दमक ।
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ । यससँगै अब एनपीएलका खेलहरूमा अम्पायरबाट हुन सक्ने मानवीय त्रुटि (ह्युमन इरर्स्) सच्याउन सकिने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो ।
क्यान सचिव पारस खड्काले यसअघि एनपीएलमा पहिलोपटक डीआरएस ल्याउने पहल भइरहेको बताएका थिए ।
डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको प्रभावकारी खेल प्रविधि हो । क्रिकेटमा अम्पायरले गरेका निर्णय चित्त नबुझेमा वा त्रुटिपूर्ण लागेमा त्यसलाई डीआरएसमार्फत रिभ्यू गर्न सकिन्छ ।
क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ । जसले बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ । त्यस्तै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू गर्न सम्भव हुनेछ ।
यस्तै एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछ ।
यदि ब्याटिङ वा बलिङ गर्ने टोलीलाई अम्पायरको निर्णय गलत लागेमा उनीहरूले यो प्रविधिमार्फत निर्णय पुनरावलोकनको माग गर्न सक्छन् ।
डीआरएस प्रयोगको इतिहास
सन् २००८ जुलाईमा भारत र श्रीलङ्काबीचको टेस्ट खेलमा पहिलो पटक डीआरएसको परीक्षण भएको थियो । टेष्ट खेलका लागि सन् २००९ नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले यसलाई आधिकारिक रूपमा लागू गर्यो । टेस्ट क्रिकेटमा प्रयोग भइसकेपछि डीआरएस प्रणाली एकदिवसीय क्रिकेट (ओडिआई)मा भने सन् २०११ बाट प्रयोगमा आएको हो । टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा सन् २०१७ बाट यो प्रविधि प्रयोगमा ल्याइएको हो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।