प्रारम्भ

डिजिटल दुनियाँ सबैका लागि ‘सार्वजनिक स्पेश’ हो । यही स्पेशमा हरेक मानिसहरू घुलमिल भइरहेका छन् । यहाँ हरेक मानिसहरूले आफ्नो विचार विनियम मात्रै गरिरहेका छैनन्, आफ्नो ‘फुटप्रिन्ट’ पनि छाडिरहेका छन् । यही ‘फुटप्रिन्ट’कै आधारमा मानिसको आनीबानी, बेहोरा, भावनालाई पहिचान गरिरहेको छ । कुनै मानिसले डिजिटल स्पेशमा के गर्छ, के हेर्छ, कुन सामग्रीमा कति समय बिताउँछ ? कस्ता सामग्रीमा लाइक, कमेन्ट तथा शेयर गरिरहेको छ ? भन्ने आधारमा डिजिटल दुनियाँको ‘अल्गोरिदम’ ले काम गरिरहेको हुन्छ । एक प्रकारले भन्ने हो भने डिजिटल मानिसहरूको मनोविज्ञानलाई बुझिरहेको छ ।

मनोविज्ञान आज मानिसभित्र मात्रै सीमित छैन । साइबर स्पेशमा पनि त्यसको पहिचान हुन थालेको छ । यसैका आधारमा ‘अल्गोरिदम’ तयार भइरहेको छ । डिजिटल दुनियाँका उद्योगी तथा व्यापारीहरूले मानिसले इन्टरनेटमा कस्तो फुटप्रिन्ट छाडिरहेका छन् भन्ने कुरालाई मिहीन तरिकाले अध्ययन गर्नका लागि ‘एआई’ को विकास गरेको छ । जुन मानिसबाट सम्भव हुँदैन । त्यही कुरा अहिले एआईबाट भइरहेको छ । कुनै मानिसको मनोविज्ञान बुझ्नका लागि उनका इन्टरनेटीय गतिविधिलाई नियालिरहेको छ । यसैका आधारमा ‘अल्गोरिदम’ ले मानिसको चाहना र रूचीअनुसारको सामग्री उसलाई पस्किरहेको हुन्छ । उमेर, वर्ग, समूह, लिङ्ग, जाति, समुदाय, संस्कृति, राजनीति, धर्म आदिका आधारमा अल्गोरिदमले आफ्नो सामग्रीहरू त्यस्ता उपभोक्ता माझमा पु¥याइरहेको छ । कुन उमेर समूहका मानिसहरूले के हेरिरहेका छन् ? कुन वर्गले कस्तो सामग्रीलाई पछ्याइरहेका छन् ? कुन लिङ्गका मानिसहरूले कस्ता सामग्रीलाई अध्ययन गरिरहेका छन्, समय बिताइरहेका छन् ? भन्ने कुरालाई मनोवैज्ञानिक ढङ्गले अल्गोरिदमले अध्ययन गरिरहेको छ । यही कुरा सामान्य मानिसले बुझेका र बुझिरहेका हुँदैनन् ।

सामान्य भाषामा भन्दा अल्गोरिदम भनेको इन्टरनेटमा बिताउने मानिसको मनोविज्ञान बुझेर सोहीअनुसारको सामग्री पस्किने कार्य हो । इन्टरनेटमा प्रयोग हुने ‘की वर्ड’ को रूपमा अल्गोरिदमले काम गरिरहेको हुन्छ । कुन मानिसले कस्ता कि वर्डहरू बढीभन्दा बढी प्रयोग गरिरहेको हुन्छ ? त्यसमा पनि अल्गोरिदमको भूमिका हुन्छ । यसले मानिसहरूको रूची, ध्यान, चाहनालाई बुझेर सोहीअनुसारको सामग्री उसको ‘वाल’ मा पठाइरहेको हुन्छ । यसकारण अल्गोरिदम आजको इन्टरनेटको दुनियाँमा ‘क्षेप्यास्त्र’ वा ‘ड्रोन हमला’ को रूपमा बुझ्न सकिन्छ । यो एउटा अणुबमभन्दा पनि खतरनाक छ । हरेक दिन अझ उच्चस्तरको प्रविधिहरूको प्रयोग हुँदै गइरहेको छ । यसले मानिसहरूको मनोविज्ञानलाई थप बुझ्ने र नियाल्ने कामहरू गरिरहेको हुन्छ ।

अल्गोरिदम प्रोपगाण्डाको एउटा रूप हो । यसले झुट कुराहरूलाई पनि सत्य जस्तै गरी प्रस्तुत गरिदिन्छ । धेरैभन्दा धेरै मानिसहरूमाझमा पुर्याइदिन्छ । जसले गर्दा हामी सबैलाई असत्य कुरा पनि सत्य जस्तै लाग्छ । प्रोपगाण्डामा पनि असत्य कुरालाई सत्य हो भनी बारम्बार प्रस्तुत गर्ने काम गरिन्छ । प्रोपगाण्डा हिजो मानिसदेखि मानिसमाझ विनिमय गरिन्थ्यो भने अहिले इन्टरनेट जस्ता सार्वजनिक स्पेश प्रयोग गरेर अल्गोरिदमको माध्यमबाट झुटहरूलाई फैलाइन्छ । इन्टरनेटको दुनियाँमा अल्गोरिदमले प्रोपगाण्डाको काम गरिरहेको हुन्छ ।

फ्याक्ट चेक

साइबर स्पेश भनेको सार्वजनिक स्थान हो । सार्वजनिक स्थानमा फैलिने र फैलाइने नकारात्मक कुरा सबैका लागि प्रत्यूत्पादक हुन्छ । यसलाई सामान्य रूपमा बुझौँ– तपाईंको गाउँको कुनै टोलमा धेरै फोहोर फालियो र प्रदूषण बढ्दै गयो भने के हुन्छ ? गाउँका हैजा फैलिन सक्छ वा अन्य कुनै सङ्क्रामक रोगहरू लाग्न सक्छ । यसै गरी डिजिटल दुनियाँको सार्वजनिक स्थान पनि प्रदूषण हुँदै गयो वा बढ्दै गयो भने त्यसले मानिसको मन, मस्तिष्कमा गलत प्रभावहरू पार्न सक्छन् । जसले गर्दा मानिस नकारात्मक सोच र प्रवृत्तिबाट उद्यत हुन्छ । उसका हरेक क्रियाकलापहरू गलत र खराब मानसिकताबाट गुज्रिन थाल्छ र समाजलाई नै उसले प्रदूषण फैलाउँछ । ऊ पनि डिजिटल दुनियाँको प्रदूषक बनिदिन्छ र हाम्रो मनमस्तिष्कमा नकारात्मक ‘भाइब्स’ उत्पन्न गराइदिन्छ ।

हो, यस्तै बेलामा अल्गोरिदमको भूमिका बढ्न थाल्छ । अल्गोरिदमको काम मानिसको रूची, भावना, प्रवृत्ति र आनीबानीलाई मात्रै हैन, इन्टरनेटमा सबैभन्दा बढी रुचाइएको (त्यो खराब नै किन नहोस्) सामग्री अझ भनौँ, बढी लाइक, कमेन्ट र शेयर भएका सामग्रीहरूलाई धेरैभन्दा धेरै मानिसहरूमा पुर्याउन भूमिका खेल्न थाल्छ । यस्तो बेलामा साइबर स्पेश नै प्रदूषण हुन थाल्छ । यहाँ प्रदूषकको काम कुनै मान्छेले गरिरहेको हुँदैन । मान्छेहरू उपभोक्ता मात्रै हुन्छन् । यहाँ अल्गोरिदम मुख्य भूमिकामा उपस्थित हुन्छ । संसारका मानिसहरू उसका उपभोक्ता हुन थाल्छन् र अन्ततः हाम्रो साइबर स्पेश भनौं वा इन्टरनेटको संसारलाई प्रदूषित बनाइदिन्छ ।

यस्तै बेलामा हामीले फ्याक्ट चेकको प्रयोग गर्न सक्छौँ । आखिर फ्याक्ट चेक चाहिँ के हो ? यसले कसरी काम गर्छ ? यो किन आवश्यक छ ? भन्ने जस्ता प्रश्नहरू हाम्रो मनमा आउन सक्छ । फ्याक्ट चेकलाई सामान्य अर्थमा बुझ्दा इन्टरनेटमा भएका सामग्रीहरूलाई नै खोजी गरी त्यसको तथ्य पत्ता लगाउने र मानिसहरू सामु त्यो तथ्यलाई बताइदिने काम गर्दछ । यसले कुनै नयाँ सामग्री उत्पादन गर्दैन । न त उपभोग नै गर्छ । यसले साइबर स्पेशको दुनियाँमा भएका सामग्रीहरूको खोजी गर्ने, सूचना सङ्कलन गर्ने, स्रोतको पहिचान गर्ने, विश्लेषण गर्ने र उपभोक्तामाझमा सही र सत्य सूचना सम्प्रेषण गर्ने काम गर्छ ।

एआई निर्मित काल्पनिक तस्वीर ।

फ्याक्ट चेकले नयाँ तथ्यको खोजीभन्दा पनि इन्टरनेटमा भएका सामग्रीको खोजी गरेर त्यसको तथ्य पत्ता लगाई आम उपभोक्तामाझमा तथ्यपूर्ण सामग्री पस्किने काम गर्दछ । फ्याक्ट चेक नयाँ टुल्स वा उपकरण होइन । जब–जब संसारमा गलत कुराहरू फैलाउनका लागि विभिन्न माध्यम तथा सामग्रीको प्रयोग गरिन थाल्छ त्यसलाई नियन्त्रण गर्नका लागि पनि अर्को सामग्रीको निर्माण भएको हुन्छ । त्यसरी नै फ्याक्ट चेक पनि गलतलाई गलत र सहीलाई सही भन्नका लागि मानिसहरूद्वारा गरिएको प्रयास हो । किनकि मानिस सवर्था सबैभन्दा माथि हुन्छ । मानिसहरूद्वारा निर्मित एआई, रोबर्ट जस्ता सामग्रीहरू मानिसको उपयोगिताका लागि निर्माण गरिएका हुन् तर आजको दिनमा यसले मानिसलाई नै शासन गर्ने अवस्थामा पुगिसकेको छ ।

मानिसबाट शासित एआई तथा रोबर्ट जस्ता सामग्रीहरूले मानिसहरूको मनमस्तिष्कलाई नै चलाउँदै गएको अवस्था छ । अल्गोरिदमकै कारण मानिसहरू सामाजिक सञ्जालमा घण्टौँसम्म बिताइरहेका हुन्छन् । किनकि उसले मानिसहरूलाई मन पर्ने तथा उसले खोजेको जस्तो सामग्रीलाई सहजै पहुँच बनाइदिन्छ । यहीबेलामा सही र सत्य कुरा के हो भन्ने ज्ञान नहुने हाम्रो जस्तो ‘थर्ड वल्ड’ का नागरिकहरूलाई थप रनभुल्लमा पारिदिने काम गर्दछ । फ्याक्ट चेकको मुख्य उद्देश्य नै इन्टरनेट जस्ता सार्वजनिक स्पेशमा फैलिएका प्रदूषणलाई न्यूनीकरण गर्नु हो । त्यस्ता प्रदूषणहरूले मानिसको मनमस्तिष्कलाई थप प्रदूषित बनाइरहेको बेलामा फ्याक्ट चेकले त्यस्ता प्रदूषणको न्यूनीकरण र नियन्त्रणमा भूमिका खेल्छ । फ्याक्ट चेकले नियन्त्रण र नियमन भने गर्दैन । यो त्यस्तो इन्टरनेटीय सामग्री चाहिँ होइन । यसको खास दायित्व तथा काम भनेकै इन्टरनेटमा भएका सामग्रीहरूलाई खोजेर, विश्लेषण गरेर, अध्ययन गरेर, त्यससँग जानकार व्यक्तिहरूसँग बढीभन्दा बढी सामग्री लिएर पुष्ट्याइँ गरी उपभोक्तामाझ पुर्याउँदछ ।

हो यहाँ अल्गोरिदमको भूमिका के हुन्छ त ? अल्गोरिदमले नकारात्मक कुराहरूलाई मात्रै बेच्छ भन्ने पक्कै पनि होइन । यसले सकारात्मक कुराहरूलाई पनि बिक्री गर्न सक्छ तर उपभोक्ताहरूले के खोजिरहेका छन् ? कस्ता कुरा हेर्न चाहिरहेका छन् ? कुन सामग्रीहरूमा सबैभन्दा बढी समय बिताउँछन् ? कस्ता सामग्रीहरूमा उपभोक्ताको ध्यान गइरहेको छ । उसको चाहना के हो ? इच्छा के हो ? भन्ने कुरालाई अल्गोरिदमले विश्लेषण र संश्लेषण गरिरहेको हुन्छ । यस्तै बेलामा अल्गोरिदमले सार्वजनिक हितका लागि, जनहितका लागि काम गर्न सक्छ । उसले सही र सकारात्मक उद्देश्य राखेमा हाम्रा लागि प्रत्यूत्पादक नभई उत्पादक हुन सक्छ ।

अल्गोरिदमलाई ठीक ट्र्याकमा ल्याउनका लागि चाहिँ ‘फ्याक्ट चेक’ ब्रह्मास्त्र हुन सक्छ । फ्याक्ट चेकले इन्टरनेट जस्ता सार्वजनिक स्थानमा फैलिएका नकारात्मक र झुट कुराहरूलाई इन्टरनेटकै माध्यमबाट प्रस्तुत गर्दछ । उसले प्रमाणहरू पेश गर्दछ । प्रमाणहरूको स्रोतसमेतलाई प्रस्तुत गर्दछ । किन र कसरी झुट हो भन्ने प्रश्नका उत्तरको खोजी गर्दछ । जसले गर्दा इन्टरनेटका उपभोक्ताहरूले सही र सत्य सामग्री के हुन् भन्ने कुरामा विश्वास गर्न थाल्छन् ।

नागरिकको भूमिका

आज हामी चाहेर नचाहेर इन्टरनेटको दुनियाँ प्रवेश गरिसकेका छौँ । प्रविधिलाई आत्मसात गरिसकेका छौँ । साइबर स्पेशको सार्वजनिक दुनियाँमा छिरिसकेका छौँ । त्यसकारण अब यसबाट बाहिर निस्कन सजिलो छैन । तर, हामीले आफूलाई संयमित, सुशासित र जवाफदेही बनाउने हो भने अल्गोरिदमको भूमिका पनि सुध्रिँदै जाने थियो । अल्गोरिदमले इन्टरनेटमा बिताउने आम उपभोक्ताको मनोविज्ञानलाई अध्ययन गरेर काम गर्ने भएकाले इन्टरनेटका उपभोक्ताहरू नै बढी जिम्मेवार हुन आवश्यक देखिँदै गएको छ । अल्गोरिदमलाई निरुत्साहित गर्न हामी आफैले बढीभन्दा बढी भूमिका खेल्न सक्छौँ । त्यस्तो बेलामा फ्याक्ट चेकको आवश्यकता कम पर्न सक्छ । यसको अर्थ फ्याक्ट चेक चाहिँदैन भन्ने होइन । किनकि संसार यति खुम्चिएको छ कि जहाँ एक मिनेटमा हामी संसारको जुनसुकै कुनामा पनि सयर गर्न सक्छौँ । यस्तो अवस्थामा कहीँ न कहीँ गलत सामग्रीहरू पनि फैलिन्छन् नै । त्यसलाई नियमन गर्ने संयन्त्रको विकास देशहरूले आ–आफ्नै किसिमले गरेका छन् तर त्यो प्रभावकारी हुन सकेको छैन । यसले गर्दा फ्याक्ट चेक यस्तो बेलामा बढी प्रभावकारी हुन सक्छ । यसको काम नियमन भन्दा पनि भ्रामक सामग्रीको न्यूनीकरण हो । नागरिक आफै सचेत हुँदै जाने हो भने ‘अल्गोरिदम’ बिस्तारै निस्प्रभावी हुन सक्छ ।

(लेखकः फ्याक्ट चेकर साथै ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादकसमेत हुन् ।)

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्