कहिलेकाहीँ मानिसको जीवन नसोचेको मोडमा मोडिन्छ । एउटा बाटो हिँडिरहेको व्यक्तिले परिस्थिति र अवसर अनुसार अर्कै बाटो तय गर्नुपर्ने अवस्था आउँछ । यस्तै मोड आएको छ, इलामको माङसेबुङ–६ की नुमा राईको जीवनमा पनि । गायन क्षेत्रमा स्थापित हुने लक्ष्यका साथ अघि बढेकी उनी अहिले आफ्नो सांगीतिक पहिचानलाई फराकिलो बनाउँदै रङ्गमञ्च (थिएटर)सम्म पुगेकी छिन् ।
नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ को पहिलो सिजनमा उत्कृष्ट ८ (फाइनलिस्ट ८) मा पुगिन् नुमा । आफ्नो सुमधुर स्वरको जादू छरेर दर्शक र स्रोताको वाहीवाही पाएकी उनले सानै उमेरमा सांगितिक क्षेत्रमा गहिरो छाप छोडिसकेकी छन् । गायनमै भविष्य खोज्ने दृढ संकल्प लिएकी नुमाको जीवनमा रङ्गमञ्चको प्रवेश भने एउटा रमाइलो संयोग बनेर आयो ।

‘भ्वाइसमा जाँदा नै म नाटक हेर्न गइरहन्थेँ । नाटक हेर्दा ओहो ! म पनि स्टेजमा चढेर एक्टिङ गर्न पाए कस्तो हुन्थ्यो होला ? भन्ने प्रश्न मनमा खेलिरहन्थ्यो । नाटक गर्छु नै भन्ने नभए पनि भित्री रहर भने थियो,’ नुमा भन्छिन् ।
म्युजिक भिडियो गर्ने क्रममा उनको भेट रङ्गकर्मी प्रतिना राईसँग भयो । नुमाले उनीसँग नाटकमा काम गर्ने इच्छा पहिले नै व्यक्त गरेकी थिइन् । तिनै चिनजान र कलाप्रतिको लगावले उनलाई रङ्गमञ्चको ढोका खोलिदियो । प्रतिना राईमार्फत प्रस्ताव पाएपछि उनी ०८१ माघ मा ‘मुक्कुमलुङ : चोत्लुङ अफ याक्थुङ’ नाटकबाट औपचारिक रूपमा रङ्गमञ्चमा प्रवेश गरिन् । अनिल सुब्बा निर्देशित सो नाटकबाट पहिलो पटक अभिनय गरेकी नुमाका लागि त्यो प्रयास सफल साबित भयो । मुकुम्लुङसँगै उनले ‘उर्फ दारासिंह’, ‘डल्ले खोला’, ‘कछुवा खरायो’ जस्ता नाटकहरूमा आफ्नो जीवन्त अभिनय पस्किसकेकी छन् ।
अभिनय मात्र होइन, लाइभ म्युजिकमा पनि उत्तिकै सक्रिय नुमाको कला अभिनयमा मात्र सीमित छैन । मञ्चमा प्रत्यक्ष अभिनय गर्नुअघि नै उनले लाइभ म्युजिक (प्रत्यक्ष संगीत) को क्षेत्रमा समेत आफ्नो दक्षता देखाएकी छिन् । स्टेजमा भौतिक रूपमा उपस्थित नभए पनि उनले ‘झोडा’ र ‘खमारी’ जस्ता नाटकहरूमा प्रत्यक्ष संगीत दिएर सांगीतिक योगदान पुर्याएकी छन् । उनको यो बहुमुखी प्रतिभामा नृत्यले पनि ठूलो साथ दिएको छ ।
गाउनुअघि नृत्य सिकेको कारण उनलाई रङ्गमञ्चमा हाउभाउ र शारीरिक अभिनय गर्न निकै सहज भयो ।

औपचारिक रूपमा अभिनयको कुनै विशेष कक्षा नलिए पनि निरन्तरको अभ्यासले नुमालाई यो उचाइमा पुर्याएको छ । आगामी दिनमा गायन र रङ्गमञ्च दुवैलाई सँगै अगाडि बढाउने उनको संकल्प छ । नाटकमा हुने लाइभ म्युजिक र अभिनय दुवै माध्यमबाट कला क्षेत्रमा निरन्तर योगदान दिने नुमाको योजना छ । साथै, रंगमञ्चलाई अझ गहिराइमा बुझ्न छिट्टै वर्कसप लिने उनी बताउँछिन् ।
‘मैले अहिलेसम्म अभिनयको क्लास त लिएको छैन । अब वर्कशपहरु लिने सोचमा छु । नाटकमा अभिनय र संगीतमा योगदान गर्न पाउँदा खुशी छु,’ नुमा भन्छिन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।