मधुमल्ला ।

नेपाली कांग्रेसको आगामी अधिवेशन नजिकिँदै गर्दा मोरङको मिक्लाजुङ गाउँपालिकामा पालिका सभापतिको नेतृत्वलाई लिएर कांग्रेसभित्र चासो र चर्चा बढ्न थालेको छ । हालसम्म वर्तमान उपसभापति खगेन्द्र मादेन, वर्तमान सचिव दिपक श्रेष्ठ, मिक्लाजुङ–४ का वडा सभापति एवं वडाध्यक्ष विशाल राई, वर्तमान उपसभापति भवानी राई र वर्तमान सहसचिव देउमान तामाङको नाम सम्भावित दाबेदारका रूपमा चर्चामा आएको छ ।

खगेन्द्र मादेन कांग्रेस संगठनमा लामो समयदेखि सक्रिय नेताका रूपमा परिचित छन् । उनी तत्कालीन टाँडी गाविस कांग्रेसका सभापतिको जिम्मेवारीमा समेत रहिसकेका छन् भने मिक्लाजुङ–३ का निर्वाचित वडाध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल कांग्रेसको गाउँपालिका उपसभापति रहेका उनी सकेसम्म सहमतिबाट र सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् ।

दिपक श्रेष्ठ पनि लामो समयदेखि कांग्रेस संगठनमा सक्रिय रहँदै आएका व्यक्ति हुन् । तरुण दलबाट राजनीतिक यात्रा थालेका श्रेष्ठले सामाजिक क्षेत्रमा समेत भूमिका निर्वाह गर्दै आएका छन् । हाल उनी कांग्रेसको गाउँपालिका सचिवको जिम्मेवारीमा छन् । श्रेष्ठले सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने धारणा राखेका छन् ।
त्यस्तै, मिक्लाजुङ–४ का वडा सभापति एवं वडाध्यक्ष विशाल राईले पनि गाउँपालिका सभापतिका लागि आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन् । राईले पार्टी संगठनसँगै भातृ तथा शुभेच्छुक संगठनलाई थप चलायमान र सक्रिय बनाउँदै कांग्रेसलाई गाउँपालिकाभर थप मजबुत बनाउने उद्देश्यका साथ नेतृत्वमा दाबी रहेको बताएका हुन् ।

यसैगरी, वर्तमान उपसभापति भवानी राईले पनि गाउँपालिका सभापतिका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । राई तत्कालीन रमिते गाविस कांग्रेसका सभापति हुँदै हाल पार्टीको मिक्लाजुङ गाउँपालिका उपसभापतिको जिम्मेवारीमा छन् । लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएको र पार्टीको वर्तमान जिम्मेवारीसमेत निर्वाह गरिरहेको भन्दै उनले सभापतिका लागि आफ्नो दाबी स्वाभाविक रहेको भनेका छन् ।

यसैबीच, वर्तमान सहसचिव देउमान तामाङले कांग्रेसको पालिका सभापतिका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । उनले पनि तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका हुन् भने तामाङ अहिले कांग्रेस मिक्लाजुङको सहसचिव हुन् ।

तामाङले आफू सभापतिका लागि दाबेदार रहेको स्पष्ट पार्दै अबको नेतृत्व कसले लिने ? भन् बारे साथीभाइ र कार्यकर्ताको धारणालाई पनि सम्मान गर्नुपर्ने बताउँछन् । पार्टीभित्र सबैलाई समेटेर सहमतिका साथ अगाडि बढ्ने वातावरण बने आफूले पूर्ण रूपमा सहयोग गर्ने, तर सहमति हुन नसकी निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था आए नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहने उनको भनाइ छ ।

यसैबीच, वर्तमान कांग्रेसको वर्तमान गाउँपालिका सभापति बबी कुमार राईले आगामी नेतृत्वका विषयमा आफूले सकेसम्म पद हस्तान्तरण गर्न चाहिरहेको बताएका छन् । यद्यपि पार्टी कार्यकर्ताको भावना र चाहनालाई सम्मान गर्दै अगाडि बढ्ने उनको भनाई छ । राईले कार्यकर्ताको भावना र चाहनाअनुसार नेतृत्व चयन हुनुपर्ने भनेका छन् ।
यसरी हेर्दा मिक्लाजुङ कांग्रेसको आगामी सभापतिका लागि अहिलेसम्म ५ जना नेताको नाम चर्चामा छ । सबैका आ–आफ्नै राजनीतिक, सांगठनिक तथा जनप्रतिनिधिका रूपमा फरक अनुभव छन् ।

सम्भावित दाबेदारहरूले आ–आफ्नो धारणा सार्वजनिक गरिरहँदा पार्टीभित्र सहमति र संवादको प्रयास पनि महत्वपूर्ण हुने देखिन्छ । सहमति बन्न नसकेको अवस्थामा लोकतान्त्रिक विधिबाट निर्वाचनको विकल्प देखिँदैन ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्