संस्कृतिको आधार चाडपर्व
चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जाति, समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने, धार्मिक अनुष्ठान गर्ने र पूजाआजा गरी भोजभतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । कुनै पनि संस्कृतिको जिवन्तताका लागि चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । चाडपर्वहरू कुनै पनि संस्कृतिका खम्बा हुन्, जसले समाजलाई अनुशासन, खुसी र एकताको सुत्रमा बाँधेर राख्छन् । चाडपर्व बिना कुनै पनि संस्कृति जीवित र रंगीन रहन सक्दैन । किनभने हरेक संस्कृतिमा चाडपर्वले मानव जीवन, समाज र परम्परालाई जीवन्त राख्न मद्दत गरेका छन् ।
चाडपर्व केवल रमाइलो गर्ने माध्यम मात्र होइनन्, यसका पछाडि गहिरा सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक कारणहरू हुन्छन् । कुनै पनि जाति, समुदाय र समाजका आफ्नै विशिष्ट सांस्कृतिक पक्षहरु हुन्छन् । तिनको पहिचानको संरक्षणमा चाडपर्वले साझा भूमिका खेलेको हुन्छ । चाडपर्वका माध्यमबाट कुनै पनि जाति, समुदाय, समाजले आफ्नो इतिहास, परम्परा, मूल्य, मान्यता आदिलाई जोगाएर राख्न मद्दत पुगेको हुन्छ । जसका कारण संस्कृतिको पुस्तान्तर (पुराना पुस्ताबाट नयाँ पुस्तालाई पुर्खाको इतिहास र पहिचानसँग जोड्ने) हुने प्रक्रिया अगाडि बढेको हुन्छ ।
कुनै पनि समाजका लागि सामाजिक एकता र सद्भावको वृद्धि अविछिन्न र महत्वपूर्ण विषय हो । आजको आर्टिफिसियल इन्टिलिजेन्सको युगमा मानव समाज र दैनिक व्यस्त जीवनमा परिणत भइसकेको छ । विश्वलाई ग्लोबल भिलेज मानिएको छ । आवश्यकता र अवसरको खोजीमा हरेक घरपरिवारका सदस्य एकै ठाउँमा बस्ने वातावरण अभाव हुँदैगएको छ ।
यसरी टाढिएका परिवार, आफन्त र साथीभाइहरू चाडपर्वको बहानामा एकै ठाउँमा जम्मा हुन पाउने सुनौलो अवसर जुरेको हुन्छ । टाढा–टाढा पुगेका परिवारका सदस्य, आफन्त, इष्टमित्र, साथीभाइबीच आपसी मेलमिलाप, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउने काममा चाडवाडको भूमिका महत्वपूर्ण रहिआएको छ ।
चाडपर्वका सन्दर्भमा सांस्कृतिक पक्षसँगै धार्मिक पक्ष पनि जोडिएको हुन्छ । नेपाली सन्दर्भमा हामी धार्मिक मूल्य, मान्यताबाट समेत चाडपर्व मनाउने गर्दछौँ । हिन्दु धर्मका धेरैजसो चाडपर्वहरू असत्यमाथि सत्यको विजय, शक्तिको उपासना, मानिसका साथै जनावरको समेत पुजन जस्ता विषय जोडिएका छन् । समग्रमा समाजमा सकारात्मक सोच, क्षमाशीलता, र परोपकार जस्ता नैतिक मूल्यहरूलाई चाडपर्वका माध्यमबाट बढावा दिइन्छ । त्यस्तै, मिठोमसिनो खाने र खुवाउने, राम्रो लगाउने, दिल खोलेर खर्च गर्ने आदि स्वाभाव र प्रचलनका कारण चाडपर्वले आर्थिक गतिविधिमा गतिशीलता ल्याउँछ ।
अरु समयमा भन्दा चाडवाडकै बेला अधिकांश परिवारले नयाँ घर, आवश्यक सरसामान (टेलिभिजन, रेफ्रिजिरेटर, वासिङमेसिन, कम्युटर, ल्यापटप, मोबाइल) देखि सवारीका साधनसमेत खरिद गर्ने चलन छ । त्यस्तै, खाद्यान्नका सामानदेखि मासु, मदिरा, लताकपडा आदिका लागि मानिसले खर्च गर्ने हुनाले बजारमा आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुगेको हुन्छ ।
व्यस्त समय र खर्चिलो जीवन शैलीका कारण आजका मानिसले बेफुर्सदको दैनिकी बाँच्नु परेको छ । दैनिक कामको तनाव र थकानबाट मुक्त हुन चाडपर्वहरूले मानिसलाई अवसर प्रदान गरेको हुन्छ । भेटघाट, खानपान, नाचगान, रमाइलो वातावरणले मानिसलाई खुसी र ऊर्जावान् बनाउँछ । सकारात्मक सोचको विकासमा टेवा दिन्छ । नेपाली सन्दर्भमा कतिपय जाति, समुदायका चाडपर्व प्राकृतिक कारणले महत्वका छन् । धेरैजसो चाडपर्वहरू ऋतु परिवर्तन, खेतीपाती र प्रकृतिको पूजा गर्ने कार्यसँग सम्बन्धित छन् ।
चाडपर्वको अनेक महत्व

चाडपर्वको आफ्नै मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक महत्व रहेको छ । त्यसैले समाजमा मानिसहरूले परम्परागत शैलीमै चाडपर्वहरू मान्दै आएका छन् । नेपालमा धार्मिक मूल्य, मान्यताअनुसार विभिन्न चाडपर्व मनाइन्छ । दशैं, तिहार, छठ, इद, रमजान, क्रिसमस, तीज, देउडा, गाईजात्रा, इन्द्रजात्रा, होली, उधौली–उभौली, ल्होसार आदि थुप्रै चाडपर्व छन् । हरेक जाति र समुदायको आफ्नै रीतिरिवाज, संस्कार, संस्कृति छन् । त्यसैगरी जातिगत र समुदायगत चाडपर्वगत भेषभूषा, भाषा र गरगहनाको विविधता पनि छन् । हिन्दु धर्मावलम्बीका लागि तीज, दशैं, तिहार जस्ता चाड बढी महत्वका छन् । अन्य धर्मवलम्बीका लागि पनि उसैगरी आफ्ना मौलिक चाडपर्वको महत्व रहन्छ ।
दशैंमा जमरा राख्नेदेखि फूलपाती भित्र्याउने, नवदुर्गाको पूजा आरधना गर्ने, बलि दिने र आफू भन्दा ठूला, मान्यजनबाट टीका र जमरा ग्रहण गरेर आशिर्वाद लिने कार्य गरिन्छ । यसपछि लगत्तै तिहार अर्थात शुभ दीपावलीमा काग, कुकुर, गाई, गोरु र माइतीको पूजा गरिन्छ । तिहारलगत्तै तराई क्षेत्रमा मनाइने छठपर्वको रौनक सुरु हुन्छ । यी चाडका आफ्नै मौलिक विशेषता र पराम्परागत महत्व रहेका छन् ।
चाडपर्वमा गुमेका पक्ष
जो कसैले सहजै भन्न र स्वीकार्न सक्छ, नेपाली विशेषताका मौलिक चाडपर्वमा विविध पक्ष गुम्दै गएका छन् । आधुनिकताका नाउँमा चाडपर्व भड्किलो बन्दै गएका छन् । मौलिक पक्षको अभावले चाडवाड रस बिनाको फलजस्तो हुँदै गएका छन् । बिगतमा जस्तो दशैंको रोटेपिङ, लिङ्गे पिङ सहर र गाउँ दुवैतिरबाट लगभग हराएको छ । हार्दिकता र सद्भाव सामाजिक सञ्जालतिर बढी छाएका छन्, भौतिक रूपमा भेटघाट र मन माझामाझ घट्दो छ । तिहारको देउसी–भैलोका भाका, लय र आत्मियता डिजे बाजाले मिचेको छ भने तीजको विशेषता र महत्वलाई महिनौँ दिनअघि देखिको दरखाने आधुनिकताले फिका बनाउँदै लगेको छ । होली वा फागु पूर्णिमाको सद्भाव साट्ने पर्वलाई रङ्गले भन्दा बढी भाङले छोप्दा चाडपर्वका मौलिकामाथि प्रश्न उठ्न थालेका छन् । यसरी आधुनिक हुने नाउँमा चाडपर्वका मौलिक विशेषता र मूल्यमाथि नै प्रहार भइरहेको छ । यो दुखद् पक्ष हो ।
फुर्सद्को सदुपयोग
अन्य समयमा भन्दा दशैं र तिहारमा लामो बिदा हुने भएपछि विदालाई चाडपर्व मनाउनेसँगै अन्य काममा पनि सदुपयोग गर्ने प्रचलन रहँदै आएको छ । घरबाट टाढा हुनेहरु पनि चाडवाडमा घर पुग्ने भएकाले हितैसी साथीसंगी भेटघाट र रमाइलोको माहोल निक्कै रोचक हुन्छ । लामो विदा हुने भएकाले पनि दशैं, तिहार जस्ता चाडविदा वर्षभरिको थकाइ मार्ने र नयाँ उर्जा प्राप्त गर्ने उत्कृष्ट अवसर हो । तर, यो समयलाई केवल सुतेर वा मोबाइल चलाएर बिताउनु भन्दा उत्पादनमूलक, उपलब्धिमूलक र रमाइलो बनाउन सकिन्छ ।
१. पारिवारिक गफगाफ
घरमै पारिवारिक गफगाफले पनि विदा सदुपयोग मात्रै हुँदैन, व्यस्तताका कारण लामो समयदेखि भेट नभएका आफन्तसँग अन्तरंग कुराकानी र विशिष्ट पारिवारिक योजना बनाउन मद्दत पुग्दछ । घर परिवारमा आफू भन्दा अग्रजहरू छन् (जस्तैः हजुरबुबा–हजुरआमा) भने उहाँहरुसँग बसेर उहरूको पालाको दशैं, पारिवारिक इतिहास र अनुभवहरू सुन्न र ज्ञान लिन सकिन्छ । यसबाट परिवारभित्रको पुस्तान्तरणको दूरी घटाउँछ ।
२. व्यक्तिगत विकास र सिकाई
प्रविधिको सदुपयोग गरेर दशैं, तिहारको विदा सदुपयोग गर्दै अनलाइनमार्फत उपलब्ध हुने विभिन्न सीप सिक्ने अवसरका रूपमा हामी चाडपर्वलाई सदुपयोग गर्न सक्छौँ । आफ्नो रुचीअनुसार फोटोग्राफी, फोटोसप, भिडियो एडिटिङ, कोडिङ, पब्लिक स्पिकिङ, नेतृत्व विकास अदि तालिम लिन सकिन्छ । त्यस्तै, कुनै नयाँ भाषा सिकाईका लागि पनि उपयुक्त समय प्राप्त हुन्छ ।
३. पुस्तक पढ्ने
लामो समयदेखि पढ्न मन लागेर पनि समय अभावका कारण नमिलेका साहित्यिक, व्यवसायिक वा क्षमता अभिवृद्धिसँग सम्बन्धित र जीवन उपयोगी पुस्तकहरू पढ्ने अवसरका रूपमा विदालाई सदुपयोग गर्न सकिन्छ ।
४. आर्थिक योजना
आफ्नो कमाइ, खर्च र लगानीको समीक्षा गर्दै आगामी वर्षको लागि बजेट वा वित्तीय योजना बनाउन विदाको समयलाई सदुपयोग गर्न सकिन्छ ।
५. स्वास्थ्य र मनोरञ्जन
शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यका हकमा समेत चाडवाड विदालाई सदुपयोग गर्न सकिन्छ । विदाको समयमा बिहान चाँडै उठेर हिँड्ने, योग, ध्यान, साधना गर्ने बानी विकास गर्न सकिन्छ ।
६. सिर्जनशील कार्य
कार्यालयीय तनाव, व्यवसायिक व्यस्तता, जागिरे दौडधुप आदि दैनिकीका कारण सिर्जनशील कार्यका लागि समय अभाव भइरहेको हुन्छ । दशैं, तिहार जस्ता लामो विदाहरुमा यस्ता कार्यलाई पूर्णता दिन सकिन्छ । चित्रकला, संगीत, लेखन वा घरको बगैँचा गोडमेल जस्ता कार्यमा आफ्नो रुचीअनुसार विदा सदुपयोग गर्न सकिन्छ ।
७. डिजिटल डिटक्स
कार्यालय, व्यवसाय, जागिर आदिबाट आराम मिल्ने हुँदा सामाजिक सञ्जालमा अल्झिनै पर्ने वा बाध्यकारी रूपमा जोडिनै पर्ने आवश्यकता नपर्ने भएकाले कम्तीमा १÷२ दिन सामाजिक सञ्जालबाट टाढा रहेर मस्तिष्कलाई अनावश्यक लोड दिनुबाट रोक्न सकिन्छ । त्यसो गर्न सक्दा मानसिक रूपमा पुनर्ताजकी पनि मिल्छ ।
८. यात्रा र अन्वेषण
नेपालभित्र अनेक सुन्दर गन्तव्यहरु छन् । प्राकृतिक, धार्मिक, सांस्कृतिकलगायत विशेष महत्व बोकेका र आन्तरिक पर्यटन प्रवद्र्धनका दृष्टिले समेत महत्वपूर्ण यस्ता स्थलहरुको भ्रमण गरेर पनि चाडपर्वको विदा सदुपयोग गर्न सकिन्छ । ऐतिहासिक स्थलहरु, धार्मिक र सुन्दर प्राकृतिक स्थानहरु, आफ्नै गाउँघर वरपरका गढी, मठमन्दिर, पाटीपौवा, तालतलैया, झराना, वन क्षेत्र आदि भ्रमण गर्ने र तिनका विविध पक्षबारे अध्ययन अन्वेषण गर्ने कार्यले पनि विदालाई सदुपयोग गर्न सकिन्छ ।
९. हाइकिङ
समय, व्यस्तता आदि कारणले धेरै टाढा जान सम्भव नभए नजिकैका डाँडाकाँडा वा प्राकृतिक क्षेत्रमा केही घण्टाको गन्तव्यमा १ दिने हाइकिङ जान सकिन्छ । यसले शारीरिक तन्दुरुस्तीलाई पनि सहयोग गर्छ ।
१०. घर व्यवस्थापन
लामो विदाको सदुपयोग घरकै सरसफाइ र सजावटमा पनि उपयोग गर्न सकिन्छ । चाडबाडको समयमा आफ्नो कोठा वा पूरै घरको गहन सरसफाइ गरेर विदा सदुपयोग गर्दा घरको आयु बढाउने काममा टेवा पुग्छ । घरका नचाहिने पुराना सामानहरू हटाउने, साजसजावटका कुरामा नवीनता ल्याउने किसिमले डिजाइन गर्ने जस्ता कार्यले समय व्यतित गर्न र घरालई आकर्षक लुक्स दिनमा मद्दत पुग्छ ।
११. पकाउने कला
दशैं, तिहार जस्ता चाड खानपिन र रमाइलोको प्रतीक नै हो । त्यसैले भोजको लागि पुरानै किसिमका परिकार भन्दा नयाँ र स्वस्थकर परिकारका रेसिपीहरू इन्टरनेटमा हेरेर पकाउन सिक्ने र परिवारलाई खुवाउने गरेर पनि स्वादमा नयाँपन र पाककलामा नयाँ ज्ञान आर्जन गर्न सकिन्छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।