नेब्रास्का ।

भुटानी–अमेरिकी समुदायमा शिक्षा, उद्यमशीलता, मानवीय सेवा, सामाजिक नेतृत्व, साहित्य तथा सांस्कृतिक जागरणका क्षेत्रमा योगदान पु‍र्याउँदै आएका भेनरेबल डा. कुमार गुरुङ र डा. नारद पोख्रेललाई ‘लाइफटाइम लेगसी एन्ड लिडरसिप अवार्ड २०२६’ बाट सम्मानित गरिएको छ ।

नेब्रास्काको ओमाहामा आयोजित भुटानी संयुक्त वार्षिक सम्मेलन २०२६ का अवसरमा सम्मानित द्वयलाई ‘सर्टिफिकेट अफ अनर’समेत प्रदान गरिएको थियो ।

ग्लोबल भुटानीज अर्गनाइजेसन (जीबीओ), ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (जीबीएलओ), भुटानीज अमेरिकन म्युजिक एसोसिएसन (बामा), ग्लोबल फाउन्डेसन (जीएफ) र भुटानीज समाज नेब्रास्का (बीएसएन)ले संयुक्त रूपमा उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित भेनरेबल डा. कुमार गुरुङलाई उद्यमी, लगानीकर्ता, आध्यात्मिक अभ्यासकर्ता तथा सामुदायिक हितका निम्ति पुर्याएको योगदानको कदर गरिएको आयोजकले बताएका छन् ।

साथै डा. नारद पोख्रेललाई मानवीय सेवा, रणनीतिक सञ्चालन तथा उद्यमशील नवप्रवर्तनका क्षेत्रमा दिएको विशिष्ट नेतृत्वका लागि सम्मान गरिएको हो ।

सम्मानित पोख्रेलले भुटानी समुदायको भावी दिशा, नयाँ पुस्ताको सांस्कृतिक पहिचान तथा सामूहिक आर्थिक आधार निर्माणमा दीर्घकालीन सोच आवश्यक रहेको धारणा राखेका थिए ।

सम्मेलनमा आयोजक तथा सहभागी संस्थाले आ–आफ्ना गतिविधि र भावी प्राथमिकताबारे कार्यपत्र तथा संस्थागत प्रस्तुति गरेका थिए ।

यसैबीच ग्लोबल भुटानीज अर्गनाइजेसनले विश्वभर पुनर्वास भएका भुटानी समुदायलाई जोड्ने र नेपालमा रहेका शरणार्थी समुदायको शिक्षा, स्वास्थ्य, पोषण तथा मानवीय आवश्यकतामा सहयोग गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

त्यस्तै, ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसनले नेपाली भाषा, साहित्य र सांस्कृतिक पहिचान संरक्षणका कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ ।

कार्यक्रमका बीच साहित्य, गीत–संगीत, नृत्य, सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको कार्यक्रमका संयोजक भीम गुरूङले जानकारी दिए ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्