जनकपुरधाम ।
मधेश प्रदेश निर्माण भए पनि अब मधेश राज्य निर्माणका लागि संघर्ष गर्नुपर्ने अग्रगामी मोर्चाको घटक दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जिकिर गरेका छन् ।
शनिबार ९ दलीय अग्रगामी मोर्चाले मधेश प्रदेशको जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय बृहत् भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपाल अध्यक्ष यादवले आफ्नै शासन–प्रशासन, कानुन र भाषाको अधिकार सुनिश्चित नभएसम्म मधेशी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसक्ने दावी गरे ।
वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै यादवले यो सरकारबाट जनताले धेरै आशा गर्न नहुने भन्दै विगतदेखि नै राज्यसत्ताले मधेशी जनताको भाषा, संस्कृति, रहनसहन र पहिचानमाथि विभेद र शोषण गर्दै आएको अरोप लगाएका थिए ।
‘वर्तमान सरकारले पनि मधेशी जनतालाई मतदाता र करदाताका रूपमा मात्रै हेरेको छ’, यादवले भने, ‘अहिले सीमाक्षेत्रमा विभिन्न किसिमका कर लगाएर जनतालाई थप बोझ दिने काम भएको छ ।’
चुनावका बेला सङ्घीयता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेर वर्तमान प्रधानमन्त्रीले मधेशी जनताको मत लिएको आरोप लगाउँदै उनले संविधान संशोधनको विषयमा वर्तमान सरकार पछि हटेकोसमेत आरोप लगाए ।
विद्यमान निर्वाचन प्रणालीलाई भ्रष्टाचारको प्रमुख कारण भन्दै यादवले यसलाई परिवर्तन गरी समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । उनले मधेशका किसानलाई मिटरब्याजको चक्रबाट मुक्त गर्न गाउँ–गाउँमा ग्रामीण बैंकमार्फत सहज र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।
छठ पर्वपछि पनि मधेशी जनताले न्याय र अधिकार प्राप्त गर्न नसके अग्रगामी मोर्चाले थप सशक्त आन्दोलन तथा संघर्ष अघि बढाउने उनको चेतावनी थियो ।
त्यसै, भेलालाई सम्बोधन गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले नेपाली जनताको बलिदानको जगमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्न अग्रगामी मोर्चा निर्माण भएको जिकिर गरे । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मधेशी जनता नै देशका लागि वास्तविक पहरेदार भएको टिप्पणी गर्दै अधिकार माग्ने मधेशीलाई विदेशी देख्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए ।
जनमत पार्टीकाअध्यक्ष डा. सीके राउतले अधिकार प्राप्ति र प्राप्त उपलब्धिको संरक्षणका लागि अग्रगामी मोर्चा निर्माण भएको बताए । मोर्चालाई दीर्घकालीन रूपमा टिकाउन यसमा आबद्ध नेताहरू इमानदारीपूर्वक अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाली जनतालाई विदेश जानबाट रोक्ने र विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको दुईतिहाई बहुमत नजिकको बालेन सरकारको अगामनपछि झन् बढी नेपाली विदेशिनु पर्ने अवस्था सिर्जना भएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न गरेका थिए ।
त्यस्तै, आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले पटक–पटक आन्दोलन र संघर्ष भए पनि नेपाली जनताले अपेक्षित प्रतिफल प्राप्त गर्न नसक्नुको प्रमुख कारण राज्य सञ्चालन गर्ने नेतृत्वको बेइमानी रहेको आरोप लगाएका थिए । राज्यले विभिन्न समयमा सम्झौता गर्ने तर कार्यान्वयनको चरणमा बेइमानी गर्ने प्रवृत्तिका कारण जनता पीडित हुँदै आएको उनको भनाइ थियो ।
अध्यक्ष साहले अग्रगामी मोर्चाको भेला तथा अभिमुखीकरण कार्यक्रमले देशलाई अन्तहीन संकटतर्फ धकल्ने ‘फेक शासन’ र ‘दलालतन्त्र’को भण्डाफोर गर्दै प्रणाली सुधारको दिशामा अघि बढ्ने संकल्प गरेको स्पष्ट पारे ।
कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले समावेशी लोकतन्त्र, सङ्घीयता, सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिका पक्षमा अग्रगामी शक्तिहरूबीच एकता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकरले वर्तमान सरकार मधेशका मूल निवासीमाथि दमन गर्दै पश्चगामी दिशातर्फ अघि बढिरहेको आरोप लगाएका थिए । अम्बेडकरले अग्रगामी मोर्चाको मुख्य उद्देश्य सङ्घीयता, समानुपातिक प्रतिनिधित्व र सुशासनलाई संस्थागत गर्दै परिवर्तनका उपलब्धिको रक्षा गर्नु रहेको बताएका थिए ।
कार्यक्रममा अग्रगामी मोर्चासँग आबद्ध दलका शीर्ष नेतासहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीबाट नेता, कार्यकर्ता र समर्थक सहभागी थिए ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।