विराटनगर ।

कतै घर सजाउने सामग्री, कतै महिलाले प्रयोग गर्ने सामग्री । कसैको हातमा बालबालिकाका कपडा छन्, त कसैले आफ्नै सीप र मेहनतबाट तयार पारेका उत्पादन ग्राहकसामु सजिएका थिए ।

१९ भदौमा विराटनगरमा आयोजित महिला उद्यमी बजारमा देखिएका यी दृश्य एउटा सामानको प्रदर्शनी मात्रै थिएनन् । हरेक उत्पादनभित्र एउटी महिलाको सीप, श्रम, समय र आत्मनिर्भर बन्ने चाहना जोडिएको थियो । मोरङ र आसपासका महिला उद्यमीले घरमै वा साना उद्योगमार्फत तयार गरेका सामग्री लिएर मेलाको स्टलमा राख्न  आएका थिए । उनीहरूका उत्पादन फरक थिए, कथा फरक थिए, तर चुनौती एउटै थियो, उत्पादन गर्ने हातलाई बजारसँग कसरी जोड्ने ?

स्थानीय महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा महिला उद्यमी बजार (वुमन इन्टरप्रिन्योर मार्केट) आयोजना गरिएको थियो । नेपाल महिला उद्यमी संघ (वीन) मोरङ च्याप्टरको आयोजना तथा उदय परियोजनाको सहयोगमा विराटनगरस्थित होटल रुबिजमा १ दिने प्रदर्शनी तथा बिक्री मेला आयोजना भएको थियो ।

मेलामा महिला उद्यमीले उत्पादन गरेका कपडा, झोला, घर सजावटका सामग्री, बालबालिकाका कपडा लगायत विभिन्न सामग्री बिक्री तथा प्रदर्शनका लागि राखिएका थिए । तर, यी उत्पादनका पछाडि बजारमा सामान बेच्नेभन्दा ठूलो कथा थियो घरको सीपलाई आम्दानीमा बदल्ने महिलाको यात्रा । विराटनगर–१६ की प्रमिला आलेका लागि उद्यमको यात्रा ४ वर्षको हो । महिलालाई आवश्यक पर्ने सामग्रीदेखि घर सजावटका सामग्रीसम्म उनी आफैँले तयार गरेकी हुन् ।

आफूले जानेको सीपमा मात्र सीमित नभई अरू महिलालाई समेत सिकाउँदै उनीहरूको श्रमलाई उत्पादनसँग जोड्ने र बजारसम्म पुर्याउने काममा पनि सक्रिय छिन् । उनका लागि उद्यमको सुरुवात कुनै ठूलो लगानी वा व्यवस्थित उद्योगबाट भएको थिएन । कोभिड–१९ को समयमा घरमै बस्नुपर्ने बाध्यताबीच उनले आफूसँग भएको सीपलाई निरन्तरता दिइन् ।

काम गर्दै जाँदा नयाँ कुरा सिक्ने चाहना बढ्यो । त्यसपछि विभिन्न तालिम लिइन् । विस्तारै घरायसी सीप व्यवसायमा बदलियो । ‘कोभिडदेखि नै घरमा बसेर आफूसँग भएको सीपलाई बुन्दै गएँ । पछि विभिन्न तालिम लिएँ र यसलाई व्यवसायिक रूपमा नै अगाडि बढाएँ,’ उनी भन्छिन् ।

आज प्रमिलाका उत्पादन घरको कोठामा मात्र सीमित छैनन् । स्वदेशमा मात्र होइन, विदेशसम्म पनि उनका उत्पादन पुग्ने गरेका छन् । तर, व्यवसाय विस्तार हुँदै जाँदा चुनौती भने हटेको छैन । ‘बजार पाउन चुनौती छ,’ उनी भन्छिन्, ‘हातबाट बुनिएको समाग्री महँगो पर्छ, मिहिनत लाग्छ । तर पनि अनलाइनबाट बिक्री हुन्छ । चिनजानका मानिस र आफन्तहरूले पनि किनिदिनुहुन्छ ।’ त्यसो त प्रमिलाका लागि उद्यम व्यक्तिगत आम्दानीको माध्यम मात्र होइन । आफूले जानेको सीप अरू महिलालाई सिकाएर उनीहरूको श्रमलाई समेत बजारसँग जोड्ने प्रयास गरिरहेकी छन् । उनी भन्छिन्, ‘एउटी महिलाले सीप सिक्छिन् । अर्कीले त्यसबाट उत्पादन गर्छिन् । उत्पादन बजारमा पुग्छ । त्यसबाट आम्दानी हुन्छ ।’

महिला उद्यमी बजारमा आ-आफ्नो उत्पादनका साथ क्रमशः सुजिता चौधरी र प्रमिला आले ।

उही मेलामा भेटिएकी सुजिता चौधरीको कथा भने अलिक फरक थियो । उनको व्यवसायको आधार कुनै नयाँ तालिमबाट सिकेको सीप होइन । यो त पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीप भएको उनी सुनाउँछिन् । चौधरी समुदायमा बुन्ने काम पुरानै हो । पुस्तौँदेखि चलिआएको यही सीपलाई सुजिताले अहिले व्यवसायसँग जोड्ने प्रयास गरिरहेकी हुन् । ‘हामी चौधरीहरू पहिलेदेखि नै बुन्छौँ । त्यही सीपलाई अहिले व्यवसायमा जोडेको हुँ,’ उनी भन्छिन् । उनको हातबाट धागोका झोला, बालबालिकाले लगाउने कपडा, घर सजावटका सामग्रीलगायत विभिन्न वस्तु तयार हुन्छन् । पहिले परिवार र समुदायभित्र सीमित रहेको सीप अहिले आम्दानीको माध्यम बन्दै गएको उनको भनाइ छ । बजारसम्म पुग्न सुजिताले सामाजिक सञ्जालको पनि प्रयोग गरिरहेकी छन् । ‘अनलाइनबाट बिक्री गर्छु, सामाजिक सञ्जालको सही सदुपयोगले व्यवसायसँग जोडिन मद्दत पुगेको छ,’ उनी भन्छिन् ।

प्रविधिले उनको परम्परागत सीपलाई नयाँ ग्राहकसम्म पुर्याएको छ । फेसबुक, इन्स्टाग्रामजस्ता माध्यममा उत्पादनको फोटो र विवरण राखेपछि घरमै बसेर ग्राहकसँग जोडिन सकिने उनको भनाइ छ । प्रमिला र सुजिताको कथा फरक भए पनि उनीहरूको साझा समस्या बजार हो । उनीहरू उत्पादन गर्न सक्छन् । नयाँ डिजाइन सिक्न सक्छन् । आफ्नो उत्पादनको गुणस्तर सुधार्न सक्छन् । तर, उत्पादन तयार भएपछि नियमित रूपमा कहाँ र कसरी बेच्ने भन्ने प्रश्न अझै उनीहरूको अगाडि छ ।

ठूला पसल, स्थापित ब्रान्ड र आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्न उनीहरूलाई सहज छैन । उत्पादन लागत, कच्चा पदार्थ, प्याकेजिङ, प्रचारप्रसार र ग्राहकसम्म पहुँच विस्तारजस्ता विषयले पनि व्यवसायको लागत बढाउँछन् । त्यसैले प्रदर्शनी तथा बिक्री मेलाजस्ता कार्यक्रम महिला उद्यमीका लागि अवसर बन्ने गरेको उनीहरूको भनाइ छ । ‘आफ्ना उत्पादन प्रत्यक्ष ग्राहकलाई देखाउन पाइन्छ, अनि ग्राहकको प्रतिक्रिया पनि तत्काल लिन सकिन्छ,’ प्रमिलाले भनिन् ।

नेपाल महिला उद्यमी संघ (वीन) मोरङकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले महिलाहरूले दुःख गरेर बनाएका समाग्रीको बजारसम्म ल्याउन यस्ता मेला र प्रदर्शनी आयोजना गर्दा सहज हुने बताइन् । ‘यो मेला आफैँ बाण्ड स्थापित गर्नका निम्ति पनि हो,’ उनले भनिन्, ‘महिलाले उत्पादन गरेका सामग्री उपभोक्तासम्म पु¥याउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ ।’

उनका अनुसार विराटनगरमा महिला उद्यमीका उत्पादनका लागि साप्ताहिक बजार सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्