुराना साथीभाइसँगको सामीप्य, आत्मीयता र नसा–नसामै बगेको खेलप्रतिको निरन्तर लगावले गर्दा हो ।

देवानले जस्तै खेलप्रतिको त्यही समर्पण सम्झिन्छन्, उर्लाबारी ढल्केजोवन भेट्रान क्लबका ५३ वर्षीय खेलाडी पुष्पजंग थापा । थापाका लागि आफ्नो क्लबको नाम ‘ढल्केजोवन’ केवल एउटा पहिचान मात्र होइन, जीवनको साश्वत् यथार्थ पनि हो । ‘त्यो समयमा साइकलमा यही बेलडाँगी खेल मैदानमा खेल्न आइन्थ्यो,’ अतीतको पाना पल्टाउँदै थापा सम्झिन्छन्, ‘गजेन्द्र देवानले बोलाउँथ्यो खेल्न । उहिल्यै आर्थिक अभाव साह्रै थियो । गेमको स्ट्राटेजी (रणनीति) नबुझिने त्यो बेला, अहिले आएर बुझ्दै गइयो ।’ रणनीति बुझ्ने परिपक्वता त आयो, तर उमेर भने रोक्किएन । ‘ढल्केजोवन हाम्रो क्लबको नाम मात्र नभएर समयसँगै उमेर पनि ढल्किँदै छ । उमेर ढल्किँदै जाँदा खेलमा पनि ह्रास आउन थाल्छ,’ उनी भन्छन्, ‘तर खेल्न भने छाडिँदैन । पहिला खेल्दै हिँडेको हुनाले अहिले पनि स्वास्थ्यको लागि र साथीभाइको कारण खेल्दैछौँ ।’

उमेरले ५ दशक पार गरिसकेका यी पुराना खेलाडीहरूका लागि फुटबल अब मनोरञ्जन रहेन, यो त उनीहरूका लागि नियमित व्यायाम र आरोग्यको आधार बनेको छ ।

दमक भेट्रानका ५६ वर्षीय तुलबहादुर मगर (तुला) को अनुभव पनि उस्तै छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको ट्रफी हात पारे । ‘पहिला खेलेको अनुभवले नै अहिले पनि खेल्न सकेको हो । यो प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्न पाउँदा अझै खेल्न सकिन्छ भन्ने लागेको छ,’ उनले भने, ‘फुटसल निरन्तर खेलिरहने भएर होला, स्टामिना अझै छ । युवाहरूसँग पनि खेल्नुपर्ने भएकोले उमेर गएको फिल (महसुस) हुँदैन ।’

आधुनिक जीवनशैली र दूषित खानपानका कारण उत्पन्न हुने विभिन्न स्वास्थ्य समस्याहरूबाट जोगिन पनि भेट्रान फुटबलरहरूका लागि मैदान ओर्लिनु अनिवार्य जस्तै बनेको छ । दूधे भेट्रान क्लबका अध्यक्ष तथा खेलाडी ५० वर्षीय सन्तोष नेम्बाङ फुटबललाई उत्तम शारीरिक कसरत मान्छन् । ‘आजकल अनेक प्रकारको खानेकुरा खाइन्छ, जसको निम्ति एक्सरसाइज आवश्यक पर्छ र त्यसको पूर्ति खेलकुद, त्यसमा पनि फुटबल हो,’ उनी भन्छन्, ‘उहिले केही बन्ने धोकोले मैदान उत्रन्थ्यौँ भने अहिले स्वास्थ्यको लागि उत्रने गर्छौँ । पहिलाजस्तो खेल्न त सकिँदैन तर युवाहरूसँग जोस मिल्छ, खेल नमिले पनि ।’

काँकडभिट्टा भेट्रान क्लबका ५४ वर्षीय रमेश बस्नेत फुटबललाई आत्मियता र पुराना स्मृतिहरू पुनर्जागृत गर्ने माध्यम मान्छन् । ‘स्वस्थ बन्नलाई र साथीभाइसँगको मित्रताले गर्दा फुटबल खेल्ने गरेको छु । फुटबलले यो उमेरमा पनि सबैसँग भेट गराउँछ, आत्मियता बढाउँछ,’ बस्नेत थप्छन्, ‘तर, अहिले खेल्दा एउटा कुरा भने महसुस हुन्छ– मैदानको चारै कुनामा मन पुग्छ, शरीर पुग्दैन ! यो उमेर अलिक जोगिएर चाहिँ खेल्ने उमेर हो ।’

चन्द्रगढी भेट्रान क्लबका ५९ वर्षीय दिपककुमार गुरुङको खेलप्रतिको समर्पण र कथा सुन्दा जो कोही आश्चर्यमा पर्छन् । जीवनको ६ दशक पुग्नै लाग्दा पनि उनको आँखामा खेलप्रतिको चमक घटेको छैन । आफ्नो शरीरका खतहरू सम्झिँदै गुरुङ भन्छन्, ‘सानैदेखि खेलेकोले नसामा फुटबल छ । उहिले फुटबल खेल्दा देब्रे हात बाहेक शरीरको प्रायः सबै ठाउँ भाँचिएको छ । पहिला पावर गेम खेलिन्थ्यो, अहिले टेक्निकल गेममा फोकस हुन्छ । अझै ७० वर्षसम्म खेल्ने सोच छ ।’

त्यस्तै, धरान भेट्रान क्लबका ५३ वर्षीय सुरज श्रेष्ठ फुटबललाई औषधिभन्दा उपयोगी मान्छन् । पहाडका डाँडाकाँडादेखि तराईका फाँटसम्म फुटबल खेलेको लामो अनुभव श्रेष्ठसँग छ । ‘उहिले पहाडदेखि तराईको विभिन्न ठाउँ खेलेको अनुभवले अहिले मैदानमा छौँ । खानेकुराको कारण विभिन्न रोगहरू लागिरहेको समयमा औषधिको विकल्पमा फुटबल नै सबैले रुचाएको खेल हो,’ उनी भन्छन्, ‘तर अहिले स्किल र कन्ट्रोल उस्तै भए पनि स्टामिना र रनिङ चाहिँ पुग्दैन रहेछ ।’

प्रतियोगितामा सहभागी कतिपय खेलाडीहरू त खेलाडी जीवन छाडेर प्रशिक्षक वा व्यवस्थापकको भूमिकासम्म पुगिसकेका छन् । तर, उनीहरूको मन भने अझै पनि मैदानभित्रै दौडिरहेको हुन्छ । ४२ वर्षीय कुमार गिरी गाउँको सानो मैदानबाट सुरु गरेर ध्रुवतारा, भाङबारी स्पोर्टिङ, गोर्खा स्पोर्टिङ, झापा जिल्लाको टोली, हिमालयन शेर्पा, जावलाखेल, सरस्वती युथ क्लब र झापा ११ सम्म खेलेका एक अनुभवी खेलाडी हुन् । सन् २०१६ देखि उनी निरन्तर प्रशिक्षकको भूमिकामा छन् । ‘उहिले गाउँदेखि शहर हुँदै देशको लागि खेल्ने लक्ष्य हुन्थ्यो । त्यही अनुभवले अहिले पनि मैदानमा छौँ,’ उनी भन्छन्, ‘सानैदेखिको फुटबलको लगावले पनि हो खेलिरहन प्रेरित गरेको । धेरै खेलियो । प्रशिक्षण निरन्तर गराइरहे पनि सिकाउनु भन्दा मज्जा त खेल्दा नै आउँछ ।’

मैदानमा आपसी प्रतिस्पर्धा गर्दै नेपाली पुरुष राष्ट्रिय टिमका पूर्वप्रशिक्षक प्रवेश कटुवाल र पूर्वराष्ट्रिय खेलाडी युगल किशोर राई ।

विर्तामोड भेट्रानलाई उपाधि दिलाउन मुख्य भूमिका खेलेका ४६ वर्षीय प्रवेश कट्वाल एनआरटी, थ्री स्टार, मनाङ मस्र्याङ्दी, मच्छिन्द्र र आरसिटिजस्ता देशका शीर्ष ‘ए’ डिभिजन क्लबहरूबाट मैदान नापेका हस्ती हुन् । उनी नेपालको राष्ट्रिय टिमको प्रशिक्षकसमेत भइसकेका छन् । उनले नै प्रशिक्षण गराएर मच्छिन्द्र क्लबलाई दुईपटक ए डिभिजन लिग जिताए ।  अहिले उनी भेट्रान खेलाडीको रूपमा मैदानमा उत्रिरहेका छन् । उनी भेट्रान प्रतियोगिताहरूलाई घरेलु फुटबलको विद्यमान संकट र अखिल नेपाल फुटबल संघ (एन्फा) को अवस्थासँग जोडेर हेर्छन् । ‘लामो समयदेखि बिर्तामोड भेट्रानको टिम भेट्रान गेम खेल्दै आइरहेका छौँ । फुटबल छाड्न सकिँदैन, फुटबलले नै चिनायो,’ उनी भन्छन्, ‘अहिले एन्फा प्रतिबन्धको कारण घरेलु लिग नहुँदा पनि मोफसलका यस्ता प्रतियोगिताहरूले खेलिरहन बाध्य बनाएका छन्, खेलमा जोडिरहने माध्यम बनेको छ, यो राम्रो पक्ष हो । उहिले लिग हुन्थ्यो, मोफसलको प्रतियोगिता कम हुन्थ्यो । तर, अहिले लिग ठप्प छ, मोफसलको प्रतियोगिता धेरै छन् । एनआरटी, थ्री स्टार, मनाङ मस्र्याङ्दी, मच्छिन्द्र, आरसिटिलगायत क्लबबाट खेलेको अनुभवले पनि अहिले मैदान उत्रन इन्करेज गर्छ ।’

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्