दशैंको भोजपछि रक्तचाप बढेको, तिहारको मिठाईपछि रगतमा चिनी उकालो लागेको, लगातार मासु र चिल्लो खाएपछि पेट बिग्रिएको वा चाडपर्वको भीडमा दूषित खाना–पानीका कारण झाडापखाला भएको– यस्ता घटना हाम्रा लागि नयाँ होइनन् । अझ चिन्ताको कुरा, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मुटु तथा मिर्गौलाका बिरामी र ज्येष्ठ नागरिकका लागि चाडपर्वको ‘अलिकति बढी’ खानपान कहिलेकाहीँ सामान्य असहजताभन्दा गम्भीर स्वास्थ्य समस्याको कारण बन्न सक्छ ।

हामी चाडपर्वमा खुसी बाँड्न घर फर्किन्छौँ, तर अस्पतालको आकस्मिक कक्षमा पुग्ने अवस्था नआओस् भन्ने सावधानी पनि उत्तिकै आवश्यक छ । चाडपर्व खानाबाट भाग्ने समय होइन, खानालाई नियन्त्रणमा राख्ने, औषधि नियमित गर्ने, स्वच्छता कायम गर्ने र शरीरले दिएको संकेतलाई समयमै बुझ्ने समय हो ।

दशैं, तिहार र छठ हाम्रो संस्कृति र पारिवारिक आत्मीयताका पर्व हुन् । त्यसैले यी पर्वलाई स्वास्थ्यसँग प्रतिस्पर्धा गराउनु आवश्यक छैन । केही सरल सावधानी अपनाएर स्वाद पनि लिन सकिन्छ र स्वास्थ्य पनि जोगाउन सकिन्छ ।

स्वाद जिब्रोको मात्र होइन, स्वास्थ्यको पनि हो

चाडपर्वमा राम्रो खाना खानु हाम्रो संस्कृतिको हिस्सा हो । त्यसैले ‘चाडपर्वमा मासु खानु हुँदैन’, ‘मिठाई खानै हुँदैन’ भन्ने सन्देश व्यवहारिक हुँदैन । समस्या खानामा होइन, मात्रामा र निरन्तरतामा हुन्छ ।

दशैंमा लगातार धेरै मासु, विशेषगरी बोसोयुक्त मासु, तारेका परिकार, घ्यू र अत्यधिक नुनको प्रयोगले पाचन समस्या मात्र होइन, रक्तचाप, रगतमा चिनी र बोसोको नियन्त्रणमा पनि असर पार्न सक्छ । तिहारमा मिठाई, सेलरोटी, फिनी, अनरसा तथा अन्य परिकारको मात्रा बढ्छ । छठमा पनि विभिन्न प्रकारका प्रसाद र परिकार सेवन गरिन्छ । हामीले परम्परा छोड्नु पर्दैन । तर, परम्परालाई स्वास्थ्यसँग मिलाउनुपर्छ ।

सानो प्लेट प्रयोग गर्ने, तरकारी तथा दाललाई पनि खानामा पर्याप्त स्थान दिने, बोसो कम भएको मासु रोज्ने र तारेका तथा अत्यधिक गुलिया परिकार सीमित गर्ने जस्ता साना उपायले ठूलो फरक पार्न सक्छ । चाडपर्वमा खानाको विविधता बढाऔँ, मात्रा होइन ।

मधुमेह भएका व्यक्तिका लागि तिहारको मिठाई परीक्षा नबनोस्

मधुमेह भएका व्यक्तिले चाडपर्वमा सबैभन्दा बढी सामना गर्ने प्रलोभन मिठाई हो । ‘एक टुक्रा मात्र हो’, ‘आज तिहार हो’, ‘वर्षमा एकपटक त खानैपर्छ’ यस्ता भनाइबाट सुरु भएको मिठाईको मात्रा कहिलेकाहीँ अनुमानभन्दा धेरै हुन सक्छ । मधुमेह भएका व्यक्तिले मिठाई पूर्ण रूपमा निषेध गर्नुपर्ने अवस्था सधैँ हुँदैन । तर, मात्रा, समय र आफ्नो रक्तचिनीको अवस्थालाई ध्यान दिनु आवश्यक हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा नियमित औषधि वा इन्सुलिन नछुटाउनु हो । चाडपर्वका कारण दैनिक तालिका परिवर्तन भए पनि चिकित्सकले दिएको उपचार योजना आफैँ परिवर्तन गर्नु हुँदैन । लामो समय भोकै बसेर एकैपटक धेरै खाना खाने बानी पनि उचित होइन । पर्याप्त पानी पिउने, सम्भव भएसम्म नियमित हिँडडुल गर्ने र खाना तथा औषधिको तालिका कायम राख्ने प्रयास गर्नुपर्छ ।

उच्च रक्तचाप र कोलेस्टेरोल – चाडपर्वमा पनि नियन्त्रणमै

उच्च रक्तचापलाई धेरै मानिसले ‘लक्षण नदेखिएसम्म समस्या होइन’ भनेर बुझ्ने गर्छन् । तर, यही सोच जोखिमपूर्ण हुन सक्छ । चाडपर्वमा नुनिलो अचार, दालमोठ, चिप्स, प्रशोधित खाना, अत्यधिक मासु तथा मदिराको सेवन बढ्दा रक्तचाप नियन्त्रणमा असर पर्न सक्छ । त्यस्तै, डिस्लिपिडेमिया अर्थात् कोलेस्टेरोल वा ट्राइग्लिसराइड बढेका व्यक्तिले अत्यधिक बोसोयुक्त मासु, घ्यू, नौनी र तारेका खानेकुरामा विशेष सावधानी अपनाउनुपर्छ । चाडपर्वमा एक–दुई दिनको खानाले मात्र स्वास्थ्य निर्धारण गर्दैन । तर ‘चाडपर्व हो’ भन्दै धेरै दिनसम्म अस्वस्थ खानपान चलिरह्यो भने त्यसको असर अवश्य पर्न सक्छ । त्यसैले पर्वका दिनमा पनि नुन, चिनी र अस्वस्थ बोसोको मात्रा नियन्त्रण गर्नु नै बुद्धिमानी हो ।

ज्येष्ठ नागरिकलाई ‘अरूले खाएजति’ होइन, ‘उहाँलाई आवश्यक’ खाना

चाडपर्वमा ज्येष्ठ नागरिकलाई हामी प्रायः मायाले धेरै खाना खुवाउन खोज्छौँ ।
‘अलिकति मासु खानुस् ।’
‘यो मिठाई पनि खानुस् ।’
‘अझै अलिकति थपौँ ।’

तर, उमेर बढ्दै जाँदा शरीरको पाचन क्षमता, तिर्खाको अनुभूति र शारीरिक रिजर्भमा परिवर्तन आउन सक्छ । धेरै ज्येष्ठ नागरिक मधुमेह, उच्च रक्तचाप, मुटु, मृगौला वा अन्य दीर्घरोगका औषधि सेवन गरिरहेका हुन्छन् ।

त्यसैले ज्येष्ठ नागरिकलाई माया गर्ने सबैभन्दा राम्रो तरिका धेरै खुवाउनु होइन, सही मात्रामा सही खाना दिनु हो । परिवारका सदस्यले उहाँहरूको औषधि समयमै सेवन भए÷नभएकोमा ध्यान दिनुपर्छ । लामो यात्रामा जाँदा पर्याप्त औषधि, चिकित्सकीय रिपोर्ट र आवश्यक स्वास्थ्य सामग्री साथमा राख्नुपर्छ । ज्येष्ठ नागरिकलाई लामो समयसम्म एक्लै छोड्नु हुँदैन । उनीहरूलाई सुरक्षित वातावरण, पर्याप्त आराम र उनीहरूको क्षमताअनुसार हल्का शारीरिक गतिविधिको अवसर दिनुपर्छ ।

छठको व्रत र दीर्घरोग

छठ आस्था, अनुशासन र समर्पणको पर्व हो । तर, स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिका लागि लामो समय खाना वा पानी नलिने व्रत चुनौतीपूर्ण हुन सक्छ । विशेषगरी मधुमेह भएका व्यक्तिमा लामो समय खाना नखाँदा र औषधि वा इन्सुलिनको व्यवस्थापन नमिल्दा रक्तचिनी अत्यधिक घट्न वा बढ्न सक्छ । मुटु वा मृगौलाका बिरामीले पनि आफ्नो चिकित्सकीय अवस्थाअनुसार व्रतको निर्णय गर्नुपर्छ । धार्मिक आस्था अत्यन्त महत्वपूर्ण छ, तर स्वास्थ्य सुरक्षालाई बेवास्ता गरेर धार्मिक अभ्यास गर्नु आवश्यक छैन । व्रतका क्रममा अत्यधिक कमजोरी, चक्कर, बेहोस हुने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने वा असामान्य व्यवहार देखिएमा तत्काल स्वास्थ्य सहायता लिनुपर्छ ।

चाडपर्वमा झाडापखाला र वान्ता : सामान्य ठानेर नबसौँ

चाडपर्वमा ठूलो संख्यामा मानिसहरू भेला हुन्छन् । घरमा धेरै परिकार पकाइन्छ । खाना लामो समयसम्म बाहिर राखिन सक्छ । यात्रा गर्दा असुरक्षित पानी वा खाना सेवन हुन सक्छ । यिनै कारणले acute gastroenteritis, झाडापखाला, बान्ता र पेट दुख्ने समस्या देखिन सक्छ । यसबाट बच्ने उपाय निकै सरल छन् । तर, व्यवहारमा उतार्नु आवश्यक छ । खाना खानुअघि र शौचालय गएपछि साबुनपानीले हात धुने, सुरक्षित पानी पिउने, मासु तथा अन्य खाद्य पदार्थ राम्ररी पकाउने, बासी वा शंकास्पद खाना नखाने र पकाएको खाना लामो समयसम्म कोठाको तापक्रममा नराख्ने । झाडापखाला भएमा शरीरबाट पानी र इलेक्ट्रोलाइटको कमी हुन्छ । त्यसैले जीवनजल अर्थात् ओआरएसको प्रयोग महत्वपूर्ण हुन्छ ।
तर, अत्यधिक बान्ता भएर पानीसमेत पिउन नसक्ने, अत्यधिक कमजोरी वा बेहोस हुने, दिसामा रगत आउने, उच्च ज्वरो हुने वा जलवियोजनका संकेत देखिएमा घरमै बसेर उपचार गर्ने होइन– स्वास्थ्य संस्थामा पुग्नुपर्छ ।

औषधिको झोला पनि यात्राको सामान हो

चाडपर्वमा लामो यात्रा गर्ने नेपालीको संख्या ठूलो हुन्छ । यात्रामा कपडा, मोबाइल, पैसा र उपहार सम्झिए पनि नियमित औषधि बिर्सिने अवस्था आउन सक्छ । दीर्घरोग भएका व्यक्तिले यात्रामा जाँदा पर्याप्त औषधि साथमा राख्नुपर्छ । सम्भव भए औषधिको नाम, मात्रा र सेवन गर्ने समय लेखिएको सूची पनि राख्नु उपयोगी हुन्छ । चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्ने, मात्रा घटाउने वा बढाउने गर्नु हुँदैन । विशेषगरी रक्तचाप र मधुमेहका औषधि ‘आज खाना फरक भयो’ वा ‘आज व्रत छ’ भन्दै आफैँ रोक्नु उचित हुँदैन । यस्तो अवस्थामा उपचार योजनाबारे पहिले नै चिकित्सकसँग सल्लाह लिनु सुरक्षित हुन्छ ।

शरीरले दिएको संकेतलाई चाडपर्वको नाममा बेवास्ता नगरौँ

चाडपर्वको व्यस्ततामा मानिसहरू स्वास्थ्यका गम्भीर संकेतलाई पनि बेवास्ता गर्छन् । छाती दुख्ने, सास फेर्न गाह्रो हुने, अचानक बोली अस्पष्ट हुने, शरीरको एक भाग कमजोर वा लाटो हुने, बेहोस हुने, लगातार बान्ता हुने, दिसामा रगत आउने वा अत्यधिक जलवियोजन हुनेजस्ता लक्षण देखिएमा ‘पर्वपछि अस्पताल जाउँला’ भनेर पर्खनु हुँदैन । विशेषगरी मुटु, मस्तिष्क र गम्भीर संक्रमणसम्बन्धी समस्यामा उपचारमा हुने ढिलाइले परिणाममा ठूलो असर पार्न सक्छ ।

चाडपर्वको सबैभन्दा ठूलो उपहार – स्वस्थ परिवार

हामीले चाडपर्वमा महँगो कपडा, नयाँ सामान वा स्वादिष्ट खाना एकअर्कालाई उपहार दिन्छौँ । तर, यस वर्ष एउटा फरक उपहार दिऔ– स्वास्थ्यको उपहार । बुबाआमाको औषधि समयमै खुवाऔँ । मधुमेह भएका परिवारका सदस्यलाई अत्यधिक मिठाई खान दबाब नदिऔँ । रक्तचाप भएका व्यक्तिका लागि नुनिलो खाना कम गरौँ । ज्येष्ठ नागरिकलाई सुरक्षित यात्राको व्यवस्था गरौँ । बासी खाना फाल्न हिच्किचाउनु हुँदैन । र, गम्भीर लक्षण देखिएमा अस्पताल जान ढिला नगरौँ ।

अन्ततः चाडपर्वको उद्देश्य हाम्रो जीवनलाई अझ खुसी, अर्थपूर्ण र आत्मीय बनाउनु हो । त्यसैले यस वर्षको दशैं, तिहार र छठमा एउटा सानो मन्त्र सम्झौँ– ‘खानामा संयम, औषधिमा नियमितता, व्यवहारमा सावधानी र स्वास्थ्यमा प्राथमिकता ।’ किनकि चाडपर्वको वास्तविक खुसी त्यतिबेला हुन्छ, जब हामी पर्व मनाएर पनि स्वस्थ शरीर, शान्त मन र आफ्ना प्रियजनसँग सुरक्षित रूपमा घर फर्किन्छौँ ।

स्वस्थ रहौँ । सुरक्षित रहौँ । चाडपर्व मनाऔँ—स्वास्थ्यसँग सम्झौता नगरी ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्